मनमा एउटा आँधी चल्छ

ठ्याक्कै एक हप्ताअगाडि साँझ ७ बजे आसपास सिंहदरबारको पूर्वी गेट छेउबाट हिँड्दै थिएँ। कसैले मलाई पच्छाइरहेजस्तो लाग्यो, म चनाखो भएँ। बिस्तारै त्यो मान्छेको छायाँले मेरो छाँयालाई छोप्यो र अग्लो हुँदै गयो। म झस्याङ्ग भएर छेउ लागेँ, चिट्चिट् पसिना छुटेको रहेछ।

गत भदौको कुरा हो, तराईकी एक किशोरी सम्झना दास र उनकी बहिनीलाई नातामा आफ्नै ठूलोबुवा पर्नेले सुतेकै ठाउँमा एसिड छ्यापेको ४ दिनमात्र भएको थियो। सीमा बस्नेतले सम्झनाको एसिडले डढेर कालो छाला भएको फोटो फेसबुकमा पोस्ट गरेकी थिइन्। सहयोगको अपिल थियो र उसको ज्यान बचाइदिन भगवानसँग प्रार्थना पनि। अफिसबाट घर फर्कने बेला मैले त्यही फोटो हेरेकी थिएँ। फोटोमुनि लेखिएको विवरण झनै पीडादायक थियो। उनकाे आँखाबाट पीप बगिरहेकाे थियाे। उनी बोल्न सकेकी थिइनन्। सीमा तिनै युवती हुन्, जो एसएलसीको ट्युसन पढ्न गएका बेला काठमाडौँ वसन्तपुरको एउटा ट्युसन सेन्टरको कक्षामा एसिड आक्रमणमा परेकी थिइन्। अहिले उनी एसिड आक्रमणमा पर्नेहरुकै सेवामा लागिरहेकी छन्।

सीमा बस्नेत (फेसबुक)

८ बजेको थिएन, तर मेरो घरतिर जाने अन्तिम बस छुटिसकेको थियो। म भैँसेपाटी ओर्लिएर हिँडे। बस पाएका बेला म झर्ने स्टेसनमा आइपुग्नै लागेकी थिएँ। त्यहाँनिर मोड छ, मोड कटेर गयो भने मञ्जुश्री पार्कको तल्लो गेट पुगिन्छ। मोडको छेवैमा खरीको बोट, सिधा गए मेरो घर जाने बाटो। बाटो तल बस्ती छ तर पर–पर मात्रै घर छन्। बाटोमाथि सल्लाको वन। भर्खरै साँझ परेको भए पनि बाटो खाली थियो। मलाई जुत्ताले दुखाइरहेको थियो, बिस्तारै हिँड्दै थिएँ, घुम्तीमा मैले एउटा बाइक मोड्दामोड्दै रोकेको देखेँ।

फेरि त्यो बाइक मोडिएर भञ्ज्याङतिर नै आयो। मेरो नजिक आइपुगेर ठूलो स्वरमा ‘ए’ भनेर चिच्यायो। मेरो घर जान घुम्ती कट्नुपर्दैन। हिँडिरहे, त्यो बाइक फर्केर आयो र मेरो अगाडि रोक्यो-

‘कहाँ जान लागेको म पुर्‍याइदिन्छु।’

उसले रक्सी खाएको रहेछ, म नबोली बाइक छलेर हिँडेँ।

पहिला–पहिला मलाई कसैले जिस्कायो भने मुखमा आएजति सबै कुरा भन्दिन मन लाग्थ्याे। त्यसो गरेको पनि छु। तर पछि ममी र दाइले, ‘किन मुख फर्काउनुपर्‍यो, चुप लागेर आफ्नो बाटो हिने भैगो नि’ भन्न थाले।

मैलै बिस्तारै त्यो बानी फेर्न खोजेँ, मुख चुप लागेपनि मनमा भने आँधी चल्छ। फेरि हामीलाई केही कुराको जवाफ फर्काए, ‘चोथाले रैछे’ भनिन्छ। खैर, म नबोली अगाडि बढेँ।

त्यो बाइक फेरि घुमेर मेरो अगाडि आयो, ‘सुनेनौ, म लगिदिन्छु क्या, बस।’

मैले फेरि बाटो मोडे, तर मलाई एकदम रिस उठिसकेको थियो। टाउको रनक्क भइसकेको थियो। जुत्ताले खुट्टा दुखाएकाले दौडेर छिटो जान सकिन। घुम्तीबाट सय मिटर जति अगाडि पुगेपछि मेरो घर देखिन्थ्यो। अरु बेलामा त बाटोमा झ्याउँ–झ्याउँ मान्छे हुन्थे, तर आफूलाई पर्दा म त्यहाँ एक्लो थिएँ। बाटो छेउछाउका हरियो कालिमुन्टे र तितेपातीको झ्याङ त्यो दिन ठूलो बोटजस्तो देखिन थाले, पर्खालजस्तै। झन् डर लाग्यो। मनले अनेक कल्पना गर्न थालेँ। यो मान्छे यसै मान्नेवाला थिएन।

तेस्रो पल्ट पनि त्यो मान्छेले मेरो बाटो छेक्यो, अब त अत्ति भो। कुकुर अरुको ठाउँमा पुच्छर निहुराएर हिँडे पनि आफ्नो ठाउँमा ठूल्ठूलो स्वरले भुक्दै हिँड्छ, तर म मेरै घरमाथि लुत्रुक्क परेर हिडिँरहेकी थिएँ। चिच्याएको भए पनि घरमा सुन्थे होला तर म निरीह भएकी थिएँ।

दिमागमा आइडिया नफुरेको होइन, ‘एक लात्ती हानेर बाइक र मान्छे ढाल्दिन्छु, त्यो उठेर आउँदासम्म मैले छलिसक्छु।’

अर्को आइडिया पनि थियो, ‘चिच्चाएर सबैलाई जम्मा पारेर बेइज्जत गर्दिन्छु,’ अथवा ‘पुलिसले लैजान्छ।’

तर त्यसो गर्नै सकिन। आज एक जना छ। भोलि साथी बटुलेर ल्यायो भने? अथवा एसिड बोकेर हिँड्यो भने? जेलमा नि कति दिन राख्छन् र? दिदीको छोरी बिहान चाँडै स्कुल जान्छे, घर फर्कँदा साँझ हुन्छ, अरु नानीहरु पनि यो बाटो हिँड्छन्, उनीहरु परे भने। मलाई सेफ ल्याण्डिङ गर्न मन लाग्यो तर कसरी- मलाई थाहा थिएन।

‘सुनेनौ, मैले पुर्‍याइदिन्छु भनेको?’

‘म आफैँ जान सक्छु’

‘हैन म लगिदिन्छु’

‘सुन्नुहुन्न, म आफैँ जान्छु, तपाईँ आफ्नो बाटो लाग्नुस्।’

‘मैले पुर्‍याइदिन हुन्न त अनि?’

‘यहीँ अगाडि हो मेरो घर, मलाई लिन पनि आइराको छन्।’

त्यसपछि त्यो बाइक जताबाट आएकाे थियाे उतैपट्टि गयो। म डरै डरमा घर पुगेँ। मलाई थाहा थियो बाटोमा भएको घटना घरमा सुनाएपछि ‘ढिला घर फर्कने काम फेर्नुपर्छ’ भन्छन् तर दिदीकी छोरीलाई भने सचेत गराउनै भए पनि मैले त्यो कुरा सुनाएँ।

त्यो दिन पनि म माइतीघरसम्म हिँडेर गाडी चढ्ने सोच बनाएकी थिएँ। तर परिस्थिति अर्कै भयो। छायाँवालालाई नियालेँ। सेतो रंगमा छिर्का परेको सर्ट र पाइन्ट लगाएका ती पुरुष फर्मल थिए। आनन्दले आफ्नो बाटो हिँड्दै थिएँ। म छेउ लागेको असामान्य लागेर होला, मलाई पुलुक्क हेरेर बाटो लागे। ‘धत्, यस्तो मान्छेलाई मैले के सोचेको होला?’

हुन त अनुहारमा मात्रै भर पर्ने बेला छैन।

संयोगले त्यही दिन ‘सिरिञ्ज अट्याक’को आतंक एउटा मोडमा पुगेको थियो। सन्तोष कार्की नामका एक युवकले आफ्नो रमाइलोका  लागि मात्रै ढलान किलाले महिलाहरुलाई घोप्दै हिँडेको स्विकारेका थिए। मेरो दिमाग यो समाचार सुन्नेबित्तिकै खल्बलियो। अरे कस्तो सफाइ हो यो? कसैलाई किलाले घोच्दा आनन्द आउने रे। अब उसले स्वीकारेपछि सक्कियो त?

नेपालीमा एकदमै चलेको उखान छ, ‘जस्तालाई त्यस्तै।’ त्यसो भए उनलाई पनि त्यसैगरी किलाले घोच्नुपर्छ कि क्या हो? कानुनी कारबाहीले मात्रै उसले दिएको शारीरिक अनि मानसिक पीडा र त्रासको भर्ताल गर्ला त?

यो कानुनी पाटो हो, आशा गरौँ- उनले सजाय पाउनेछन्। तर उनी प्रहरी हिरासतमा आएपछि घटना सक्किएको थिएन। घाउ लागेपछि खाटा बस्छ र त्यो खाटाले झस्काइराख्छ। र, यो समस्या समाधान भयो भन्नेमा विश्वस्त भएकी थिइन म। किनभने यस्तै घटना बनेपामा पनि भएको थियो। त्यहाँ आक्रमण गर्ने महिला थिइन्। सन्तोषले आफ्नो दिदीबहिनीलाई अरुलाई तिखो वस्तुले घोच्दा मजा आउँछ भनेर सिकाएका थिएनन् होला।

त्यो दिन अनामनगरको मण्डला थिएटरमा ‘मैनदानी’ नाटकको पहिलो शो थियो। नाटक सुरु हुनुभन्दा अगाडि सञ्चारकर्मी साथीहरु स्वेच्छा राउत, वर्षा बस्नेत र मदन रिजालसँग एकै छिन गफ भयो। कुरैकुरामा ‘सिरिन्ज अट्याक’ पनि निस्कियो, चाँडै घर आइपुग भनेर घरबाट फोन मलाई मात्र आउने हैन रहेछ भन्ने थाहा भयो।

विशेष गरी जतिबेला महिलामाथि एसिड छ्यापिन्छ, बालिका, युवती बलात्कारमा परेको समाचार बाहिर आउँछ अनि भर्खरै सेलाउन लागेको ‘सिरिञ्ज अट्याक’को शिलशिला बाहिरिन्छ, म्यासेन्जरमा सचेत हुन म्यासेज ओइरिन थाल्छ। साँझ पर्न लागेपछि आमाको, दिदीको फोन बज्छन् असामान्य रुपमा। अझै कामबाट राति घर फर्कन ढिला भयो भने त भोलिपल्ट बिहान आदेशसहितको सल्लाह आउँछ, ‘अब जागिर फेर्नुपर्‍यो, १० देखि ५ सम्म काम गर्न मिल्ने कुनै अफिस जाने नत्र स्कूल पढाउन थाल्ने।’

अब मैले जानेको काम पनि यही, गरिरहेको पनि यही। अस्तिभन्दा हिजो, हिजोभन्दा आज केही फरक भएकोमा परिवार खुसी नभएका हैनन्। उनीहरुकै प्रेरणाले हो अगाडि बढ्न हौस्याउने पनि। तर यस्ता नकारात्मक घटनाहरु हुन थालेपछि परिवारले सुरक्षा गर्न खोज्दो रहेछ। तर त्यो सुरक्षा बन्देजजस्तै हुँदो रहेछ। परिवारले यस्तो घटना सामना गर्नु भन्दा पनि त्यो घटनाको वरपर पनि हामीलाई नपरोस् भन्ने जुक्ति निकाल्छन्, ‘बाहिर नै हिँडेन भने कुरै सक्कियो।’

आक्रमणको डर वा असुरक्षाले घरैबाहिर निस्कन छाडेपछि यसले महिलाहरुको प्रगतिको बाटो छेक्दैन त? मैले मनोविद् तथा त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक नन्दिता शर्मालाई यसबारे भेटेँ।

उहाँसँग भएको कुरा जस्ताको तस्तै उतारेको छु।

……

२०४० सालतिर  ‘चलचित्र हलमा सुईले घोच्छ रे, त्यसमा एचआईभीको जीवाणु हुन्छन् रे ‘भन्ने सुनिन्थ्यो। सिनेमा हेर्न नजानु भन्थे। त्यो बेलामा मिडिया यत्तिको पहुँच योग्य र  सशक्त थिएन, मानिसलाई सचेत बनाउन गाह्राे थियो।

अपराधी पत्ता लाग्यो लागेन थाहा भएन, एक-डेढ महिनामा यो कुरा त्यस्सै सेलायो। अहिले यस्तै घटना भएको छ। यस्ता घटनाले मानिसमा

मनोविद् तथा प्राध्यापक नन्दिता शर्मा
  •  त्रास फैलिन्छ,
  • एक्लै केही हिँड्न, काम गर्न साहस आउँदैन,
  • महिलाहरुको विषयमा झन् संवेदनशील हुन्छ
  • नराम्रो मनोवृत्तिलाई टेवा दिन्छ, उक्साउछ र सिकाउँछ।

नराम्रो कुरा चाँडै फैलने त गुण नै हो। ढलान किलाले घोच्ने सन्तोष कार्कीले पनि विदेशमा काम गर्न बसेको बेलामा सुनेको कुरा थियो यो। नकारात्मक मनसाय भएका मानिसले नकारात्मक कुराहरु सजिलै सिक्छन्।

समाज परिवर्तनशील छ, अवसर र पहुँचको हिसाबमा महिलामा २०४० सालतिर र अहिले आकाश जमिनको फरक छ। तर डर समान छ। पढेलेखेको मान्छे भए पनि त्रास हुने। यो दुई किसिमको हुन्छ, एउटा आफैँभित्र भयो, अर्को परिवारले पनि अवरोधहरु लगाउने गर्छ। यसले महिला सशक्तीकरणमा बाधा पर्छ।

हाम्रो संस्कारले महिला दिदीबहिनीहरुलाई सुरक्षा गरौँ भन्छ। सुरक्षाको नाममा अवसरबाट बञ्चित बनाइएको हुन्छ। यसमा बाहिरी तत्व थपियो। विकृतिले गर्दा यो चिजले झन् बिगारेको छ।

पछिल्लो समय महिला राति पनि काममा जान्छन् । उनीहरुलाई रोक्नुको सट्टा आफ्नो सुरक्षा आफैँ गर्न सक्ने बनाउन जरुरी छ। तिमीले आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ भन्ने वातावरण बनाउनुपर्छ। नत्र बाहिर असुरक्षित छ भनेर गार्ड बनेर हिँड्न साध्य लाग्दैन।

हुन त महिला मात्र असुरक्षित होइनन्। असुरक्षित हुनेमा महिला धेरै छन्।

हुन त एउटा सोचाइ के छ भने, हरेक असामाजिक व्यवहार गर्नेहरु जति सबै मानसिक रोगीहरु हुन् तर यो अपराधीलाई जोगाउने बाटो हो। कसैको मानसिकता नै अरुलाई दुख दिएर खुसी हुने हुन्छ।

उदाहरणका लागि महिलालाई ढलान किलाले घोचेर आनन्द लिने सन्तोष कार्कीको हकमा यदि त्यो क्रियाकलापपछि सन्तोषलाई यौन सन्तुष्टि हुन्छ भने त्यो उसको यौन सम्बन्धी समस्या हुन सक्छ, त्यो मानसिक समस्या अन्तर्गत पर्छ। उसलाई यस्तो समस्या हैन भने त्यो मानसिकता हो।

यस्ता खराब मानसिकता भएका मानिसहरुलाई  काउन्सिलिङ गरेर परिवर्तन गर्न सकिन्छ।

दुर्घटनाकाे चौतर्फी प्रभाव हुन्छ, यसले गर्दा मानिसले केही कुरालाई वेवास्ता गर्न थालिन्छ, जो प्रगतिको बाधक बन्छन्। मानिसले एउटै घटनालाई लिने दृष्टिकोणहरु फरक हुन्छन्। कुनै महिलाले आफूलाई आक्रमण गर्नेलाई पछार्छु भन्ने आँट राख्छिन्, कुनै मुर्छा परेर लड्ने स्थितिका हुन्छन् । असर पनि प्रभाव फरक–फरक तरिकाले पर्छ।

अहिलेको अवस्थामा परिस्थिति चित्रण एकदमै खुलस्त रुपमा गरिन्छ तर त्यसपछि के भयो भन्ने बारेमा कसैलाई पनि चासो हुन्न। विशेषगरी सञ्चारमाध्यम यसमा चुकेका छन्। र, अपराधी उत्प्रेरित भएका छन्। दोषी पक्रियो भन्नेसम्म हुन्छ, त्यसपछि त्यो दोषीलाई के कारबाही भयो भन्ने कतै खबर आउँदैन यसले अपराधिक मानसिकता भएका मानिसकाे मनोबल बढाउने काम गर्छ।

अपराधीलाई के सजाय भयो भन्ने खबर सार्वजनिक हुनु भनेको पीडित तथा अरु महिलाहरुलाई पनि सान्त्वना मिल्नु र आत्मविश्वास बढ्नु हो। तर यसको अभ्यास भएको नै छैन।

