ओली — दाहाल विवाद सुल्झाउन निरन्तर असफल

नेकपाका दुई अध्यक्षको कुरा अझै मिलेन

काठमाडौँ— पार्टीभित्र चुलिएको आन्तरिक विवाद सुल्झाउने प्रयास स्वरुप सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्लो सात दिनमा तीन पटक गरी घण्टौँ छलफलमा जुटेपनि उनीहरु त्यसमा असफल भएका छन्।

आइतबार बिहान बालुवाटारमा करिव दुई घण्टा छलफलका लागि जुटेका ओली र दाहालले लामो समयदेखि अलपत्र परेको राजनीतिक दस्तावेज कसरी र कहिले सार्वजनिक गर्ने, पार्टीको बाँकी रहेको एकताको काम कसरी अघि बढाउने र सरकारको कामकारवाही विवादमुक्त कसरी बनाउने भन्नेबारे कुनै निष्कर्ष निकाल्न नसकेका हुन्।

विज्ञापन

पार्टीको उच्चस्रोतका अनुसार माधवकुमार नेपालको नेतृत्वको कार्यदलले सात दिनभित्र सार्वजनिक गर्ने सर्तमा ओली र दाहाललाई संयुक्तरुपमा बुझाएको उक्त राजनीति दस्ताबेज सहमतिका साथ प्रकाशन गर्न उनीहरु असफल भएका छन्।

त्यसमा खासगरी प्रधानमन्त्री समेत रहेका ओलीले आफ्ना पूर्वनेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ शव्दवाली नराख्न सहमत भएपनि दाहालले अघि सारेको ‘एक व्यक्ति एक पद’को माग कार्यान्वयन गर्न नमानेपछि पार्टीका अन्य कामहरु पनि प्रभावित बनेका हुन्।

दाहालको माग कार्यान्वयन गर्न आफूले प्रधानमन्त्री या पार्टी अध्यक्षबाट बाहिरिनुपर्ने भएकाले ओलीले त्यसमा असहमति जनाउँदै आएको उच्चस्रोतको दाबी छ।

यस्तै आफु अल्पमतमा पर्ने डरका कारण पार्टीको तल्लो तहमा पनि उनी उक्त माग कार्यान्वयन गर्ने पक्षमा छैनन्।

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेश इन्चार्जको भूमिकामा पनि छन्।

सार्वजनिक कार्यक्रममा आफ्नो पार्टीभित्र कुनै पनि विवाद नभएको दाबी ओलीले गरेपनि दाहालले घुमाउरो पारामा पूर्व सहमतिअनुसार आधासमयपछि ओलीले कि प्रधानमन्त्री कि पार्टी अध्यक्ष पद छोड्नु पर्ने अभिव्यक्ति दिँदै आएका छन्।

दुई अध्यक्षको आन्तरिक विवादले पार्टीको महत्वपूर्ण काम, पोलिटव्युरो गठन, केन्द्रीय सदस्यको कार्याविभाजन, विभागीय प्रमुखहरुको नियुक्ति लगायतका काम ठप्प भएका छन्।

ओलीले शुक्रबार पार्टीमा नवप्रवेशीहरुलाई स्वागत कार्यक्रममा पार्टीभित्र कुनै पनि मतभेद नरहेको भन्दै असार महिनाभित्र पार्टी एकताका सम्पूर्ण काम सम्पन्न हुने भन्दै पार्टी पंक्तिलाई आश्वस्त पार्ने कोशिस गरेका थिए ।

तर संसदीय दलको बैठकमा भने आफुलाई सांसदहरुले सहयोग नगरेको भन्दै उनीहरुको आलोचना गरेका थिए।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू