एक दिवसीय विश्वकप क्रिकेट

अस्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित

इंग्ल्याण्ड र वेल्समा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति सकिएको खेलमा अस्ट्रेलिया पराजित भएको छ । राउण्ड रोबिन चरणको आफ्नो अन्तिम खेलमा अस्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको हो ।

दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३२६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर ३१५ रन बनायो ।

उसका लागि डेविड वार्नरले १२२ रन बनाए पनि हार टार्न सकेनन् । यस्तै एलेक्स केरीले ८५ रनको योगदान दिए । दक्षिण अफ्रिकाका कागिसो राबडाले तीन विकेट लिए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा ३२५ रन बनायो । उसका लागि फाप डु प्लेसिसले शतक प्रहार गरे । ९४ बल खेलेका उनले सात चौका र दुई छक्काको मद्दतमा १०० रन बनाए । यस्तै भान डेर डुसेनले ९५, क्वीन्टन डी ककले ५२, एडेन मार्करमले ३४ र जेपी डुमिनीले १० रन जोडे ।

बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र नाथन लायनले समान दुई तथा जेसन बेहरन्डो र प्याट कमिङस्ले एक–एक विकेट लिए ।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्