पर्सामा १० प्रतिशत मात्र रोपाइँ

वीरगञ्ज– समयमै पानी नपर्दा पर्सा जिल्लामा अहिलेसम्म १० प्रतिशत मात्र धान रोपाईँ भएको छ।

असार सकिन लाग्दासमेत पर्सामा हालसम्म १० प्रतिशत मात्रै रोपाईँ भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले जानकारी दिए। ‘अहिलेसम्म ५० देखि ६० प्रतिशतसम्म रोपाईँ हुनुपर्ने हो’, यादवले भने, ‘तर पानी नपरेकोले १० प्रतिशतमात्रै रोपाईँ भएको छ।’

पर्सामा सिँचाईको सुविधा नहुँदा किसानहरु आकाशेपानीको भर पर्नुपर्ने बाध्यता छ। पानी नपर्दा दमकलको पानीले बिउ छरेको वीरगञ्ज महानगरपालिकाका किसान लालजी पासवानले बताए।

उनले अहिले ब्याडमा राखेको बिउ तयारी अवस्थामा रहेको भएपनि पानी नपरेकोले रोपाई गर्न नसकिएको बताए। ‘यस वर्ष बिउ छर्ने बेलामा पनि पानी नपरेकाले दमकलबाट पानी लगाएर ब्याडमा बिउ छरियो’, पासवानले भने, ‘अहिले रोपाईको बेलामा पनि पानी परेको छैन।’

पैसा हुनेले दमकलबाट पानी ल्याएर राेपाईँ गरेको र नसक्ने किसानले आकाश हेरेर बस्नु परेको पासवानले बताए।

पर्सामा कुल ४५ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। उक्त क्षेत्रफलमा गत वर्ष जिल्लामा २७ लाख २ हजार २ सय ५० मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्र पर्साले जनाएको छ।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू