विप्लवका कार्याकर्ताद्वारा वडा कार्यालयमा आगजनी र तालाबन्दी

नेपालगञ्ज – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाकाले बर्दियाका वडा कार्यालयहरुमा आगलागी र तालाबन्दी गरेको छ । वडा कार्यालयमा लागेको आगो निभाउन जादा एकजना प्रहरी निरीक्षक घाइते भएका छन् ।

‘सामाजिक दलाल पूँजीवादी सरकार खारेज गरौं’ भन्ने पर्चा छरेको विप्लव नेकपाले गेरुवा–६, मनाउको वडा कार्यालयमा आगलागी गरेको हो । सोमबार राति सवा १२ बजे वडा कार्यालयमा आगजनी गरेका हुन् । आगोले वडा कार्यालयको प्रशासनिक फाँटको सम्पूर्ण कागजपत्र जलेको छ । आगो निभाउन गएका प्रहरी निरीक्षक यामबहादुर मल्ल घाइते भएका छन् ।

बर्दियाकै गुलरिया नगरपालिका–१२, मोहम्मदपुर र बाँसगढी नगरपालिका–७, डेउढाकलाको वडा कार्यालयमा तालाबन्दी गरेका छन् । विप्लव नेकपाका कार्यकर्ताले राति आएर वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा कार्यालयमा तालाबन्दी गरेपछि उनीहरुले आसपासमा पर्चा फालेर गएका छन् । इलाका प्रहरी कार्यालय, बाँसगढीका इन्चार्ज प्रहरी निरीक्षक बसन्त गौतमले डेउढाकलाको वडा कार्यालयमा राति तालाबन्दी भएको जानकारी दिए । ‘राति तालाबन्दी भएको रहेछ । बिहान थाहा पाइयो ।’ प्रहरी निरीक्षक गौतमले भने ।

सरकारले प्रतिबन्ध लगाएपछि र केही नेतालाई ‘इन्काउन्टर’ गरेपछि आक्रोशित भएको विप्लव नेकपाले संघर्षका गतिविधिहरु गरिरहेको छ ।
छिमेकी जिल्लामा बर्दियामा आगलागी र तालाबन्दी भए पनि बाँकेमा भने कुनै गतिविधि भएको छैन । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डिएसपी प्रकाश सापकोटाले बाँकेमा त्यस्तो कुनै गतिविधि नभएको जानकारी दिए ।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू