विष्णु रिमालको ट्वीटमा रामकुमारी झाँक्रीको टिप्पणी

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले निम्नस्तरको भाषा शैली प्रयोग गरेकाप्रति गम्भीर निन्दा गरेकी छन् ।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार रिमालले आइतबार बिहानै सरकारका आलोचकहरुलाई लक्षित गरी ‘छौँडा’ शब्दको प्रयोग गरी ट्वीट गरेका थिए ।

विज्ञापन

सांसद झाँक्रीले सोमबार बिहान रिमालको सो ट्वीटको जवाफ दिएकी छन् । उनले व्यंग्यात्मक र आलोचनात्मक रुपमा सो ट्वीट राज्यसत्ताको केन्द्रमा रहेका व्यक्तिको रुपमा उत्कृष्ट ट्वीट रहेको उल्लेख गरेकी छन् ।

रिमालको ट्वीट सत्ताको सामाजिक चरित्रको ऐना रहेको सांसद झाँक्रीले आफ्नो ट्वीटमा उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘सत्ता कसरी कता जाँदैछ ? अनुमान लगाउन लोकलाई गाह्रो पर्ने छैन अब ।’

उनले आफूले धेरै पहिले पढेको लोककथा ‘द इम्पेरस् न्यु क्लोथ्स्’ सम्झिएको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘सो कथा आज सम्झँदैछु, सत्ता र उन्माद कस्तो हुन्छ भनेर ?’

छौँडा शब्द प्रयोग गरेर विष्णु रिमालले गरेको सो ट्वीटको सर्वत्र आलोचना भइरहेको छ ।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्