नेकपाको शक्ति प्रयोग गरेर पत्नीलाई बनाए प्रदेश सांसद

नसीमलाई सुनाइएको छ १ सय १७ वर्षको जेल सजाय

गोलो घेरामा नसीम, साथमा कृषि मन्त्री चक्रपाणि खनाल, तत्कालीन प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल (कालो टोपीमा)।

बुटवल– नसीम खाँ ८ जनाको हत्या र अरु धेरै अपराधिक घटनामा संलग्न भएको आरोपमा कुख्यात अपराधीको रुपमा प्रहरीको खोजी सूचीमा रहेका थिए।

राजनीतिक संरक्षणका कारण जोगिदै आएका खाँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं सिनामंगलबाट पक्राउ गरेको हो। सीआइबीका प्रहरी नायब उपरीक्षक हरि बस्नेतको नेतृत्वमा रहेको टोलीले कपिलवस्तु प्रहरीको सहयोगमा पक्राउ गरेको हो।

विज्ञापन

२०६४ चैत ९ गते कपिलवस्तुका शिवपुजन कुर्मीको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका कपिलवस्तु शुद्धोधन गाउँपालिका–५ हथिहवाका ४९ वर्षीय धर्मेन्द्र सिंह क्षेत्रीको बयान र सूचनाका आधारमा नसीम पक्राउ परेका हुन्।

कपिलवस्तुका प्रहरी उपरीक्षक दीप समशेर जबराका अनुसार उनलाई प्रहरीले एक महिनादेखि ट्रयाक गरिरहेको थियो। उनलाई असार २२ गते कपिलवस्तुको तौलिहवामा ल्याएर सार्वजनिक गर्ने तयारी रहेको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेयले बताए।

८ जनाको हत्या आरोपी नसीममाथि १ सय १७ वर्ष जेल सजाय

कपिलवस्तु प्रहरीका अनुसार नसीममाथि ८ जनाको हत्याको आरोप छ। उनले २०६३ जेठ १९ मा कपिलवस्तु फुलिका–३ बस्ने धर्मराज बरईका छोरालाई धारिलो हतियार प्रहार गरी हत्या गरे।

२०६४ फागुन ६ गते कपिलवस्तु साविक मोतीपुर गाविस–१ का माओवादी कार्यकर्ता भुवन भन्ने प्रेम परियारलाई गोली हानी हत्या गरे।

२०६४ चैत ९ गते कपिलवस्तु हथिहवा ३ का रामहर्षप्रसाद कुर्मीका छोरा शिवपुजन कुर्मीलाई बाटोमा हिँडिरहेको बेलामा गोली हानेर हत्या गरे। कुर्मी माओवादी कार्यकर्ता थिए।

२०६५ भदौ ३० गते कपिलवस्तु नगरपालिका–१० तौलिहवाका नसिबुल्लाह मुसलमान र स्थानीय पारसान कोहारकी श्रीमती अकला कोहारलाई गोली हानेर हत्या गरे।

२०६५ साल कात्तिक ९ मा कपिलवस्तु नगरपालिका ७ बस्ने साविक पिपरा गाविसका सचिव राममिलन प्रसाद गुप्तालाई गोली हानेर हत्या गरे।

२०६७ वैशाख १३ गते कपिलवस्तु साविक पकडी–६ का माओवादी कार्यकर्ता राजेन्द्रप्रसाद तिवारीको हत्या गरे। निरन्तर हत्याआतंक मच्चाइरहेका नसीमले स्थानीय चुनावको रिस फेर्न २०७४ फागुन ३ मा कपिलवस्तुकै मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फत्ते मोहम्मद मुसलमानका ५ वर्षका छोरा मोहम्मद आयमानको अपहरण गरे।

वडामा आफूले भनेअनुसारको काम गर्न वडाध्यक्षले रोक्ने आशंकामा धम्की दिन छोराको अपहरण गरेका उनले ५ वर्षे बालकको निर्मम हत्या गरे। बालकको शव अपहरणको तीन दिनपछि खानको घर पछाडि फेला परेको थियो।

यी सबैको प्रहरीमा जाहेरी दिएर अदालतमा पुगिसकेको थियो। धेरैजसो मुद्दा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुलतबीमा रहेका छन्।

यी घटनामा खाँ आफै संलग्न रहेको र सहयोग गरेको भन्दै कपिलवस्तु जिल्ला अदालतले २०६९ सालमा १ सय १७ वर्षको जेल सजाय सुनाएको थियो। डाँका मुद्दामा २०७२ फागुन ४ मा १ लाख ९१ हजार ८ सय ५२ रुपैयाँ जरिवाना र ६ महिना जेल सजाय तोकेको थियो।

चन्दा असुलीबाट शुरु भएको आतंक, भारतमा बसेर फैलाउँदै थिए

उनको घर मायादेवी गाउँपालिका–४ पिपरामा छ। अदालतले सजायको फैसला गरेपछि उनी पिपरासँग जोडिएको भारतको अलीगढवामा बस्दै आएका थिए। खाँको दक्षिणी भेगका क्षेत्रमा ‘दादागिरी’ चल्थ्यो।

उनले त्यहाँ चन्दा असुली र अपराधलाई अघि बढाइरहेका थिए। नसीमले २०५० सालपछि आफ्नो अपराधिक यात्रा सुरु गरेका थिए। २०५५ देखि २०६० सम्म उनी डाँका चोरी अपहरण मुद्दामा पक्राउ परेका थिए। सामान्य परिवारका नसिमले आफ्नो क्षेत्रमा दबदवा कायम गर्न चाहन्थे। द्वन्द्वकालमा उनी अपराधी क्रियाकलापमा संलग्न थिए।
माओवादी शान्ति प्रक्रियामा आएपछि तराईका भूमिगत समूहमा लागे। कौटिल्य समुहको संयुक्त तराई मधेसी मुक्ति मोर्चाको सैन्य कमान्डर बनेर काम गरे।

त्यतिबेला उनले माओवादी नेताहरुलाई मार्न लगाएका थिए। २०६४ देखि उनले कपिलवस्तुको दक्षिण क्षेत्रमा प्रभाव बढाए। तत्कालीन गाविस सचिव, कार्यालय प्रमुख, ठेकेदारहरुसँग नियमित रुपमा चन्दा असुली गरे। चलाख स्वभावका उनले आफु संलग्न मोर्चाका नेताहरुलाई समेत पक्राउ गराएका थिए। मोर्चाका तत्कालीन सैन्य कमान्डर श्रमण कुमार मुराउ गुड्डुलाई नसिमले नै सुराकी लगाएर पक्राउ गर्न लगाएका थिए। सो समयमा पक्राउ परेका गुड्डु अहिले जेलमा छन्।

शक्तिको आडमा श्रीमतीलाई नेकपाबाट प्रदेश सांसद, मन्त्री र नेतासँग एउटै मञ्चमा बस्थे

उनी २०६९ सालमा तत्कालीन एमालेको सदस्य थिए। पछि जनतान्त्रिक मुक्ति मोर्चाको संयोजक बनेर सरकारी वार्ता टोलीसँग वार्ता गर्ने नाममा नेपालका विभिन्न स्थानमा निर्वाध आउने जाने गर्थे। सोही क्रममा उनलाई आतंकको जालो फिँजाउन सजिलो भएको थियो। त्यसैको मौकामा उनले नेकपाका नेतासँग नजिकको सम्बन्ध बनाए र सुरक्षित बन्ने गतिलो उपाय रोजे।

उनको पार्टी सदस्यता

 

यही क्रममा उनले प्रदेश सभाको निर्वाचनमा आफ्नी श्रीमती फौजिया नसीमलाई तत्कालीन नेकपा एमाले (हाल नेपाल कम्युनिष्ट पार्टी) बाट समानुपातिक सांसद बनाए। फौजिया अहिले प्रदेश ५ प्रदेश सभामा सांसद छिन्।
प्रहरीका अनुसार नसीम र फौजिया दुवैका नेपाल र भारतका दुई नागरिकता छन्। प्रहरी श्रोत बताउँछ– उनले अहिले पनि नेकपामा स्थानीयदेखि केन्द्रीय तहका नेतासम्म ‘राम्रो’ सम्बन्ध बनाएका छन्।

पछिल्लो पटक गत पुस ३ गते मायादेवी गाउँपालिका–२ अभिरावमा कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनाल बलदेव र तत्कालीन प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेल (हाल रुपन्देहीमा) सहभागी रहेको मुस्लिमहरुको मुसायरा कार्यक्रममा सहभागी थिए।

यस्तै २०७३ मंसिर २६ गते तत्कालीन पिपरा गाउँपालिकालाई खुला दिशामुक्त घोषणा गर्ने कार्यक्रममा जिल्ला सुरक्षा निकायका प्रमुखहरुसँगै कार्यक्रममा उनी सहभाथी थिए। तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल (जो पछि लुम्बिनी विकास कोषमा सदस्य सचिव भएर विवादमा परे), प्रहरी उपरिक्षक भोजजंग शाह, सशस्त्र प्रहरी उपरीक्षक सुदेश गुरुङ, कपिलवस्तुकै सांसद अतहर कमाल, पूर्वमन्त्री दान बहादुर चौधरीसँगै मञ्चमा थिए। त्यसपछि पक्राउ पर्ने सुईको पाएपछि नसिम त्यहाँबाट भारत गएका थिए। एक घण्टा भन्दा बढी मञ्चमा बसेका उनलाई प्रहरीले पक्राउ गर्ने योजना बनाएको बताएपनि उनलाई पक्राउ गरेकाे थिएन।

पीडित खुशी, भन्छन्–’कानुनी कारबाही होस्’

मायादेवी गाउँपालिका–४ का वडाध्यक्ष फत्ते मोहम्मदले ढिलै भएपनि नसिमलाई पक्रेकोमा खुशी व्यक्त गरे। उनका ५ वर्षे छोरा ऐमाम मुसलमानको हत्याको आरोप नसिममाथि छ। ‘मेरो छोराको हत्या गर्‍यो, मेरो वडाका सबै पोखरी उसकै कब्जामा थिए, उसलाई चन्दा नदिई कसैले कुनै काम गर्न सक्दैनथ्यो, उनी भन्छन्,  ‘अब सुरक्षाको महसुस हुनेछ भन्ने आशा छ।’ उनले नसिम पक्राउ परेपछि स्थानीयमा खुशीको दियो बलेको बताए।

नसीम खाँ

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू