हिरासतका थुनुवा गन्ती गर्दा जब प्रहरीको होसहवास उड्यो

काठमाडौं : ललितपुरको भैँसेपाटीस्थित प्रहरी प्रभागमा जावलाखेलस्थित जिल्ला प्रहरी कार्यालयले थुनुवा राख्न नियमित रुपमा लगिरहन्थ्यो। हिरासत कक्षमा अटाएनन् भने नजिकै रहेका सातदोबाटो वृत, सानेपा प्रभाग र भैँसेपाटी प्रभागमा जिल्लाले थुनुवा लग्थ्यो साँझ राख्न।

सोमबार पनि विभिन्न मुद्धाका  २० जना थुनुवालाई भैँसेपाटीमा लगिएको थियो। सँधै झैँ जिल्ला ल्याउनका लागि म‌ंगलबार बिहानै प्रभागको हिरासतबाट थुनुवा निकालिँदै थियो। तर थुनुवाको गन्ती १७ मात्र पुग्यो। हिरासतभित्र हेर्दा कुनै थुनुवा बाँकी थिएनन्।

त्यसपछि भैँसेपाटी प्रभागका प्रहरीको होस् हवास् उड्यो। भित्र पसेर हेर्दा ट्वेलेटभित्रको ग्रिल काटेको भेटियो। अनि प्रहरीले निष्कर्षनिकाल्यो – चोरी डाँका मुद्दाका समसेर माझी  र रुद्रलाल श्रेष्ठ तथा लागु औषध मुद्धाका रविकुमार तिम्सिना हिरासत तोडेर भागेछन्। खबर फैलियो – वृत, जिल्ला, मेट्रो हुँदै हेडक्वाटरसम्म। प्रहरीले भागेका तीनै जनालाई पक्राउ गर्न नसकेपनि खोजी भइरहेको जनाएको छ।

एउटै मुद्दाका प्रतिवादी माझी र श्रेष्ठलाई लगातार दोस्रो दिन भैँसेपाटी प्रभागमा साँझ लगिएको ललितपुर प्रहरीका एक अधिकारी बताउँछन्। ट्वेलेटको ग्रिल काट्ने औजार उनिहरुले कसरी प्राप्त गरे भन्नेमा प्रहरी अचम्मित छ। सोमबार उक्त प्रभागमा लगिएका थुनुवामध्ये माझीका अन्य आफन्त रहेपनि उनिहरुले भने त्यस घटनाबारे आफूलाई केही थाहा नभएको बताएका छन्।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्