चार राजदूतको संसदीय सुनुवाइ

केके भयो संसदीय सुनुवाइ समितिको बैठकमा?

काठमाडौँ- संसदीय सुनुवाइ समितिमा सोमबार रोचक दृष्य देखियो। चार देशका लागि प्रस्तावित राजदूतलाई सुनुवाइका लागि समितिले बिहान बोलाएको थियो।

राष्ट्रियसभाको बैठकका कारण बंगलादेशका लागि सिफारिस भएका डा. वंशिधर मिश्रको सुनुवाइ गरेर बैठक दिउँसो ३ बजेका लागि सारियो।

बिहानको बैठकमा प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अष्ट्रेलियाका लागि सिफारिस भएर आएका महेशराज दाहालप्रति कडा हुने संकेत गरेको थियो।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजिकका नाता पर्ने महेशराज दाहाल मीनेन्द्र रिजाल सञ्चारमन्त्री हुँदा नेपाल टेलिभिजनको अध्यक्ष नियुक्त भएका थिए । अमेरिकाको ग्रिन कार्ड रहेको भन्दै आरोप खेपिरहेका रहेका दाहाल राजदूत सिफारिस भएको प्रति कांग्रेसका सांसद रुष्ट थिए ।

बिहानको बैठकमा कांग्रेसका भीमसेनदास प्रधानले सरकारले छानबिन नै नगरी विवादित व्यक्तिलाई सिफारिस गरेको भन्दै आपत्ति जनाए ।

उनले यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएर सोधपुछ गर्ने समितिको यसअघिको निर्णय कार्यान्वयन गर्न माग गरे । प्रधानबाहेक कांग्रेस अरु तीनजना सांसदहरु पनि दाहालप्रति सकारात्मक थिएनन् ।

नेकपाका केही सांसदहरु पनि दाहाललाई तत्कालै अनुमोदन गर्ने मनस्थितिमा थिएनन् । नेकपाका सांसदहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, पूर्णकुमारी सुवेदीलगायतले सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा बसेर छलफलसमेत गरेका थिए । छलफलबाट उनीहरुले ग्रिन कार्ड प्रकरणबारे छानबिन गर्ने निष्कर्ष निकालेका थिए ।

दिउँसो फेरि बैठक बसेर जब दाहालको सुनुवाइ भयो तब बिहान दाहालको पक्षमा नकारात्मक भएका कांग्रेस सांसदहरु उनकै पक्षमा दह्रोसँग उभिए । दाहालले आफ्नो र श्रीमतीको अमेरिकाको ग्रिन कार्ड रहेको भन्दै सांसदले सोधेको प्रश्नको सप्रमाण खण्डन गरे ।

उनको खण्डनपछि पनि नेकपाका ओलीनिकट बाहेकका सांसद उनलाई सोमबार नै अनुमोदन गर्न नहुने र ग्रिन कार्डबारे छानबिन गर्नुपर्ने धारणा राखे ।

पत्रकारलाई बैठक कक्षबाट बाहिर निकालेर गरिएको उक्त छलफल त्यही विवादका कारण पौनेघण्टा लम्बियो । स्रोतका अनुसार बिहानको बैठकमा दाहालप्रति सकारात्मक नदेखिएका कांग्रेसका सांसदहरु नै दाहाललाई सोमबार नै अनुमोदन गर्ने पक्षमा देखिए ।

उता नेकपाका सांसदहरु भने दुई कित्तामा विभाजित भए । बिहान गोप्य छलफल गरेका सांसदहरु थप छानबिनको पक्षमा भए पनि अन्त्यमा समितिले दाहालसहित चारै जनाको नाम सर्वसहमत रुपमा अनुमोदन गर्‍यो।

सरकारले बंगलादेशका लागि डा. वंशिधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावा फुटुङ शेर्पाको नाम पठाएको थियो ।
सुनुवाइ समितिबाट अनुमोदन भएका चारै जनाको सम्बन्धित देशबाट एग्रिमो आएपछि राष्टपतिबाट नियुक्ति हुनेछ ।

प्रस्तावित व्यक्तिहरु समिति समक्ष आफूले गर्ने कामको विवरणसहितको प्रतिबद्धता पत्र बोकेर समिति समक्ष पुगेका थिए ।

सभापति लक्ष्मणलाल कर्णले पटक पटक ‘अरु नयाँ केही भए भन्नुहोस् लेखिएको कुरा हामी आफैँ पढ्छौं’ भनेर उनीहरुलाई बीचबीचमा रोक्नुपरेको थियो।

प्रस्तावित राजदूतहरुले आफू जाने देशको क्षेत्रफल, जनसंरख्या, बोलिने भाषा, नेपालले कुटनीतिक सम्बन्ध स्थापित गरेको मिति, त्यस देशले राजनीतिक स्वतन्त्रता प्राप्त गरेको मिति जस्ता लोकसेवा आयोग दिने परीक्षार्थीले घोकेका जानकारीलाई जोडतोडका साथ प्रस्तुत गरे ।

अष्ट्रेलियाका लागि अनुमोदन भएका राजदूत महेशराज दाहालले यसअघि राज्यमन्त्री र सांसद को को अष्टेलिया भ्रमणका गएका थिए त्यसको विवरण पनि पेश गरे।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्