यो काइदाले विषादि परीक्षण गरे सरकारले जितिहाल्छ

भारतले हाम्रो अदुवा सुठो बनाएरसमेत लान दिएन, सुपारीमा लफडा गर्‍यो।  वनस्पति घिउ त सुकाइ नै दियो। रगमार्कलाई प्रयोग गरेर र बाल मजदूर उतैबाट पठाएर गार्मेन्ट खाइदियो। इलामको चिया लेबलिङ नगरी कलकत्ता पुर्‍याएर प्याकेजिङ गर्छ र दार्जिलिङको भनेर विदेश पठाउँछ। दार्जिलिङको बुढा रुखको चिया नेपाली भनेर बेच्छ। त्यसैले अरू कुरामा सहयोगी होला, नेपालको कृषि र उद्योगमा सबैभन्दा ठूलो तगारो भारत नै हो।

विषादि नहालेको ग्यारेण्टी नगरी फलफूल र तरकारी लिन्न भनेर सरकार अडिए हामी १५ दिन गुन्द्रुकले छाक टार्न तयार थियौँ तर अफसोच, सबै चिज फिर्ता गर्ने बानी परेको सरकारले हाम्रो स्वाभिमान समेत फिर्ता गर्ने भयो।

यस विषयमा साँच्चै कामै गर्ने हो भने उपाय अनेक छन्। तत्काललाई क्वारेन्टाइन विरगञ्जमा राख्नु पर्दैन, कालीमाटी तरकारी बजारमा ऱ्यान्डम्ली विषादि परीक्षण गर्ने र भारतीय हुन् कि नेपाली नछुट्याइकनै विषादियुक्त जतिलाई स-सम्मान सुन्दरीघाटको मलपोखरीमा डम्प गर्ने।

यसो गर्नेबित्तिकै तीन दिनपछि ठेकेदारले उताका तरकारी ल्याउन रोक्छन्। सरकारले केही गर्नै पर्दैन। विषादिमुक्त छन् भनेर प्रमाणित गर्नुपर्ने दायित्व उतै सर्छ। यति गर्दा पनि विषादि हेर्नै पाउँदैन भन्यो भने जागिर छोडेर ससम्मान हामीसँगै सडकमा आउने।

प्रचारबाजी मात्रै हो भने “राम राम” मात्रै भन्छु।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्