भारतका रोबिन र अमेरिकाका जेफ नेपालीलाई चलचित्र लेख्‍न सिकाउँदै

काठमाडौँ-भारतका रोबिन भट्ट र अमेरिकाका जेफ मोनाहोन पटकथा लेखन सिकाउने भएका छन्। ‘नेपाल फिल्म एन्ड कल्चरल एकेडेमी’ ले चलचित्र विकास बोर्डसँग मिलेर आयोजना गर्न लागेको पटकथा लेखन कार्यशालाका लागि स्रोत व्यक्तिको रुपमा रोबिन र जेफ नेपाल आउने पक्का भएको हो। एकेडेमीका अध्यक्ष केपी पाठकले भदौमा हुने कार्याशालाका लागि दुवैजना नेपाल आउन तयार रहेको जानकारी दिए।

७२ वटा बलिउड फिल्म लेखेका रोबिन भट्ट महेश भट्टका नातेदार हुन् । उनले महेशका धेरैजसो चलचित्रसँगै ‘बाजीगर’, ‘ओमकारा’, ‘कृष’, ‘चलते चलते’, ‘चेन्नइ एक्सप्रेस’ आदि चलचित्र लेखेका छन् । जेफ अमेरिकाको न्युयोर्क एकेडेमीमा पढाउँछन्। रोबिन भट्टले नेपाल आउन आफू उत्साहित रहेको बताएका छन् । जेफसँगै मिलेर रोबिनले पटकथा लेखनका तरिका र व्याकरण सिकाउने छन् ।

विज्ञापन

एकेडेमीका अध्यक्ष केपी पाठकले नेपालमा चलचित्र लेखकको कमीलाई महसुस गरी लेखन कार्यशाला गर्न लागेको बताए । ‘राम्रो पटकथा कुनै पनि राम्रो फिल्मको आधार हो । वर्कसपले यो क्षेत्रमा काम गरिरहेका लेखकलाई थप क्षमता विकासका लागि प्रेरित गर्ने अपेक्षा छ,’ पाठकले भने ।

कार्यशालाको संयोजक लेखक सम्पदा मल्लका अनुसार कार्यशाला नयाँ लेखकको लागि भन्दा पनि कप्तीमा एउटा छोटो फिल्म बनाएका लागि लक्षित गरिएको छ।

कार्यशालामा सहभागी हुने हरेकले एउटा पटकथा लेख्नु पर्ने र त्यसबाट एक जना विजेता छानिलेछन्। उत्कृष्ट पटकथाले उक लाख नगद प्राप्त गर्ने छन्। कार्यशाला भदौमा हुँदैछ।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्