बिराटनगरमा विषादी परीक्षण प्रयोगशाला, केही दिनभित्र आयातित वस्तु परीक्षण गर्न सकिने

तरकारीमा विषादी परीक्षण गरिँदै। तस्बिर-अभयकुमार राइ

मोरङ-भारतबाट आयतित हरियो सब्जी, तरकारी तथा फलफूलको विषादी परीक्षणका लागि बिराटनगरमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सञ्चालनमा आएको छ।

गत असार पहिलो साता नेपाल सरकारले राजपत्रमा तरकारी तथा फलफूल आयातमा विषादी परीक्षण गर्नु पर्ने प्रावधान राखेसँगै आलोचना सुरु भएको थियो।

निर्धारित र निश्चित स्थानमा प्रयोगशाला नहुदाँ सरकारको आलोचना भएसंगै, प्रदेश एक भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको बाली संरक्षण प्रयोगशालाले बिराटनगरमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला सुरु गरेको हो।

यसअघि प्रदेश एकमा पूर्वको विर्तामोडमा मात्र प्रयोगशाला रहेको थियो। जसका कारण विराटनगर भन्सारबाट भित्रिने बस्तुको विषादी मापनका लागि झंझटिलो र समय बढी लाग्ने गुनासोसँगै प्रदेश सरकारले प्रयोगशालालाई अघि बढाएको हो।

प्रदेश एकस्थित सो मन्त्रालयका सचिव हस्तबहादुर विष्टका अनुसार करिब २५ लाख रुपैयाको लगानीमा सञ्चालनमा ल्याइएको प्रयोगशालामा संघीय सरकारले भारतबाट आयातित तराकारी तथा फलफुलको परीक्षण गर्न अनुमति दिएको खण्डमा काम गर्न सकिने बताए।

सचिव विष्टका अनुसार सो प्रयोगशाला सञ्चालनका लागि काठमाडौंबाट आएका प्राविधीक टोलीले तीनदिनसम्म ल्याब परिक्षण तथा प्राविधीकहरुलाई तालिम दिएका थिए।

प्रयोगशाला सञ्चालनको पहिलोदिन तरकारी र फलफुल आयात नभएको बाली संरक्षण अधिकृत मुकेश यादवले बताए। अधिकृत यादवका अनुसार क्वारेन्टाइनसंगको समन्वयमा प्रयोगशालाले केहीदिनमै आफ्नो कार्य सुरु गर्नेछ।

विगत केहीदिन अघिदेखि सोमबारसम्म काठमाडौंको प्राविधीक टोलीसँग प्रयोगशालामा बिराटनगर बजारमा उपलब्ध तरकारी तथा फलफुलको परिक्षण गरिएको उनले बताए। सो परिक्षणका क्रममा खासै खराब नतिजा नआएको अधिकृत यादवले जानकारी दिए।

त्यसैगरि, शिव ट्रेडिङ्सका सञ्चालक गणेश भगतले बिराटनगरमै विषादी मापन हुने भएपछि आयातमा सहजता हुने बताए। विषादीमापन प्रयोगशाला मुलुकको सात स्थानमा रहेको भएपनि प्रदेश सरकारले सञ्चालनमा ल्याएको भने यो पहिलो प्रयोगशाला हो।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू