नेइमार र क्लबबिचको सम्बन्ध तनावमा, उपयुक्त कदम चाल्ने पिएसजीको चेतावनी

स्टार स्ट्राइकर नेइमार र उनको क्लबबिचको सम्बन्ध तनावको अवस्थामा पुगेको छ । फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का ब्राजिलियन खेलाडी नेइमारले क्लब छोड्न चाहेको बताइरहेका बेला तनाव उत्कर्षमा पुगेको हो ।

नेइमार प्रि–सिजन प्रशिक्षणका लागि उपस्थित भएनन् । पहिलो दिनको प्रशिक्षणमा उपस्थित नभएका नेइमारका सम्बन्धमा आवश्यक कदम चालिने पिएसजीले जनाएको छ । २७ वर्षका नेइमार सोमबार क्लबको प्रशिक्षण मैदानमा उपस्थित हुनु पर्ने थियो ।

पिएसजीले वक्तव्य जारी गरेर भनेको छ, ‘नेइमार पूर्व सहमति अनुसारको समय र स्थानमा उपस्थित भएनन् । क्लबको अनुमति बिना यस्तो भएको हो । क्लब यस्तो अवस्थाप्रति खेद प्रकट गर्दछ ।’

दुई वर्षअघि बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा पिएसजी आएका नेइमार पुनः बार्सिलोना नै फर्किन चाहन्छन् । बार्सिलोनाले पनि नेइमार फर्किन चाहेको बताएको छ ।

तर पिएसजीले उनलाई क्लब छोड्न दिने अवस्था नरहेको पनि बार्सिलोनाले जनाएको छ । समाचारहरुमा भने नेइमारका लागि पिएसजीले ठूलो रकम तय गरेको र बार्सिलोना त्यसका लागि तयार नरहेको उल्लेख गरिएका छन् ।

पिएसजीका स्पोर्टिङ्ग डाइरेक्टर लियोनार्डोले ला पेरिसिएनसँगको अन्तर्वार्तामा भनेका छन्, ‘नेइमारले पिएसजी छोड्न सक्छन्, तर त्यसका लागि सबैलाई उपयुक्त हुने प्रस्ताव चाहिन्छ ।’

बार्सिलोनाबाट हालसम्म ठोस कुराकानी नभएको उनले बताएका छन् । उनले भने, ‘अहिलेसम्म नेइमारलाई कसैले लैजान चाहन्छ वा कति मूल्य तिर्न तयार छन् भन्ने थाहा छैन । पिएसजी रहन चाहने खेलाडीहरुमा भर गर्न चाहन्छ ।’

नेइमारका पिताले भने यसअघि नै गरिएको च्यारिटी कमिटमेन्टका कारण नेइमारले सोमबारको प्रशिक्षण गुमाउने कुरा पिएसजीलाई थाहा रहेको बताएका छन् ।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्