७३ औँ जन्मोत्सव मनाउने भव्य तयारी भइरहँदा पूर्वराजा निर्मल निवास बाहिर

काठमाडौँ – पूर्वराज ज्ञानेन्द्र शाह आफ्नो ७३ औँ जन्मोत्सवका दिन निर्मल निवासमा नरहने बुझिएको छ ।

राजसंस्थाका पक्षधरहरुले जन्मोत्सव मनाउन मुल समिति गठन गरी विविध कार्यक्रमको तयारी गरिरहँदा जन्मदिनको पूर्वसन्ध्यामा पूर्वराज शाह तथा पूर्व रानी कोमल शाह उक्त दिन निर्मल निवासमा नरहने गरी अन्यत्र गएको बुझिएको छ ।

यसबारे आधिकारिक रुपमा निर्मल निवास स्रोतले केही नभनेता पनि पूर्वराजा तथा रानी फर्पिङ्गमा रहेको बुझिएको छ । जनमोत्सव आयोजक मुल समारोह समितिका अनुसार समितिका पूर्व निर्धारित कार्यक्रममा केही परिवर्तन हुने छैन ।

मुल समारोह समितिका अध्यक्ष द्वारिकामान सिंहले भने, ‘सोमबार बिहान ९ बजे कमलादी गणेशथानमा पूर्वराजाको सुस्वास्थ्य तथा दीर्घायु र मुलुकमा शान्तीका लागि पूजाअर्चनापछि निर्मल निवासमा गइ उहाँको सचिवालयमा अभिनन्दन पत्र बुझाउने छौँ । र बेलुका पाँच बजे सोही मन्दिरमा पूजाआजासहित कार्यक्रम विसर्जन हुनेछ ।’

११ वर्षअघि नारायणहिटी त्यागपछि पनि उनका अनुयायीहरुले हरेक वर्ष असार २३ गते उत्साहका साथ जन्मदिन मनाउँदै आएका थिए । यद्यपि २०७२ सालमा भूकम्प र प्राकृतिक प्रकोपका कारण जन्मदिन मनाएका थिएनन् ।

सबै तयारी भइसकेको अवस्थामा अचानक निर्मल निवासमा नरहने निर्णय पूर्वराजाले किन लिए यसबारे समिति तथा निर्मल निवास सचिवालयले केही भन्न चोहन ।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू