ढुवानी सेवामा भ्याट लिए साउनदेखि ट्रक व्‍यवसाय बन्द गर्ने चेतावनी

फाइल तस्बिर

काठमाडौं- ट्रक व्‍यवसायी महासंघले साउनबाट ढुवानी सेवा बन्द गर्ने चेतावनी दिएका छन्।

सरकारले आर्थिक वर्ष २०७६/७७को बजेट ल्याएसँगै साउनबाट ढुवानी सेवामा समेत भ्याट लगाउने भएपछि व्‍यावसायी महासंघले यस्तो चेतावनी दिएका हुन्।

ट्रक व्‍यवसायी संघ विराटनगरका अध्‍यक्ष मेघराज सिग्देलले अर्थ मन्त्रालयले ट्रक व्‍यावसायीहरुलाई अन्‍याय गरेको भन्दै ढुवानी सेवामा समेत कर लगाएकाले बन्द गर्नु परेको बताए।

उनले भने, ‘सरकारलाइ हामीले गाडीको कर तिर्दै आएका थियौँ। तर यो वर्षदेखि ढुवानीमा समेत भ्याटसहितको कर तिर्नु परेपछि हामी मर्कामा परेका छौँ। यसले हाम्रो गरिखाने हातै भाँचिन्छ। सरकारले ढुवानी सेवामा लगाइएको भ्याटसहितको रकम फिर्ता लिनुपर्छ।’

उनले ट्रक व्‍यवसायीहरु आफ्नै रोजगारी गरेर सरकारलाई गाडीको कर नियमित बुझाउँदै आएको तर पनि ढुवानीमा भ्याट लगाएकाले बन्द गर्नुको विकल्प नभएको बताएका छन्।

उनका अनुसार देशभर ५० देखि ५५ हजारको संख्यामा ट्रक व्‍यवसायीहरु छन्।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्