बाढीले निर्माणाधीन फुस्रेखोला पुल क्षतिग्रस्त

तस्बिर सौजन्यः पूर्णदीप सिग्देल

पोखरा– पोखरा महानगरपालिकाको वडा १७ र २१ जोड्ने बार्के (नयाँपुल)मा निर्माणाधीन फुस्रेखोला पुलमा शुक्रबार आएको बाढीले क्षति पुर्‍याएको छ।

झोलुङे पुल क्षेत्रगत कार्यक्रम (स्वाप) कार्यान्वयनका लागि पोखरा महानगरपालिकाले गत चैत अन्तिममा पुल बनाउने प्रक्रिया सुरु गरेको थियो।

असारमसान्तमै सक्ने लक्ष्यकासाथ काम धमाधम भएपनि बाढीले पुलका साम्रगी बगाएपछि केही विलम्ब हुने देखिएको पोखरा २१ का अध्यक्ष खगराज आचार्यले बताए।

नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा महानगरले जनश्रमदान सहितको २५ लाख १७ हजार रुपैयाँ खर्चेर पुल बनाउने काम अघि बढाएको हो।

‘असारभित्रै पुलबाट आवातजावत गर्न मिल्ने थियो,’ वडाध्यक्ष आचार्यले भने, ‘खोलाबाट सटिङ उठाएर स्टिल सामग्री फिटिङको काम हुँदै गर्दा बाढीले क्षति पुर्‍यायो।’ वडाध्यक्ष आचार्यले शनिबार बिहानै अनुगमन गरी क्षतिबारे जानकारी लिएको बताए।

उनले भने, ‘पुलका सामग्री बगाएर क्षति पुर्‍याएको भए पनि पुनः प्रयोगमा ल्याउन सकिने देखिएको छ। काम सक्न केही दिन ढिलो भने हुन्छ। फेरि विपत्ति नआए समयमै पुलको काम भ्याइने आँकलन गरेका छौँ।’

निर्माणाधीन पुल भएको ठाउँ अन्तभन्दा केही साँघुरो भएकाले त्यहाँ सहज हुने डिजाइनमा संलग्न इन्जिनियरले सुझाएका थिए।

खोलाको बहाव तीव्र भएका कारण सुटिङका लागि खोलाबाट उठाइएका बाँसले बहावलाई थेग्न नसक्दा सटिङसहितका सामग्री बगाएको स्थानीयले बताएका छन्। निर्माण नसक्दै पुल नै बगाएपछि सहज रुपमा आउजाउ गर्ने स्थानीयको धोको समयमै पूरा नहुने देखिएपछि चिन्तित बनेका छन्। पुल निर्माणका लागि उपभोक्ता समितिलाई दिइएको थियो।

ट्रस ब्रिजको सामग्री कम्पनीबाट आउन ढिला भएकाले पनि बाढीले समस्या निम्त्याएको महानगरका इन्जिनियर राजु रेग्मीले बताए। पुल निर्माण भएसँगै ३ सय ६३ घरधुरीका २ हजार १ सय ७० जनसंख्या लाभान्वित हुनेछन्।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्