चिनियाँ टोलीले विजयपुरमा एक दिनमै डाइभर्सन बनाइसक्ने

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको आग्रहमा विजयपुर खोलामाथि मंगलबार डाइभर्सन बन्ने भएको छ।

पोखरा अन्तर्राष्ट्रिय एयरपोर्ट निर्माणमा जुटेका चिनियाँहरुले मुख्यमन्त्रीको आग्रहमा १ दिनमै डाइभर्सन बनाउने भएका हुन्।

विज्ञापन

आइतबार राति बगेको डाइभर्सन भएकै ठाउँमा अझै बलियो बाटो बनाउन सोमबार रातिदेखि नै सामान झार्न सुरु गर्ने चिनियाँ अधिकारीले मुख्यमन्त्रीलाई वचन दिएका छन्।

मुख्यमन्त्रीले सोमबार साँझ विजयपुर पुगी बगेको डाइभर्सनसमेत अवलोकनसहित चिनियाँहरुसँग कुराकानी गरेका थिए।

मुख्यमन्त्री गुरुङले बेलिब्रिज बन्न सोचेभन्दा अझै समय लाग्ने देखिएको हुँदा तुरुन्तातुरुन्तै डाइभर्सन बनाउन आग्रह गरिएको बताए।

एयरपोर्टको चिनियाँ निर्माण कम्पनीका प्रोजेक्ट कोअर्डिनेटर अभिषेक उलकले मंगलबार एकाबिहानैबाट काम सुरु गर्ने जानकारी दिए।

मंगलबार साँझसम्म तयार पारिने भनिएको डाइभर्सन टिकाउ पनि हुने उनले बताए। ‘सेती नहरबाट विजयपुर खोलामा मिसिएको पानी घटाएर काम सुरु गर्छौं,’ उनले भने।

पृथ्वीराजमार्ग हुँदै मुख्य पोखरा बजार भित्रिने एकमात्र प्रवेशद्वार विजयपुरमा स्टिलब्रिज (पुल) जीर्ण बनेपछि बनाइएको डाइभर्सन बाढीले बगाएको थियो ।

आइतबार राति वर्षाका कारण खोलामा पानीको बहाब बढेपछि ह्युमपाइम राखी बनाइएको डाइभर्सनले थेग्न नसक्दा बाढीले बगाएको हो ।

जीर्ण पुलबाट १० टनभन्दा माथिको मालवाहक गाडी आउजाउ गर्न ४ महिना अघिदेखि रोक लगाइएको छ । अस्थायी रुपमा डाइभर्सन गरी पोखरा बजार प्रवेश गर्न सहज बनाइएको थियो ।

डाइभर्सन बगाएपछि अहिले सयौंको संख्यामा कोत्रेदेखि तल्लो गगनगौ‌ंडासम्म दिनभर मालवाहक गाडी रोकिएका छन् ।

ठूलो पानी नपरे पनि खोलामा आएको बाढीका कारण डाइभर्सन नै बगाएपछि अब बेलिब्रिजकै काम छिटो गर्न ठेकेदारलाई भनिएको सडक डिभिजन पोखराका प्रमुख हरिकुमार पोखरेलले बताए ।

मालवाहक गाडीलाई वारपार गराउन इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस ललितपुरका विज्ञसँग सल्लाह गरिसकेको बताउँदै डिभिजन प्रमुख पोखरेलले मालवाहक सवारीलाई रातको समयमा १ पटकमा एउटा पास गराउन सकिने सुझाव पाएको बताए ।

उनले भने, ‘राति ८ बजेपछि सवारी चाप कम भएको बेला ठूला मालवाहक सवारीलाई पुलमाथि एउटा सवारीमात्रै चाप पर्ने गरी १ पटकमा एउटा पास गराउन सकिन्छ भन्ने राय पाएका छौं,’ स्टिलब्रिज सञ्चालनमा आएको १ दशकमै जीर्ण बनेपछि विकल्पमा सडक डिभिजन पोखराले नै प्रक्रिया अघि बढाएको थियो ।

बेलिब्रिज निर्माणको जिम्मा सगरमाथा/जेजे (जेभी)ले पाएको हो । सडक र ठेकेदार कम्पनीसँग वैशाख २२ गते सम्झौता भएर काम धमाधम भइरहेको छ । आउँदो असार मसान्तभित्रमा नै निर्माण सक्ने गरी ठेकेदार कम्पनीले जिम्मा पाएको थियो ।

तर निरन्तर वर्षाका कारण समयमै बेलिब्रिज निर्माण भइसक्ने लक्ष्य भने पूरा हुने देखिँदैन । हाल बेलिब्रिज राख्ने बेसमेन्ट तयार पार्ने काम अन्तिम चरणमा पुगेको छ ।

बेलिब्रिजका सामग्री भने पूर्वको इटहरीबाट ढुवानी भइरहेको छ । अझै १ साता ढुवानीमै समय लाग्ने डिभिजनका इन्जिनियर बताउँछन् । कम्तीमा १५ दिन फिटिङ गर्न समय लाग्ने उनीहरुको भनाइ छ । २ करोड २० लाख रुपैयाँ लागतमा उक्त कम्पनीले बेलिब्रिजको निर्माण ठेक्का पाएको थियो ।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्