……

समय परिवर्तन भएको छ, पहिला महिला पढ्न, घर बाहिर निस्केर काम गर्नलाई संघर्ष गर्नुपर्थ्यो। तर अहिले सुरक्षाको लागि संघर्ष गर्नुपरेको छ। अफिसबाट फर्कन ढिला भयो भने, दाइ, भाइ, श्रीमान्, देवर, जेठाजुलगायत पुरुषपात्र महिलालाई लिन आउनुपर्छ, चाहे पाँच मिनेटको चोकसम्म किन नहोस्। उनीहरुलाई जागिर खान समाजको अनुमति छ तर बडिगार्ड बोकेर हिँड्नुपर्छ। भैसेपाटीको घटना हुँदा प्रहरी घटनास्थलभन्दा २०० मिटर अगाडि मापसे जाँच गरेर बसेकै थिए, तर उनीहरुलाई यो घटनाको बारेमा पत्तो पनि छैन।

पत्रकारिता सुरु गर्दा म भक्तपुरबाट काठमाडौँ आउने-जाने गर्थे, सूर्यविनायक बस स्टपबाट ४.५ किलोमिटरभित्र मेरो घर छ। पैदल एक घण्टा। गाडी छुटेको बेलामा र मलाई लिन आउने कुनै विकल्प नभए पनि म हिँडेरै जान्थेँ।

त्यो बाटोमा हिँड्दा मलाई सुनसान ठाउँमा भन्दा बाक्लो बस्तीमा पुगेपछि टेन्सन लाग्थ्यो। सुनसान ठाउँमा मैले आफ्नो ज्यानको सुरक्षालाई मात्रै ध्यान दिए पुग्थ्यो। चकमन्न ठाउँमा मैले मेरो बाहेक अर्को पैतालाको आवाज पनि थाहा पाउथेँ।

तर, बाक्लो बस्तीमा पुग्दा रातिको खाना खाएर भाँडा माझ्ने समय हुन्थ्यो। घर अगाडिको धारोमा भाँडा मस्काउँदै गरेका आन्टीहरु यति लामो लेग्रो तान्दै सोध्थे, ‘आम्मामा छोरी यति राति तिमी? किन ढिला?’

मेरो सामान्य जवाफ, ‘बस छुट्यो।’ २० मिनेटको बाटोमा मैले १५ जनालाई जवाफ दिँदै जानुपर्थ्याे। फेरि घ्वाइँ–घ्वाइँ फोन आइरहन्थ्याे। ममीले पाँच–पाँच मिनेटमा ‘कहाँ आइपुग्यौ’ भनेर सोध्नुहुन्थो। तर मेरा दाइहरु जति राति घर आए पनि यो परिस्थिति हुँदैन थियो भन्ने पनि राम्ररी थाहा थियो। त्यसपछि परिवारले मेरो जागिर सजिलो बनाउनको लागि आइडिया लगायो, म भैँसेपाटीमा दिदीको घर बस्ने भएँ।

मलाई कसैले सोध्नै हुन्थेन, ममीले फोन गर्नुहुन्थेन भन्न खोजेको होइन। तर यो परिस्थिति किन छ ? म माथि प्रश्न आउनु, मेरो बारेमा ‘एक्स्ट्रा कन्सर्न’ हुनु मप्रतिको उहाँहरुको माया हो, चिन्ता हो। तर यो चिन्ता पुरुषमा किन लागू हुन्न त?

यस्तो प्रश्न मनमा आएपछि साँच्चै नै लैगिकतालाई समाजले कसरी लिन्छ भन्ने कुरा दिमागमा चल्छन्। केटीहरुलाई किन धेरै संरक्षण गर्नुपर्ने बनाइन्छ? त्यो बनाउने को हो त?

हिंसा भएको घटना सार्वजनिक हुँदा मन बेस्सरी पोल्छ, चित्त दुख्छ। झन् बढी हैरानी त त्यो घटनामा हुन्छ, जब आफन्त नै संलग्न भएको तथ्य बाहिरिन्छन्। नातामा ठूलो बुवा पर्नेबाट एसिड आक्रमणमा परेर ज्यान गुमाउने सम्झना अनि कालोपुलमा आफ्नै श्रीमानबाट एसिड छ्यापिएर उपचाररत जेनी। भाइ पर्नेबाट दुई वर्षअगाडि बलात्कृत भएकी युवतीको कथा सम्झेपछि मलाई मेरो लैंगिकता याद आउँछ, ‘म केटी हुँ, यो कुरामा सावधानी हुनुपर्छ।’

