इन्जुरी समयमा उपहार गोल पाए पनि घाना जोगिन सकेन

घानालाई टाइब्रेकरमा पराजित गर्दै ट्युनिसियाले अफ्रिका कप अफ नेशन फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । इजिप्टमा जारी प्रतियोगिता अन्तर्गत सोमबार राति भएको अन्तिम १६ को खेलमा निर्धारित र थप गरिएको समयको खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरका आधारमा लिइएको हो ।
ट्युनिसियाले जितिसकेको खेल अन्तिम समयमा आफ्नै कारणले घानालाई गोल उपहार दिँदै अतिरिक्त समयमा धकेलिएको हो । ७३ औँ मिनेटमा खेनिसीको गोलबाट ट्युनिसियाले अग्रता लिएको थियो ।
तर इन्जुरी समयको पहिलो मिनेटमा ट्युनिसियाका बेडोउइले आत्मघाती गोल गरेपछि घानाका लागि अवसर आएको थियो । तर त्यसपछि गोल हुन सकेन र पेनाल्टी सुटआउट भयो । जसमा ट्युनिसिया ५–४ ले विजयी भयो ।
क्वाटरफाइनलमा ट्युनिसियाले पहिलो पटक सहभागी भएको माडागास्करसँग प्रतिस्पर्धा गर्नेछ ।
सोमबार राति नै भएको अर्को खेलमा मालीलाई १–० ले पराजित गर्दै आइभरीकोस्टले अन्तिम ८ मा स्थान पक्का गरेको छ । आइभरीकोस्टको जितमा ७६ औँ मिनेटमा विल्फ्रेड जाजाले गरेको गोल नै निर्णायक बन्यो ।