२६ करोड हिनामिना गर्ने सहकारीको विशेष साधारण सभा ‘कोरम’ नपुग्दा स्थगित

नेपालगञ्ज– सहकारी वित्तीय विकास संस्था लिमिटेडको विशेष साधारण सभा ‘कोरम’ नपुगेकाले स्थगित भएको छ।

कम्तीमा २६ करोड हिनामिना भएको सहकारीले शनिबार विशेष साधारण सभा बोलाएको थियो। एक हजार सात सय ४० जना सदस्य रहेकोमा विशेष साधारण सभामा दुई सय ८५ जनामात्रै उपस्थिति भएपछि कोरम नपुगेको हो। सहकारीको नयाँ नियम अनुसार विशेष साधारण सभामा ५१ प्रतिशत सदस्य उपस्थित हुनुपर्छ।

सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीले कोरम नपुगेकाले साधारण सभा स्थगित भएको बताए। उनले फेरि सूचना निकालेर केही दिन साधारण सभा गर्ने जानकारी दिए। साधारण सभामा उपस्थित भएका केही सदस्यले सञ्चालकप्रति रोष प्रकट गरेका थिए। बचत रकम डुब्ने हो कि भन्ने डर, त्रासमा रहेका बचतकर्ताले सञ्चालकमाथि गालीगलौजमै उत्रिएका थिए। सहकारीका अध्यक्ष चौधरीले भने, ‘कोरम नपुगेर साधारण सभा स्थगित भयो। आएका बचतकर्ताले सञ्चालक समितिलाई गाली गरेर गए।’

सहकारीका उच्च तहका कर्मचारीहरु जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन्। उनीहरुका बारेमा पनि साधारण सभाले विशेष निर्णय गर्ने तयारी थियो। साधारण सभा नै नभएपछि कुनै निर्णय नै हुन सकेन। बैंकिङ प्रवन्धक अरुणकुमार पाठक, नायव महाप्रवन्धक गंगाधुर सुवेदी र मुख्य प्रवन्धक गोपाल भण्डारी प्रहरी हिरासतमा रहेका छन्। उनीहरुलाई प्रहरीले सार्वजनिकमा मुद्दा चलाएको छ।

सार्वजनिक मुद्दाको अवधि आइतबार सकिँदैछ। विशेष साधारण सभामा कोरम नपुगेपछि अध्यक्ष चौधरीलगायतको टोली जिल्ला प्रहरी कार्यालय पुगेको छ। ‘अब कसरी जाने?’ भन्ने विषयमा अन्तिम छलफल गर्न उनी जिप्रका पुगेका हुन्। ‘हिनामिना गरेको पैसा तिर्ने ग्यारेन्टीसहितको कागज गरेमा उनीहरुलाई हिनामिनाको मुद्दा नलगाई तारेखमा छोड्न सकिन्छ, सहकारी स्रोतले भन्यो, पैसा तिर्ने ग्यारेन्टी भएन भने मुद्दा चल्छ।’ कर्मचारीविरुद्ध ठगीको मुद्दा चलाउने बित्तिकै सहकारीको पनि बेइज्जत हुने एकथरीको राय रहेको छ।

सहकारीको रकम हिनामिना गर्नेमा यी तीन बाहेक अरु पनि छन्। उनीहरु फरार रहेर आफन्तीमार्फत पैसा फिर्ता गरिरहेका छन्। यसो गर्नेमा खजुरा शाखाका प्रमुख सूर्य विक, बैजापुर शाखाका लिलाधर वली रहेका छन्।

अहिलेसम्म बैंकिङ प्रवन्धक पाठकले एक करोड ४० लाख, नायव महाप्रवन्धक सुवेदीले ५० लाख, मुख्य प्रवन्धक भण्डारीले ३८ लाख फिर्ता गरेका छन्। सहकारीका अनुसार, बैंकिङ प्रवन्धक पाठकले २२ करोड, नायव महाप्रवन्धकसुवेदीले ३ करोड, खजुरा शाखाका प्रमुख विकले ६४ लाख र बैजापुर शाखाका वलीले ४४ लाख हिनामिना गरेका छन्।

विकले अब १४ लाख ७५ हजार रुपैया फिर्ता गर्न बाँकी रहेको छ। सहकारीले हिनामिना गरेको कर्मचारीबाट असुल गरेर अहिलेसम्म बचतकर्ताको साढे तीन करोड फिर्ता गरिसकेको छ।

असार २१, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्