अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्षसहित आठ जना धरौटीमा छुटे

धनगढी– गोदावरी नगरपालिकाको नगरसभा उद्घाटन कार्यक्रममा अभद्र व्यवहार गरेको भन्दै मेयर हरिसिंह साउँदले दिएको उजुरीको आधारमा असार १८ गते पक्राउ परेका अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटा सहित आठ जना धरौटीमा छुटेका छन्।

नगरसभा उद्घाटनमा अवरोध पुर्‍याउने उद्देश्य सहित पटक–पटक अभद्र व्यवहार गरेको भन्दै मेयर साउँदले उनिहरुका विरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा दायर गरेका थिए। उनीहरुलाई असार १८ गते पत्रकार सम्मेलन स्थलबाटै प्रहरीले पक्राउ गरेको थियो।

विज्ञापन

उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटा सहित ८ जनाबाट जनही ७ हजार धरौटी माग गर्दै आइतबार जिल्ला प्रशासन कार्यालयले उनिहरुलाई थुना मुक्त गरेको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए।

अब उनीहरुले तारेखमा मुद्दा लड्नु पर्नेछ। प्रमुख जिल्ला अधिकारी बोहराले पक्ष र विपक्ष दुवै समुहमाथि आवश्यक छानविन गरी सत्य तथ्यका आधारमा फैसला गरिने बताए। तर प्रशासनले गरेको फैसलामा चित्त नबुझेको खण्डमा भने दुवै समुहले जिल्ला अदालतमा पुनरावेदन गर्न सक्ने प्रमुख जिल्ला अधिकारी बोहराले बताए।

असार २२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्