संसदीय सुनुवाई समितिमा प्रधानमन्त्री नआएको विषयमा विवाद

फाइल तस्बिर

काठमाडौँ – संसदीय सुनुवाई विशेष समितिले बोलाउँदा पनि प्रधानमन्त्री केपी शर्मा ओली नआएको भन्ने विषयमा समितिको सोमबारको बैठकमा विवाद भएको छ ।

नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले समितिले बोलाउँदा पनि प्रधानमन्त्री नआएको विषयमा सोधेका थिए । ‘संसदीय समितिलाई उपेक्षा गर्ने काम लगातार भइरहेको छ । प्रधानमन्त्रीलाई बोलाउने निर्णय यसअघि नै भएको थियो । उहाँ किन आउनु भएन ? यसरी उहाँले उपेक्षा गरिरहनु हो भने हामी बैठकमा आइरहनुको औचित्यदेखिँदैन । यस्तै हो भने म बैठकमा आउँदिन ।’

संवैधानिक परिषदबाट सिफारिस भएका विषयहरु विवादित भएको र समावेशी नहुने गरेको भनेर आलोचना बढ्दै गएका बेला सुनुवाई समितिले यसबारे छलफल गर्न प्रधानमन्त्री ओलीलाई बोलाउने निर्णय यसअघि नै गरेको थियो । तर अहिलेसम्म उनी समितिको बैठकमा गएका छैनन् । कांग्रेस सांसद प्रधानले समितिको सो निर्णय कार्यान्वयन गर्नु पर्ने बताएका हुन् ।

यस्तै समाजवादी पार्टी नेपालका सांसद राजेन्द्र श्रेष्ठले सरकारले संसदीय समितिको निर्देशन नमान्ने र त्यसविरुद्ध खुलेआमा बोल्ने क्रम बढेको भन्दै यसबारे प्रधानमन्त्री ओलीसँग छलफल गर्ने निर्णय कार्यान्वयन हुनु पर्ने बताए । उनले भने, ‘लोकसेवा आयोगको विज्ञापनका सम्बन्धमा राज्यव्यवस्था समितिले गरेको निर्णय विवादमा प¥यो । सरकारले संसदीय समितिलाई उपेक्षा गरेको छ । मन्त्रीहरु नै यसका विरुद्ध लागेका छन् ।’

सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीलाई समितिले बोलाएको थाहा रहेको र उनले आउँछु भनेको बताए । सभापति कर्णले भने, ‘हामीले उहाँलाई बोलाएका छौँ । आउँछु भन्नु भएको छ । उहाँले आउँछु भनेपछि अन्यथा सोच्नु हुँदैन । इन्कार गर्नु भएको छैन ।’

तर नेकपाकी सांसद निरु पालले भने प्रधानमन्त्री ओलीलाई समितिमा बोलाउन आवश्यक नै नरहेको बताइन् । प्रधानमन्त्री ओलीको नजिककी पालले भनिन्, ‘सरकारले गल्ती गरेको भए सच्याउने अधिकार छ समितिसँग छ । पहिलो पनि गरेको हो । उहाँलाई बोलाउन आवश्यक छैन ।’

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्