कोनमेबोलको प्रतिक्रिया

मेस्सीले प्रतियोगिताकै अपमान गरे

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले दक्षिण अमेरिकी फुटबलको प्रशासकीय निकायमाथि लगाएको भ्रष्टाचारको आरोप आधारहिन रहेको कोपा अमेरिका फुटबलको आयोजक दक्षिण अमेरिकन फुटबल कनफेडेरेसन (कोनमेबोल) का पदाधिकारीले बताएका छन् ।

मेस्सीले आधारहिन आरोप लगाएर कोनमेबोलप्रति अपमान गरेको वक्तव्यमा भनिएको छ । ब्राजिलमा भएको कोपा अमेरिका फुटबल अन्तर्गत शनिबार राति तेस्रो स्थानका लागि चिलेसँग भएको प्ले–अफ खेलको क्रममा अर्जेन्टिना २–१ ले विजयी भएको थियो ।

सो खेलमा अर्जेन्टिनाका कप्तान मेस्सीले चिलेका ग्यारी मेडेल खेलको ३७ औँ मिनेटमा सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । रातो कार्ड पाएका मेस्सीले कोनमेबोल भ्रष्ट रहेको र उनीहरुकै मिलेमतोमा रेफ्रीसहितको सहयोगमा आयोजक ब्राजिलका लागि उपाधि ‘फिक्स’ गरेको आरोप मेस्सीले लगाएका थिए ।

अर्जेन्टिनाको फुटबल एसोसिएसनले पनि रेफ्रीले गम्भीर गल्ती गरेको उजुरी गरेको थियो । मेस्सीले खेलपछि भनेका थिए, ‘हामी यो भ्रष्ट प्रक्रियाको अंश बन्नु आवश्यक छैन । उनीहरुले यो प्रतियोगिताभर हामीप्रति कुनै सम्मान दर्शाएनन् । दुःखको कुरा, भ्रष्टाचार तथा रेफ्रीहरुले दर्शकलाई फुटबलको मजा लिन दिएनन्, उनीहरुले केही हदसम्म प्रतियोगितालाई नै नष्ट गरे ।’

मेस्सी तेस्रो भएको मेडल लिनका लागि समरोहमा सहभागी भएका थिएनन् ।

कोनमेबोलले मेस्सीको गम्भीर आरोपपछि वक्तव्य निकालेर त्यसको खण्डन गरेको हो । वक्तव्यमा मेस्सीको नाम उल्लेख नगरी भनिएको छ, ‘प्रतियोगिताको आधाभूत स्तम्भ नै स्वच्छ खेल, विश्वास र आदर हो । आधार बिहीन आरोपले कोपा अमेरिकाको अखण्डतालाई चुर गर्ने प्रयास गरेको छ । यस्ता आरोपले प्रतियोगितामाथिको अपमानलाई दर्शाउँछ । यसले सबै खेलाडी र पदाधिकारीको पनि अपमान गरेको छ ।’

पेरुलाई ३–१ ले पराजित गर्दै आयोजक ब्राजिलले नवौँ पटक कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्