छौँडा भनेपछि सामाजिक सञ्जालमा खप्की खाँदै विष्णु रिमाल

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले आइतबार बिहानै एउटा ट्वीट गरे । ट्वीटमा उनले निम्न स्तरको भाषाशैली प्रयोग गरेर सरकारको विरोध गर्नेहरु विशेषतः नेकपाकै नेताहरुलाई आक्रमण गरेका थिए । तर उनको ट्वीट उनैलाई ‘ब्याकफायर’ भएको छ ।

अधिकांशले उनको तीव्र आलोचना गरेका छन् र प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार जस्तो व्यक्तिले प्रयोग गरेको भाषाप्रति खेद जनाएका छन् । रिमाललाई उनकै तरिकामा तर अधिकांशले सभ्य भाषामा जवाफ दिएका छन् । धेरैले उनको चेतनास्तरमाथि प्रश्न गरेका छन् ।

विज्ञापन

उषाकिरण तिम्सिना नाम गरेकी ट्वीटर प्रयोगकर्ताले लेखेकी छन्, ‘कमरेड तपाईँ पार्टीको स्थायी कमिटि  सदस्य र प्रधानमन्त्रीको सल्लाहकार दुवै पदबाट राजीनामा दिनुस् । यो चेतनास्तरले दुवै पदलाई न्याय गर्न सक्दैन ।’

आलोचक मान्छे ट्वीटर ह्याडलबाट लेखिएको छ, ‘वाह गज्जबको टुइट छ बिस्णु रिमाल जीको !! यस्ता धमिरा त छ्न नेपालको प्रधानमन्त्रीका सल्लाहकार ! यस्तो नैतिकता भएको मान्छेले प्रधानमन्त्रीलाई के सल्लाह दिदो हो र ? मलाई त लाज लागेर आयो । केपि ज्यु अझै समय छ यस्ता धमिरालाइ पन्छाएर अगाडी बढ्नु होस,१००% सफल ।’

रिमालले ओलीलाई दिने सल्लाहले देश कता जाला भनेर चिन्ता जताउनेहरु पनि छन् । तथाकथित बोक्सी–बोक्सा परम्परामा (यो मान्यता वा परम्पराको पक्षपोषण कुनै पनि अवस्थामा यो समाचारले गर्दैन) छौँडाको अर्थ उनीहरुका जासुस भन्ने हुन्छ । यही शब्दका कारण उनी कम्युनिष्ट भएकोमा पनि प्रश्न गरेका छन् ।

मोहनप्रसाद मैनालीले लेखेका छन्, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले सरकारलाई छौडा लागेको बताउनु भएको छ । तन्त्र-मन्त्र आदिमा विश्वास नगर्ने कम्युनिष्ट सदस्यले छौडा लागेको शंका गर्नु पुरातन सोच नै प्रवल रहेछ भन्ने सन्देश होईन र ? प्रसङ्गमा यो शब्द प्रयोग नगरेको भए सही हुन्थ्यो ।’

पछिल्लो समय भारतबाट आयात हुने तरकारी तथा फलफुलमा रहेको विषादीको मात्रा जाँच गर्ने निर्णयबाट सरकारपछि हटेपछि सर्वत्र आलोचना भइरहेको छ । सरकारमै रहेको पार्टी नेकपाका नेता तथा सांसदले नै विरोध गरेपछि नेता रिमाल उनीहरुमाथि खनिएका हुन् । तर उनले सामाजिक सञ्जालमा खप्की खाएका छन् ।

यसअघि २०७४ साउनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि छौँडा शब्द प्रयोग गरेका थिए । उनले त्यसबेला छिमेकी देशलाई इंगित गर्दै सो शब्दको प्रयोग गरेका थिए ।

अहिले उनका राजनीतिक सल्लाहकार रिमालले सरकारका विरोधीलाई लक्षित गर्दै छौँडा शब्द प्रयोग गरेका हुन् ।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्