कोपा अमेरिका : अर्जेन्टिना २–१ चिले

आक्रोशित मेस्सीलाई सीधै रातो कार्ड, चिलेका ग्यारी मेडेलसँग गम्भीर तनाव

अति नै तनावपूर्ण बनेको खेलमा अर्जेन्टिनाले चिलेलाई पराजित गरेको छ । यसअघिका दुई संस्करणका फाइनलिस्ट यसपटक ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भएको प्लेअफमा शनिबार राति प्रतिस्पर्धा गरेका हुन् ।

अर्जेन्टिना आयोजक ब्राजिल तथा साबिक विजेता चिले पेरुसँग सेमिफाइनलमा पराजित भएका हुन्। दुई टिमबिच तेस्रो स्थानका लागि भएको खेलमा दुवै टिम पहिलो हाफमै १० खेलाडीमा सीमित भए । खेलमा अर्जेन्टिना २–१ ले विजयी भयो । तर अर्जेन्टिनाले उसका कप्तान लियोनल मेस्सीलाई गुमाउनु पर्‍यो, रातो कार्डका कारण ।

अर्जेन्टिनाका लागि १२ औँ मिनेटमा सर्जियो अग्युरो र २२ औँ मिनेटमा पाउलो डिबालाले गोल गरेका हुन् । चिलेका लागि अटुरो भिडालले ५९ औँ मिनेटमा पाएको पेनाल्टीमा एक गोल फर्काए । अर्जेन्टिनाले गएका दुई संस्करणमा बेहोरेको हारको केही मात्रै भए पनि बदला लियो जितसहित ।

तर यो खेल अर्जेन्टिनाको जित भन्दा पनि कप्तान मेस्सीले पाएको रातो कार्डका कारण स्मरण हुनेछ।

अति तनावपूर्ण देखिएको खेलमा मेस्सीले ३७ औँ मिनेटमा सीधै रातो कार्ड पाए । यस्तै चिलेका ग्यारी मेडेलले पनि सोही घटनामा सीधै रातो कार्ड पाए ।

मेस्सीले क्लब प्रतिस्पर्धामा अहिलेसम्म रातो कार्ड पाएका छैनन् । उनका लागि रातो कार्ड निकै दुर्लभ हो । मेस्सीले सिनियर खेल जीवनमा पाएको यो दोस्रो रातो कार्ड हो । उनले १४ वर्षअघि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा डेब्यु गरेका बेला रातो कार्ड पाएका थिए । दुवै टिमका खेलाडी शारीरिक प्रतिस्पर्धामा उत्रिएपछि तवनाको अवस्था सिर्जना भएको हो ।

पहिलो हाफको खेल सकिन ८ मिनेट बाँकी हुँदा मेस्सीले चिलेका मेडेललाई कुहिनाले धक्का दिएपछि तनावको अवस्था सिजर्ना भयो । मेस्सी र मेडेल दुवैले बलका लागि प्रतिस्पर्धा गरिरहेका थिए, सोही क्रममा मेस्सीले मेडेललाई कुहिनाले धक्का दिएका हुन् ।

मेडेलले त्यसको जवाफ आक्रोशित रुपमा दिए । उनले आफ्नो अनुहार मेस्सीको अनुहारमा जुधाए । रेफ्री आउनु पूर्व दुई खेलाडीबिच भनाभन भयो ।

मेस्सीले पहिले कुहिनाले धक्का दिए पनि त्यसपछिको मेडेलको व्यवहारप्रति आक्रोशित रुपमा जवाफ नदिएको रिप्लेमा देखिएको खेल पण्डितले बताएका छन् ।

मेस्सी र मेडेल दुवैलाई रेफ्रीले रातो कार्ड देखाए । दुवै खेलाडी बाहिरिएपछि खेल सुचारु भयो । चिलेको टिमका बलिया खेलाडी एलेक्स सान्चेज चोटका कारण खेलको सुरुमै बाहिरिन बाध्य भए । उनले १७ मिनेट मैदानमा बिताएका थिए ।

कोपा अमेरिका फुटबलको फाइनलमा सोमबार बिहान ब्राजिलले पेरुको सामना गर्नेछ ।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्