स्मार्ट कृषि गाउँमा ‘रिचार्ज पोखरी’

दाङ– सात किलोमिटर टाढा पहाडको टुप्पोबाट पानीको खोजी गरियो। तर त्यो पानीले लामो समय साथ दिएन। त्यसपछि खोला किनारको मुहान नजिकै पानी ट्यांकि बनाइयो। त्यसबाट केही वर्ष पानी पुग्यो। तर फेरि त्यो मुहान नै सुक्यो।

खानेपानी र सिँचाइको लागि लमही नगरपालिका वडा नम्बर ९ हर्दवा गाउँका नागरिकले धेरै प्रयास गरेपनि पानीको प्रयाप्त स्रोत नहुँदा धेरै हैरानी व्यहोर्नु परेको छ।

गाउँमा खनिएको एउटा कुवाको भरमा सिंगो बस्तिका नागरिकले पानीको प्यास मेटाउछन्। ‘जमिन मुनि पानी छैन । एक ठाउँ ट्युवेल गरियो तर, पानी प्रशस्त निस्किएन’ लमही नगरपालिका वडा नम्बर ९ हर्दवा स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन समितिका संयोजक अम्मर कवर नविनले भने ‘खानेपानी र सिँचाइको लागि धेरै पाइपहरु बिछ्याइयो।

अस्थायी मुहानले धारा जडानको योजना समाधान हुन सकेन। अब रिचार्ज पोखरी बनाएका छौँ। जसबाट सिँचाइको समस्या समाधान हुनेछ भने जमिन मुनीको पानीको सतह बढाउने योजना छ।’

कागती र बाख्रामा केन्द्रित गरेर प्रदेश सरकारले लागू गरेको स्मार्ट कृषि गाउँ कार्यान्वयनको प्रमुख चुनौतीको रुपमा सिँचाइको सुविधा कसरी पुर्‍याउने भन्ने थियो। तर, यो समस्या समाधान गर्न प्राकृतिक रिचार्ज पोखरीको अवधारणालाई अघि सारिएको छ।

वर्षे पानीलाई जम्मा गरेर पोखरी बनाइएको छ। जम्मा भएको पानीले हिउँदमा सिँचाइ गर्ने योजना रहेको छ। जनश्रमदान र कृषि ज्ञान केन्द्रको १५ लाखको लागतमा रिचार्ज पोखरी बनाइएको हो।

प्रदेश सकारले स्मार्ट कृषि गाउँको लागि आगामी आर्थिक वर्षमा ५० लाख बजेट सुनिश्चित गरेको छ। चालू आर्थिक वर्षमा ५० लाख बजेटबाट स्मार्ट कृषि गाउँ कार्यक्रम कार्यान्वयन गरिएको थियो।

कागती र बाख्रा पालन व्यवसायलाई प्रोत्साहन गर्न स्मार्ट कृषि गाउँ कार्यक्रम लागू गरिएको हो। दाङ जिल्लामा ६ वटा स्मार्ट कृषि गाउँ छन्।

असार २४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्