प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले ‘छौँडा’ भनेपछि…

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल निम्न स्तरको भाषा प्रयोग गरेर सरकारका विरोधीहरुमाथि खनिएका छन् । प्रष्ट उल्लेख नगरे पनि उनले आफ्नै पार्टीका नेताहरुप्रति लक्षित हुँदै ‘छौँडा’ शब्द प्रयोग गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा रिमालले उनकै शब्दमा ‘यी छौँडाहरु आफै चलमलाएका हुन कि कसैले छोडेका?’ भनेर प्रश्न गरेका छन् ।

यसअघि पनि सरकारका कतिपय निर्णयहरुप्रति असहमति जनाउने पार्टीका नेताहरुलाई रिमालले यस्तै गरी आक्रमण गर्ने गरेका थिए ।पछिल्लो पटक तरकारी र फलफुलमा विषादी परीक्षण तत्कालका लागि स्थगन गर्न सरकारको निर्णयको पार्टीभित्रैबाट पनि विरोध भइरहको छ ।

खास गरी नेताहरु भीम रावल, मेटमणी चौधरी लगायतले अपरिपक्व निर्णय गरेर सरकार कर्तव्यबाट बिमुख भइरहेको आरोप लगाइरहेका छन् ।

यिनै नेताहरुप्रति लक्षित भएर प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रिमालले ‘छौँडा’ शब्द प्रयोग गरेर आक्रमण गरेको बुझ्न सकिन्छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार जस्तो पदमा रहेका रिमालको यस्तो अभिव्यक्तिप्रति सामाजिक सञ्जाल प्रयोगकर्ताले आपत्ति जनाएका छन् ।

रिमालको ट्विटमा टिप्पणी गर्दै तारानाथ दाहालले ‘छि छि सरकारका प्रमुख सल्लाहकारको भनाई’ लेखेका छन् ।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू