असार २७ गते शितल निवासमा राष्ट्रिय चलचित्र पुरस्कार’

शितल निवास। फाइल तस्बिर।

काठमाडौं-चलचित्र विकास बोर्डले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा असार २७ गते ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ समारोह आयोजना गर्ने भएको छ। दुई वर्षपछि हुन लागेको उक्त कार्यक्रम यसपटक राष्ट्रपति भवन शितल निवासमा गरिने भएको छ।

पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने बोर्डका अध्यक्ष केशव भट्टराईले जानकारी दिए। यसपटक ‘राष्ट्रिय चलचित्र पुरस्कार’बाट ३१ जना तथा ‘दीर्घसाधना सम्मान’बाट तीन जनालाई पुरस्कृत गरिने छ।

राष्ट्रिय चलचित्र पुरस्कारतर्फ हरेक विधाको पुरस्कार राशि रु २५ हजार तथा दीर्घसाधना सम्मानको पुरस्कार राशि रु तीन लाख ५१ हजार रहेको अध्यक्ष भट्टराईले बताए। आगामी वर्षदेखि सो पुरस्कारको राशि जनही रु ५१ हजार पुर्‍याइने बोर्डद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त कार्यक्रम विविध कारणले २०७४ र २०७५ सालमा हुन सकेको थिएन। यसपटक समारोहमा २०७३, २०७४ र २०७५ को राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधनासम्मान प्रदान गरिने बताइएको छ।

नृत्य निर्देशक वसन्त श्रेष्ठ, राजु शाह र कविराज गहतराजले नृत्य प्रशिक्षण दिइरहनुभएको छ भने उक्त समारोहमा कलाकार सरोज खनाल, गौरी मल्ल, सनी रौनियार, रमेश उप्रेती, दिलीप रायमाझी, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, रेजिना उप्रेतीलगायतले नृत्य प्रस्तुत गर्ने कार्यक्रम छ।

यस्तै केदार घिमिरे, पुष्प खड्का, नीता ढुङ्गाना, पवित्रा आचार्य, बिमला केसी, छुल्ठिम गुरुङलगायत कलाकारको समेत सो समारोहमा प्रस्तुति रहने बोर्डले जनाएको छ।

असार २३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्