अष्ट्रेलियाका प्रस्तावित राजदूतलाई र्‍याखर्‍याख्ती- अमेरिकाको ग्रिनकार्ड छ?

काठमाडौँ-  संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाललाई अधिकांश सांसदहरुले एउटै प्रश्न सोधे- तपाईँमाथि अमेरिकाको ग्रिनकार्ड लिएको आरोप छ। यो के हो?

जवाफमा नेकपा अध्यक्ष पुष्पकमल दाहालका भतिजा तथा कांग्रेस कोटाबाट नेपाल टेलिभिजनका अध्यक्ष भइसकेका दाहालले आफूले अमेरिकाको ग्रिनकार्ड नलिएको स्पष्ट पारे।

सांसदहरुले नेपालको संवैधानिक व्यवस्था र स्थापित प्रचलनले विदेशको बसोबास अनुमतिपत्र लिएकालाई राजदूत नियुक्ति दिन नमिल्ने भन्दै दाहाललाई ग्रिनकार्डबारे स्पष्ट पार्न भनेका थिए।

जवाफमा उनले भने, ‘म अहिलेसम्म चारपटक अमेरिका गएको छु। एक महिनाभन्दा बढी कहिल्यै बसेको छैन। मेरो र परिवारको ग्रिनकार्ड त परको कुरा, हामीले ग्रिनकार्ड अप्लाइसम्म गरेको छैन।’

उनका अनुसार उनकी श्रीमतीले भने अमेरिका भ्रमणका क्रममा त्यहाँ नै नर्सिङको पढाइ थालेको र पढाइ सकेपछि वर्क परमिट लिएर रजिस्टर्ड नर्सका रुपमा काम गरिरहेकी छन्।

उनले आफू र आफ्नो परिवारको विदेशमा बस्ने सोच नभएको पनि स्पष्ट पारे।

उनले आफ्नो ग्रिनकार्ड पुष्टि भए पद त्याग गर्न तयार रहेको पनि सुनुवाइ समितिमा स्पष्ट पारे।

सुनुवाइ समितिमा यसअघि बंगलादेशका लागि प्रस्तावित वंशिधर मिश्र र कतारका लागि प्रस्तावित नारदनाथ भारद्वाजलाई सांसदहरुले प्रश्न गरेका थिए।

दाहालको सुनुवाइपछि स्पेनका लागि प्रस्तावित ३४ वर्षीया दावा फुटुङ शेर्पाको सुनुवाइ चलिरहेको छ। शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन्।

 

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्