बाहिर-बाहिर सरकारको आलोचना गर्दै नहिँड्न प्रधानमन्त्री ओलीको सांसदहरुसँग आग्रह

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारका विरुद्ध भइरहेका आलोचनाको सामूहिक ढंगले प्रतिवाद गर्न सांसदहरुलाई निर्देशन दिएका छन्।

शनिबार बसेको संसदीय दलको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै ओलीले राम्रा काम गर्दा पनि प्रतिपक्षी दल र अन्य क्षेत्रबाट सरकारमाथि आक्रणम भएको भन्दै त्यसको बचाउमा लाग्न निर्देशन दिएका हुन्।

बैठकका क्रममा भीम रावलले नेपालले विषादी जाँच्छु भन्दा भारतले नगर भन्नु र सरकार पछि हट्नु गलत भएको बताएका छन्। ‘कुनै देशले नजाँच भन्दैमा चुप लाग्नुपर्ने किन?’ बैठकपछि नेता रावलले भने। त्यस्तै, वरिष्ठ नेता माधवकुमार नेपालले हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने गर्न नहुने प्रतिक्रिया दिएका छन्।

प्रधानमन्त्री ओलीले सरकार र पार्टीसँग सम्बन्धित असन्तुष्टि सार्वजनिक रुपमा नराख्न पनि सांसदहरुलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै एक सांसदले देश सञ्चारसँग भने, ‘सरकार र पार्टीसँग सम्बन्धित असन्तुष्टि पार्टीभित्र राख्नुहोस्, त्यसको समान्न गरिन्छ । तर सार्वजनिक रुपमा आलोचना गर्दै नहिँड्नुहोस्।’

यसअघि १६ गते भएको बैठकमा सांसदहरुले सरकारको कार्यशैली र पार्टी सञ्चालनबारे खरो आलोचना गरे पनि शनिबार भने केही मथ्थर भएको छ। ओलीले सरकारले राम्रो काम गर्दागर्दै पनि अनाआवश्यक रुपमा विवादमा पार्ने काम भएको भन्दै असन्तुष्टि जनाए।

सार्वजनिक रुपमा सरकारको विरोध नगर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले संसदीय समितिबाट निर्णय पार्टी र सांसदसँग छलफल गरेर मात्र निर्णय लिन निर्देशन दिएका छन्।

बैठकमा राष्ट्रिय सभा सदस्य कालिबहादुर मल्लले ‘फोहोर व्यवस्थापनको आयोजना’ गरेको भन्दै नेताहरूलाई व्‍यंग्य गरेका थिए।  ‘फोहोर व्यवस्थापन गर्नुपर्दथ्यो, गर्न खोज्नुभयो, तपाईँहरूलाई धन्यवाद’, मल्लले बैठकमा भने, ‘धुम्बाराहीमा पनि फोहोर व्यवस्थापन भएको देखिएन, बालुवाटार र सिंहदरबारमा पनि देखिएन।’

बैठकपछि प्रमुख सचेतक देव गुरुङले भने, ‘प्रधानमन्त्री ज्यूले सार्वजनिक रुपमा टिका टिप्पणाी नगर्न, आफ्ना असन्तुष्टिलाई पार्टीभित्रै राख्न र समितिले निर्णय गर्दा छलफल गर्न भन्नुभयो।’

नेकपाकै सभापति भए पनि संसदको राज्य व्यवस्था समिति र अन्तराष्ट्रिय सम्बन्ध समितिले दिएको निर्देशन विवादमा परेपछि प्रधानमन्त्री ओली असन्तुष्ट बनेका छन्। शनिबार हरिबोल गजुरेल, कृष्ण राई, सरिता न्यौपानेलगायत २२ जना सांसदले बोलेका थिए।

ओलीले पार्टी एकता र शान्ति प्रक्रियाको काम चाँडै सकिने ब्रिफिङ पनि सांसदहरुलाई गरेका छन्। ‘एकताको काम टुंग्याउन हामी लागिरहेका छौं । अब केही समयमै सकिन्छ । शान्ति प्रक्रियाको कामलाई पनि निचोडमा लाने गरी काम गरिरहेका छौं,’ ओलीले भने।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू