ओली र दाहाल राजनीति प्रतिवेदनको भाषा टुंग्याउने प्रयासमा

फाइल तस्बिर

काठमाडौँ – दुई दिन अघि लामो विमतिपछि सहमति गरेको राजनीतिक दस्ताबेजको भाषा टुंग्याउन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार छलफल गर्दै छन्।

पूर्व सहिमत अनुसार राजनीतिक दस्ताबजेमा जनताको जनवादका आधारमा मेल खाने राख्ने र मेल नखाने वाक्य र शव्दावलीलाई हटाउने प्रयासमा उनीहरु ११ बजे बालुवाटारमा बस्न लागेका हुन्। उनीहरुबाट अनुमोदन भएपछि मात्रै उक्त दस्ताबेजलाई सचिवलाय बैठकले अन्तिरुप दिई छपाईका लागि पठाउने छ ।

स्रोतका अनुसार सचिवालय बैठक २९ गतेका लागि बोलाउने तयारी नेतृत्वले गरेको थियो । एमालेका पूर्व नेता मदनभण्डारीद्धारा प्रतिपादित जनताको बहुदलीय जनवाद ‘जबज’ त्यागेर पूर्व सहमतिअनुसार जनताको जनवादलाईनै अंगिकार गर्न ओली सहमत भएपछि आइतबार दाहालले दस्ताबेजमा सहमति भएको र सोमबार छापिने जानकारी सार्वजनिक रुपमा दिएका थिए।

तर जनताको जनवादका आधारमा के के परिमार्जन गर्ने भन्नेमा उनीहरुबिच सहमति नभएकाले त्यसबारे छलफल गर्न मंगलबार उनीहरुको बैठक हुन लागेको हो । नेकपामा राजनीतिक दस्ताबेजबारे लगभग सहमति भए पनि अन्य विषयमा भने विवाद कायमै छ ।

खासगरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षधरहरुले पार्टीको विधानको ‘एक व्यक्ति एक पद मापदण्ड’ मापदण्ड कार्यान्वय हुनु पर्ने अडान लिँदै आएका छन्। दाहालले पनि त्यसलाई समर्थन गर्दै ओलीलाई उक्त मापदण्ड अनुसार अघि बढ्न दबाब दिएका छन्। तर दाहालको माग कार्यान्वयन गर्न ओलीले प्रधानमन्त्री या पार्टी अध्यक्ष मध्ये एक पद त्याग गर्नु पर्ने हुन्छ ।

स्रोतका अनुसार ओलीले सरकार र पार्टी नेतृत्वबाट बाहिरन चाहेका छैनन् । यस्तै उनले आफू अल्पमतमा पर्ने डरले आफू निकट रहेका मन्त्रीहरुलाई पार्टीको पनि जिम्मेवारी दिने मनस्थिति बनाएका छन्। प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल र गण्डगी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ती प्रदेशको नेतृत्व पनि सम्हालेका छन्।

उनीहरुलाई उदाहरण मान्दै पार्टीका स्थायी कमिटिका अधिकांश सदस्यले एक व्यक्ति एक पद हुनुपर्ने माग गर्दै आएपनि त्यो कार्यान्वयन भएको छैन। नेतृत्वको छलफल राजनीतिक दस्ताबेजमा मात्रै केन्द्रित भएपछि पार्टीको एकीकरणको बाँकी काम अघि बढ्न सकेको छैन।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्