क्वारेन्टाइन नभई कसरी आयो भारतबाट माछा?

नेपालगञ्ज– भारतबाट माछा ल्याएर जमुनाहामा बिक्री गर्ने गरिन्थ्यो। केही महिनाअघि क्वारेन्टाइन र प्रहरी मिलेर नाकामा रहेको जमुनाहामा कारोबार हुँदै आएको माछामा प्रतिबन्ध लगाए। क्वारेन्टाइनले सडेगलेका माछा बेचेको भेटाएपछि जमुनाहामा माछा बेच्न रोक लगाएको थियो।

यहीबीचमा नेपाल सरकारले भारतबाट माछा ल्याउँदा स्वास्थ्य सर्टिफिकेट लिएर आउनु पर्ने नियम बनाएपछि त भारतबाट माछा आउन नै रोकिएको छ। क्वारेन्टाइनका प्रमुख शितलबाबु श्रेष्ठले पछिल्लो केही महिनादेखि भारतबाट माछा आउन छोडेको जानकारी दिए। सरकारले फाल्गुन २६ गतेदेखि खसी, माछालगायतमा भारतीय क्वारेन्टाइनबाट स्वास्थ्यको प्रमाणपत्र लिएर आएपछि मात्रै क्वारेन्टाइन गरेर नेपाल प्रवेश गर्न दिन निर्देशन गरेको छ।

तर त्यही जमुनाहामा केही दिनदेखि माछाको कारोबार भइरहेको छ। भारतीय माछा ल्याएर खुलेयाम कारोबार भइरहँदा सम्बन्धित निकाय मौन बसेको छ। क्वारेन्टाइनका प्रमुख श्रेष्ठ भन्छन्, ‘हामीकहाँ क्वारेन्टाइन गरेर माछा त भित्रिएको छैन। जमुनाहा फेरि कारोबार भएको छ भने त्यो कहाँको माछा हो हेरेर अगाडि बढ्छौँ।’

जमुनाहाको माछा बजार क्वारेन्टाइन कार्यालय भन्दा अगाडि पर्छ। व्यापारीलाई क्वारेन्टाइनसम्म आउनै पर्दैन। जमुनाहा बजारमा नेपालतर्फबाट माछा जाने संभावना कम नै हुन्छ। त्यसमा पनि व्यापारीले भारतबाट मोटरसाइकलमा राखेर माछा ल्याइरहेको नाकामा जाने जो कोहीले देख्न सक्छन्।

भारतबाट स्वास्थ्य जाँच नगरी ल्याएको माछा नेपालमा खुलेयाम बिक्री भइरहँदा त्यसलाई नियमन गर्ने निकाय किन मौन छ? प्रश्न उब्जिएको छ। माछा पनि खसी जसरी छोटी नाकाहरुबाट नेपाल भित्रिने गरेको सम्वद्धहरु बताउँछन्।

सरकारले भारतबाट भित्रिने कृषिजन्य पदार्थको विषादी जाँच गर्ने निर्णय फिर्ता लिइसकेको छ।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्