एकदिन मेरो केटा साथीलाई लिफ्ट मागेको घटना सुनाउँदै थिँए। उहाँले लिफ्ट दिएपछि मलाई धेरै सहयोग भएको थियो। तर, उसले अमिलो अनुभव सुनायो, ‘सहयोग गर्न पनि गाह्रो छ सुजाता, राति घर फर्कँदा कसैलाई सहयोग गर्छु भन्दा पनि ‘मिटू’ लाग्ला भन्ने डर छ।’

उसको कुराले मलाई दुई कुरा सोच्न बाध्य बनायो, मिटू’ आन्दोलनको कसरी व्याख्या भइरहेको छ। र, सहयोग गर्न खोज्नेलाई पनि वातावरणले कस्तो सोच्न बाध्य बनाएको छ।

बेलाबखतमा आफ्नै आफन्तबाट झेल्नुपर्ने दुर्व्यवहारको घटनाले सहयोग गर्छु भन्नेहरुसँग विश्वास गर्न गाह्रो भएको छ नि!

कहिलेकाहिँ  साथीसँगकाे भेटघाटमा साँझ घर जान हतार गर्‍यो भने भनिहाल्छन्, ‘हामी वन जाने हैन, घरै जाने हो, के गर्छौ हौ यति चाँडै घर गएर?’ बेलाबखतमा हुने घटनाले ‘घर पुग्नु नै ठूलो कुरा हो’ भन्ने बनाइदिन्छ। नकारात्मक मानसिकताबाट सधैँ जोगिन सकिँदैन पनि।

यो कुराको व्याख्या गरिराख्दा मलाई एकदमै नराम्रो लागिरहेको छ। एउटा घटनाले हाम्रो व्यक्तिलाई हेर्ने नजर एउटै बनाइदिन्छ। अफ्ठेरोमा परेपछि ‘हरेक मान्छेका फरक गुण हुन्छन्, सबै उस्तै हुन्नन्’ भनेर सोच्न कहाँ आउँछ र! दुर्व्यवहारको घटनाले महिलालाई हतोत्साहित बनाउँछ, आत्मविश्वास कमजोर बनाउँछ र सोच्नै नसकिने अवस्थामा पुर्‍याउँछ। व्यक्त गर्नु वा नगर्नु-  फरक कुरा हो।

छोरीहरु पढिरहेका छन्, ठूला–ठूला ओहोदामा पुगेका छन्। देश हाँक्ने जिम्मेवारी सम्हालेका छन्। राष्ट्रपति र प्रधानन्यायाधीश जस्तो पदमा महिला पुग्नुले सशक्तीकरणको आन्दोलन कति सफल छ, प्रस्ट पार्छ।

र, आधा आकाश ओगटेका महिलाहरुलाई बौद्धिक तहमा समान हुन्, कोटा सिस्टम जस्ता प्रवृत्तिबाट बाहिर निस्किएर अगाडि बढ्न सुरक्षात्मक पाटोले कसरी साथ देला?

नाटक ‘प्राइभेट इज पोलिटिकल’मा कलाकारहरु चियागफ गर्दै। तस्बिर सौजन्य – कौशी थिएटरको फेसबुक

‘कथा घेरा–कौशी थिएटर’मा मञ्चन भएको नाटक ‘प्राइभेट इज पोलिटिकल’ को एक अंशमा पुरुषहरु चिया पिउँदै गफ गर्दै थिएँ। गफको विषय थियो महिला सशक्तीकरण, महिलावादी आन्दोलन। त्यहाँ एक पात्रले महिला अगाडि बढेको विषयमा भन्छन्, ‘हामीले बाहिर हिँड्न दिएका छौँ, जागिर खान दिएका छौँ, पाइन्ट लगाएर हिड्न, चलचित्र हेर्न दिएका छौँ, त्योभन्दा बढी के चाहियो?’

पछिल्ला घटनाक्रमले हुन्न भन्ने थाहा हुँदाहुँदै ‘मेरो स्वतन्त्रता अर्कैको हातमा छ त?’ भन्ने सोच्न थालेकी छु म। अन्यौलमा छु, आफ्नो काम सक्काएर घर फर्कन मलाई कति बज्यो भनेर ख्याल गर्नुनपर्ने, दुर्व्यवहारको डर लिएर हिँड्नु नपर्ने दिन कहिले आउला? यसका लागि को जिम्मेवार हुनुपर्छ होला? यो दायित्व कसको होला?

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्