नगरपालिकाका सुब्बा र ईन्जिनियर घुस लिँदैगर्दा पक्राउ

साङ्केतिक तस्बिर

वीरगञ्ज-बाराका पचरौता नगरपालिकाका दुई जना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ।

अख्तियारको टोलीले पचरौता नगरपालिकाका योजना शाखाका नासु बद्रीबहादुर थापा र ईन्जिनियर रामप्रकाश सत्तरालाई घुससहित रंगेहात पक्राउ गरेको हो। अख्तियारको हेटौंडास्थित क्षेत्रिय कार्यालयबाट खटिएको टोलीले थापा र सत्तरालाई २९ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

नासु थापाले सेवाग्राहीसँग योजनाको भुक्तानी टिप्पणी उठाए वापत १४ हजार रुपैयाँ र ईन्जिनियर सत्तराले सेवाग्राहीसँ योजना अनुगमनमा सही गरेवापत १५ हजार रुपैयाँ लिँदै गर्दा उनीहरुलाई पक्राउ गरेको अख्यिार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडाले जनाएको छ।

उनीहरुले सेवागा्रहीसँग घुस माग गरेको सूचनाको आधारमा अख्तियारको टोलीले उनीहरुलाई कार्याकक्षबाटै घुस रकमसहित नियन्त्रणमा लिएको हो।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्