बाढीले क्षति पुर्‍याएपछि चाकुखोलामा विद्य‌ुत उत्पादन बन्द

फाइल तस्बिर

सिन्धुपाल्चोक-सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ मार्मिङस्थित चाकुखोला विद्य‌ुत आयोजनामा बाढीले क्षति पुर्‍याएपछि विद्य‌ुत उत्पादन बन्द भएको छ।

शनिबार राति आएको बाढीले क्षति पुर्‍याएपछि ६ दशमलव ५ मेगावाटको सो आयोजनाको उत्पादन बन्द भएको हो। लाफिङ बुद्ध पावर नेपाल प्रालिद्वारा निर्माण गरिएको सो आयोजनाबाट उत्पादित ६ दशमलव ५ मेगावाट विद्य‌ुत पूर्णरुपमा बन्द भएको छ। त्यसलाई मर्मत गरी सञ्चालनमा ल्याउन करीब तीन महीना लाग्ने आयोजनाका व्यवस्थापक सागरमान सिंहले जानकारी दिए।

विज्ञापन

आयोजनाको हेडवक्रस, इन्टेक, ट्रान्समिसन, टेलरेस विद्य‌ुत गृह लगायतमा लेदो पसेर क्षति पुगेकाले २० करोड मूल्य बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान रहेको आयोजनाले जनाएको छ। प्राविधिक टोलीले निरीक्षण गरेपछि मात्र क्षतिको यथार्थ विवरण प्राप्त हुने आयोजनाले जनाएको छ।

त्यसैगरी २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ आयोजनामा एक अर्ब ५० करोड मूल्य बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको शिवश्री हाइड्रो पावरका कार्यकारी निर्देशक उमेश कसजुले बताए।

पहिरोले खोला थुनिएपछि आएको बाढीले विद्य‌ुत गृह र मेशिनलाई क्षति पुर्‍याएको छ। यसै महिनाको अन्त्यमा परीक्षण उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनाको मर्मत गर्न करीब ६ महीना लाग्ने कार्यकारी निर्देशक कसजुले बताए।

बाढीले आयोजनाभन्दा तल रहेको अरनिको राजमार्गको चाकुबजारस्थित चाकुखोलाको पक्की पुल मुनि ठूल्ठूला ढुंगा थुपारेर दाँयाबाँया कटान गरेपछि वरिपारी रहेको चाकु बजार उच्च जोखिममा परेको छ। बस्ती जोगाउन स्काभेटरले ढुङ्गा पन्छाइ बस्तीलाई सुरक्षा प्रदान गर्ने काम भइरहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।

बाढीले माथिल्लो भोटेकोशी आयोजनाको चाकुबजार र झ्यालेभीरमा रहेको दुईवटा प्रशारण लाइनको टावरसमेत ढालेको छ।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्