ताँजाकोट गाउँपालिकाको बजेट पारित

हुम्ला, सिमकोट – हुम्लाको ताँजाकोट गाउँपालिकाले आगामी वर्ष भित्र उज्यालो गाउँपालिका बनाउने नीति लिए अनुसार निर्माणाधिन कवाडी खोला र कर्पु खोला लघु जलविद्युत योजनालाई आवश्यक बजेटको व्यवस्था बजेट पारित भएको छ ।

जनताको विद्युतप्रतिको मागलाई ध्यानमा राखेर आगामी आर्थिक वर्षमा पूरै गाउँपालिका उज्यालो बनाउनका लागि गाउँसभाले उक्त नीति लिएको हो ।

असार १५ गते सभामा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट सभाबाट पारिद भएको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले बताए । सभामा गहन छलफल पछि सर्वसम्मत रुपमा बजेट पारित भएको उनले बताए ।

आगामी आर्थिक वर्षका लागि कुल २३ करोड तीन लाख २५ हजारको बजेट पेश भएकोमा केन्द्र सरकारबाट सम्मानीकरणमा ६ करोड ६५ लाख र राजस्व बाँडफाँडमा तीन करोड ७४ लाख तथा प्रदेश सरकारबाट सम्मानीकरणमा ९० लाख र राजस्व बाँडबाँडमा दश लाख प्राप्त भएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुबहादुर शाहीले बताए ।

पालिका उपाध्यक्ष मन्जु बुढाद्धारा प्रस्तुत बजेटमा संघीय सरकारबाट सशर्त अनुदान रकम सात करोड ४८ लाख र ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाबाट एक करोड ६१ लाख, बहुक्षेत्रीय पोषण कार्यक्रमबाट १२ लाख ३५ हजार र सामाजिक सुरक्षा कार्यक्रमका लागि दुई करोड पचास लाग प्राप्त भएको थियो ।

कुल बजेट मध्य ११ करोड ९८ लाख चालु रहेको छ भने ६ करोड ६५ लाख पुँजीगत बजेट रहेको अधिकृत शाहीले बताए । बजेटमा दुई वर्ष भित्र सबै घरधुरीमा धारा, सबै वडा तथा बस्तीमा सडक संजाल जोड्ने, अपांग दलित, सिमान्तकृत, गरिब जेहेन्दार र आर्थिक रुपले विपन्न विद्यार्थी छात्रबृद्धिको कार्यक्रम संचालन गर्ने कार्यक्रमहरु समेटिएका छन् ।

त्यसैगरी बजेटले गाउँमा रहेका रैथाने बालीको संरक्षण गर्ने र आगामी तीन बर्ष भित्र गाउँपालिकालाई शिक्षा, स्वास्थ्य, पर्यटन तथा बाताबरण मैत्री गाउँपालिका बनाउने प्रतिबद्धता समेत आएको छ ।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्