अफ्रिका कप अफ नेशन फुटबल

आयोजक इजिप्ट र साबिक विजेता क्यामरुन बाहिरिए

आयोजक इजिप्ट अफ्रिका कप अफ नेशन फुटबलको अन्तिम १६ बाटै बाहिरिएको छ । मोहम्मद सालहसहितको टिम इजिप्ट अन्तिम १६ अन्तर्गत शनिबार राति भएको खेलमा दक्षिण अफ्रिकासँग १–० ले पराजित भएको हो ।

दक्षिण अफ्रिकाको जितमा ८५ औँ मिनेटमा लोर्चले गरेको गोल नै निर्णायक बन्यो । कायरोमा भएको खेलमा थिमबिनकोसी लोर्चले अन्तिम समयमा दक्षिण अफ्रिकाका लागि विजयी गोल गरेका हुन् ।

यस्तै साबिक विजेता क्यामरुन पनि जारी प्रतियोगिताको अन्तिम १६ बाटै बाहिरिएको छ । शनिबार राति नै भएको खेलमा क्यामरुनलाई ३–२ ले पराजित गरेर नाइजेरियाले अन्तिम ८ मा स्थान बनाएको छ ।

क्यामरुनले पहिलो हाफमा २–१ को अग्रता लिएको थियो । उसका लागि स्टिफन बाहोकेन र क्लिन्टन एनजिएले गोल गरेका थिए ।

पहिलो हाफमा नाइजेरिका लागि एक गोल गरेका ओडिअन इग्हालोले दोस्रो हाफमा थप एक गोल गरे । उनले व्यक्तिगत दोस्रो गोल गरेको तीन मिनेटपछि एलेक्स इवबीले गोल गर्दै नाइजेरियालाई ३–२ को जित दिलाए ।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्