सुदूरपश्चिम प्रदेशको बजेटमा सत्ता पक्षकै सांकेतिक विरोध, सांसदहरुले छलफलमा भाग लिएनन्

धनगढी- सुदूरपश्चिम प्रदेश सभामा सोमबारदेखि आगामी आर्थिक बर्षका लागि पेश भएको बजेटमाथि छलफल प्रारम्भ भएको छ। तर बजेटको विरोध गरेर हस्ताक्षर संकलन गरेका सत्तापक्षीय प्रदेश सभा सदस्यहरुले सांकेतिक विरोध गर्दै छलफलमा भाग लिन नमानेपछि नेकपाका प्रमुख सचेतक तारा लामा तामाङ आफैले पहिलो दिन बजेट माथिको छलफमा भाग लिए।

प्रदेश सभाको कार्य व्‍यवस्था परामर्श समितिका सदस्य समेत रहेका सत्तापक्षीय प्रमुख सचेतक तामाङले टेलिफोन गरी आफ्नो पार्टीका प्रदेश सभा सदस्यहरुलाई बजेट माथिको छलफमा भाग लिन अनुरोध गरेपनि कोही पनि सोमबारको बैठकमा बोल्न तयार भएनन्। बजेटको विरोधमा हस्ताक्षर नगरेका प्रदेश सभा सदस्यहरु सोमबारको बैठकमा अनुपस्थित रहेका कारण तामाङ आफैले बोल्नु परेको थियो।

प्रदेश सभामा शुरु भएको बजेट माथिको छलफलमा भाग लिदै प्रमुख सचेतक तामाङले प्रदेश सरकार प्रति ब्यंग्य गर्दै कमी कमजोरी सच्याउने भनि प्रतिपक्षसंग सहमति गरेकोले आफुलाई पनि सरकारप्रति आशा नै रहेको बताए।उनले भने–“एकदमै लोकप्रिय सरकारको एकदमै लोकप्रिय बजेट आएको छ, सरकारले सुदूरपश्चिमबासीका चाहनालाई ध्यान दिएको छु भनेको छ, दिएको पनि होला।’

तामाङ बाहेक कुनै पनि सत्ता पक्षीय प्रदेश सभा सदस्यहरुले सोमबारको बैठकमा छलफलमा भाग लिएनन्। त्यसपछि बोलेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य श्यामलाल राना थारुले सरकारले प्रतिपक्षसंग गरेको सहमति अनुसार काम गर्नुपर्ने र रातो किताबमा देखिएका प्राविधिक त्रुटीहरु सच्याउनुपर्ने बताए।

नेपाली कांग्रेसकै प्रदेश सभा सदस्य टेक बहादुर रैका आउजीले सरकार समानुपातिक सांसदलाई सांसद नै नभएको जस्तो ब्यवहार गरेको आरोप लगाए। प्रदेश सभामा बजेट माथिको छलफल निरन्तर रहने र मंगलबार बिहान साढे ८ बजे बाट थप छलफल हुने सभामुख अर्जुन बहादुर थापाले जानकारी दिए।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्