वडाध्यक्षले गरे आफ्नो पारिश्रमिकबाट विद्यार्थीलाई ट्र्याकसुट वितरण

सिमकोट– सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष कर्णजंग शाहीले आफ्नो पारिश्रमिकबाट वडा भित्रका विद्यालयका विद्यार्थीहरुलाई ट्र्याकसुट वितरण गरेका छन्।

थोरै भएपनि विद्यार्थीहरुलाई पठनपाठनमा सहयोग पुर्‍याउनका लागि उनले गत वर्षबाट यो अभियान संचालन गर्दै आएका छन्।

वडा नम्बर पाँच र पालिकाका प्रवक्ता समेत रहेका शाहीले वर्ष भरि आउने आफ्नो तलबको २५ प्रतिशत रकमबाट विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री प्रदान गर्दै आएका छन्। यस वर्ष वडामा पर्ने भवानी आधारभुत, धुम्चुमी प्रावि, जनप्रेमी प्रावि, त्रिभुवन प्रावि गरी २ सय २० जना विद्यार्थी रहेकोमा शनिबार भवानी आधारभूतका ९५ जना विद्यार्थीलाई ट्र्याकसुट वितरण गरिएको हो।

गाउँपालिका अध्यक्ष कृष्ण रोकायाबाट ती ट्र्याकसुट वितरण गरिएको अध्यक्ष शाहीले बताए। अब बाँकी तीन वटा विद्यालयका विद्यार्थीहरुलाई पनि उपलब्ध गराइने उनले बताए।

अब यो क्रम शाहीले बाँकी अवधिमा पनि संचालन गर्ने जनाएका छन्। उनले गतवर्ष पालिकाका ६० जना न्यून आयश्रोत भएका जनतालाई आफ्नो पारिश्रमिकबाट कपडा वितरण गरेका थिए।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्