नर्भिक अस्पताललाई युरोपमा पुनः अन्तर्राष्ट्रिय गुणस्तर पुरस्कार

काठमाडौं-नर्भिक इन्टरनेशनल हस्पिटललाई जर्मनीस्थित बर्लिनमा एक विशिष्ट समारोहवीच ‘क्वालिटी च्वाइस प्राइज, २०१९’ बाट सम्मानीत गरिएको छ।

गुणस्तर अनुसन्धानका लागि युरोपेली समाजद्वारा जर्मनीको बर्लिनमा असार २२ गते साँझ आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा नर्भिकलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

उक्त समारोहमा युरोप, एशिया, अमेरिका, अफ्रिका र अष्ट्रेलिया महादेशका गरी उत्कृष्ट ५५ विश्वव्यापी कम्पनीहरु, हस्पिटलहरु, जनप्रशासन तथा विविध क्षेत्रलाई प्रतिनिधित्व गर्ने संघ–संस्थाहरु समेत पुरस्कृत भएका थिए।

नर्भिक इन्टरनेशनल हस्पिटलका लागि नर्भिकको अभिभावकीय– संस्था वि.एल.सी. होल्डिङ्गस् प्रा.लि. का कार्यकारी निर्देशक श्री मनिष खेमकाले उक्त पुरस्कार ग्रहण गरेका थिए। उक्त साँझ पुरस्कार ग्रहण गर्नुपूर्व सोही दिनको विहानी सत्रमा श्री खेमकालाई विशेष बक्ताका रुपमा आमन्त्रण गरिएको थियो।

उक्त समारोहमा आफ्नो मन्तव्य राख्दै श्री खेमकाले नर्भिकले नेपाली चिकित्सा फाँटमा पुर्‍याएको योगदान, प्रविधि हस्तान्तरण, यसका प्रगति लगायतका विविध विषयमा प्रकाश पारेका थिए। विश्वभरका ५५ वटा छानिएका र पुरस्कृत संघ–संस्थाका प्रतिनिधहरु माझ उनले आफ्नो धारणा राखेका थिए।

विश्वभरका जनप्रशासनसम्बन्धी संस्थाहरु, कम्पनीहरु, विश्वविद्यालयहरु, संघ संस्थाहरु, विशिष्ट व्यवसायिक व्यक्तित्वहरु, प्रबुद्ध प्राज्ञिक व्यक्तित्वहरु र गुणस्तर विज्ञहरुका समुपस्थितिमा श्री खेमकाले पुरस्कार ग्रहण गरेका थिए।

गुणस्तरीय अनुसन्धानसम्बन्धी युरोपेली समाज स्वीटजरल्याण्डमा मुख्य कार्यालय रहेको एक युरोपेली संस्था हो। यसले गुणस्तरसम्बन्धी जनचेतनाको प्रवद्र्धन गर्ने, संसारभर व्यवसायका नैतिक अभ्यासलाई प्रर्वद्धन गर्ने, गुणस्तरीय व्यवसायिक अभ्यास गर्ने÷गराउने, प्राविधिक नवीनता वा नविनीकरण थप्ने, व्यवसायिक कम्पनीहरु तथा संघ–संस्थाका गुणस्तर सम्बन्धी उपलब्धीहरुलाई सम्मान गर्ने, जनप्रशासनसम्बन्धी संस्था र अन्य संघ–संस्थाका सफलतम् कार्यक्षमता कार्यकौशलता सम्बन्धी रणनीतिहरुको प्रचार–प्रसार एवम् प्रकाशन गराउने कार्य गर्दछ।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्