फेसबुकमा गाँसिएको मित्रतापछि युवतीलाई जबर्जस्ती

साङ्केतिक तस्बिर।

मोरङ– समाजिक सञ्जाल फेसबुकमा गाँसिएको मित्रताका कारण मोरङको उर्लाबारीमा एक युवती बलात्कारको शिकार भएकी छिन्।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डिएसपी घनश्याम श्रेष्ठका अनुसार इलामको चुलाचुली घर भई उर्लाबारीमा बसोबास गर्दै आएका २१ वर्षीय संगम राईले फेसबुकमा चिनजान भएको आधारमा २१ वर्षीया युवतीको बलात्कार गरेका हुन्।

गत शुक्रबार राति करिब ९ बजे खेतमा काम गरेर फर्कदै गरेको अवस्थामा राईले युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार बलात्कार गरेर युवतीलाई घाइते बनाएपछि राई घटनास्थलबाट फरार बनेका थिए।

घाइते अवस्थामा युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको टोली र स्थानीयबासीले उद्धार गरेका थिए। प्रहरीका अनुसार, पीडित युवतीको टाउको र शरीरका विभिन्न भागमा चोट रहेको थियो।

घटनास्थलबाट फरार रहेका राईलाई पक्राउ गरेर आइतबार जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए। घटनापछि पीडित युवती मानसिक रुपमा विक्षिप्त रहेको प्रहरी प्रवक्ता श्रेष्ठको भनाइ छ।

प्रहरीले घटनास्थलबाट दुवै जनाले प्रयोग गर्ने मोबाइल, चप्पल र केही कपडाहरु बरामद गरेको छ।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्