लामो समयदेखि अवरुद्ध सुदूरपश्चिम प्रदेश सभा बैठक आइतबारदेखि सञ्चालन हुने

धनगढी– असार ५ गतेदेखि अवरुद्ध सुदूरपश्चिम प्रदेश सभा बैठक आईतबारबाट सञ्चालन हुने भएको छ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटप्रति असहमति जनाउँदै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र प्रतिपक्ष राजपाको अवरोधका कारण लगातार प्रदेश सभा बैठक अवरुद्ध हुँदै आएको थियो।

शनिवार प्रदेश सरकार र प्रतिपक्षको वार्तामा सहमति भएपछि भोली अर्थात आइतबारदेखि प्रदेश सभा बैठक सुचारु हुने नेपाली कांग्रेसका प्रदेश सभा सदस्य कर्ण मल्ले जानकारी दिए। सरकार र प्रतिपक्षबीचको लगातारको वार्तामा सहभागी प्रदेश सभा सदस्य कर्ण मल्लले भने, ‘सरकार र हामीबीच भद्र सहमती भएको छ, आइतबार प्रदेश सभा बैठक सञ्चालन हुन्छ।’ प्रदेश सरकार र प्रतिपक्षबीच लिखित सहमती भएको भएपनि त्यस बारे भने कोही बोल्न चाहेनन्।

मल्लले भने,‘प्रतिपक्ष र सदनमा उठेका कुरा कार्यान्वयन गर्ने गरी सहमती भएको छ, के–के भयो भनेर विस्तारै थाहा पाउनुहुन्छ, अहिले भद्र सहमति भनेर बुझ्नुहोस्।’

प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले वार्ता सकारात्मक निष्कर्षमा पुगेको र आइतबार बिहान सदन सुचारु हुने बताए।

शनिवार दिउँसो ४ बजेका लागि बोलाईएको बैठक दुई चोटी सारेर बेलुका ६ बजे स्थगित गरिएको छ। त्यसबीचमा लगातार सरकार र प्रतिपक्षबीच वार्ता भएको थियो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी राष्ट्रिय जनता पार्टीका सांसदहरुले असार ५ गते देखि नै प्रदेश सभाको बैठकमा अवरोध गर्दै आइरहेका छन्। प्रतिपक्षी सासदहरुले असार ५ गते सदन अवरुद्ध गर्दै रातो किताब जलाएपछि असार ८ गते र ११ गतेको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो। त्ससपछि असार १२ गते भएको बैठकमा उनीहरुले नारावाजी गरेर अवरोध पुर्‍याएका थिए। आइतबारको बैठकमा उनीहरु उपस्थित नै भएनन्।

प्रतिपक्षसँगै सत्तापक्षका प्रदेश सभा सदस्यहरुले पनि बजेटको विरोध गर्दै २५ जनाले मुख्यमन्त्रीलाई हस्ताक्षर समेत बुझाएका थिए। उनीहरुका माग पनि प्रदेश सरकारले आन्तरिक रुपमा सम्बोधन गरिसकेको छ।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्