एक दिवसीय विश्वकप क्रिकेट

विराट कोहलीलाई विश्वास छ यी खेलाडीमा

इंग्ल्याण्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत मंगलबार पहिलो सेमिफाइनल खेल हुँदैछ।

राउण्ड रोबिन चरणमा राम्रो प्रदर्शन गरेको भारतीय टिमले सेमिफाइनलमा साबिक उपविजेता न्युजिल्याण्डको सामना गर्दैछ । अर्को सेमिफाइनल खेल बिहीबार साबिक विजेता अस्ट्रेलिया र आयोजक इंग्ल्याण्डबिच हुनेछ ।

सन् १९८३ र सन् २०११ को विजेता भारतीय टिम विराट कोहलीको कप्तानीमा न्युजिल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । न्युजिल्याण्डको कप्तानी केन विलियम्सनले सम्हालेका छन्।

भारतीय टिमका कप्तान कोहलीले खेल पहिलेको पत्रकार सम्मेलनमा विशेष प्रदर्शन गरेर जित निकाल्ने लक्ष्य रहेको बताए, तर जितको बाटो कठिन रहेको उनले स्पष्ट पारेका छन् ।

कोहलीले भनेका छन्, ‘लिग होस् या सेमिफाइनल वा फाइनल जुनै खेलमा दबाब हुन्छ । भारतका लागि खेल्दा दबाब रहन्छ । यस्तो समयमा खेल जिताउँ भन्ने रहन्छ र त्यसका लागि विश्वास चाहिन्छ।’

ब्याटिङ्गमा तर्फ भारतको सबैभन्दा ठूलो भर जारी विश्वकपमा पाँच शतक प्रहार गरेका रोहित शर्मासँग छ । पछिल्लो खेलमा उनलाई केएल राहुले पनि साथ दिए । उनी लयमा फर्किएको देखिएको छ, जसले श्रीलंकासँगको खेलमा शतक पनि बनाए । शिखर धवन जस्ता विश्वासिला खेलाडी चोटका कारण उपलब्ध नहुँदाको अवस्थामा राहुलले जिम्मेवारी सम्हालेका कारण भारत बलियो देखियो ।

कप्तान कोहलीले राहुलको प्रशंसा गरेका छन् । राहुल उत्कृष्ट खेलाडी रहेको र उनले आइपिएलमा जस्तै न्युजिल्याण्डसँगको खेलमा खुलेर खेल्न सके भारतका लागि सहज हुने कोहलीले बताए । तर पहिलो विश्वकप भएकाले उनलाई ठूलो मैदानमा स्थापित हुन समय लाग्ने बताए ।

कोहलीले आफ्नो टिमको सबैभन्दा बलियो भरोसा बनेका रोहित शर्माप्रति ठूलो आश रहेको बताए । आफ्नो नजरमा शर्मा विश्वको उत्कृष्ट ब्याट्सम्यान रहेको कोहलीको भनाई छ । शर्माले अघिल्ला खेलमा जस्तै सेमिफाइनलमा पनि उत्कृष्ट प्रदर्शन गरे भारतको जित सजिलो हुने बताए ।

विराट कोहली आफै पनि जारी विश्वकपमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले पाँच अर्धशतक बनाएका छन् । तर शतक बनाउन सकेका छैनन् । उनले आफू कुनै खास कीर्तिमानलाई ध्यानमा राखेर नखेको बताएका छन् । आफ्ना लागि सबैभन्दा महत्वपूर्ण कुरा टिम रहेको उनको भनाई छ ।

टिममा आफ्नो भूमिका अवस्था अनुसार फरक हुने उनले बताए । सुरुमै दुई विकेट गएमा आफू टिकेर खेल्नु पर्ने र पहिलो विकेटका लागि ठूलो साझेदारी भएमा तीव्र गतिमा खेल्न सक्ने उनको भनाई छ ।

न्युजिल्याण्डका कप्तान केन विलियम्सनलाई आफूले १९ वर्षमुनिको विश्वकपदेखि चिनेको विराटले बताएका छन् ।

भारत र न्युजिल्याण्डबिचको खेल म्यानचेस्टरमा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे सुरु हुनेछ । म्यानचेस्टरको मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गर्ने टिमलाई फाइदा हुने मानिन्छ ।

कोहलीले महेन्द्र सिंह धोनीप्रति एक खेलाडीका रुपमा निकै सम्मान रहेको बताए र यो मनको कुरा रहेको स्पष्ट पारे । धोनीले भारतको सम्मान बढाएको बताए ।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्