थलिएको रंगशालाका यी सेलिब्रेटी ‘च‍ौकीदार’

काठमाडौँ:  बिहानको साढे ६ बजे। दशरथ रंगशाला ‘निमेषभर’मै भरिन थाल्छ। कोही सिकिरहेका हुन्छन अनि कोही सिकाइरहेका। कोही स्थापित नाम हुन्छन त, कोही वर्षौसम्म पसिना बगाएर पनि नाम भेटाउन नसकिरहेका।

कोहीको ध्यान अगाडि रहेकालाई कसरी पछाडि पार्ने भन्दै आँखा, मस्तिस्क र मन नाचिरहेको हुन्छ। यिनीहरुलाई हेर्दै बामे सरिरहेकाको पनि कमि देखिँदैन। मार्सल आर्टदेखि एथलेटिक्स अनि फुटबलदेखि ब्याडमिन्टनसम्मको भिड यहिँ एकैपटक जम्मा हुन्छ।

कहाँनेर कुन खेलको तयारी भइरहेको छ, छुटयाउन सजिलो हुँदैन। केहीबेरमा सानो कद भएका, अनुहार चाउरी परेका, चस्मा लगाउने वृद्ध कस्सिएर रंगशाला छिर्छन्। खेलाडीदेखि प्रशिक्षकसम्म ‘गुरु’ भन्दै स्वागत गर्छन्।

रंगशालाभित्र यता उता गर्न थाल्छन्। खेलाडी र प्रशिक्षकलाई चाहिने सामान जुटाउँछन्। नातिनातिना उमेरका खेलाडीहरुलाई सल्लाह दिइरहेका हुन्छन् त कुनैबेला आफ्नो भाइछोरा उमेरका उनीहरुका गुरुहरुसँग गफिइरहेको देखिन्छन्।

रंगशालाभित्रको त्यो भिड विस्तारै पातलिँदै जान्छ। केही घन्टापछि सबै निस्किएर उनी त्यहाँ एक्लै हुन पुग्छन्, मुलुकको एक्लो अन्तर्राष्ट्रिय रंगशाला ‘दशरथ रंगशाला’जस्तै। अनि यस्तो लाग्छ– जितबहादुर केसीको जिम्मा नै यो रंगशाला रुँगेर बस्ने हो।

विगत २० वर्षदेखि जितबहादुरको यो दैनिकी नै बनेको छ। भुकम्पका कारण जिर्ण बनेको दशरथ रंगशाला अहिले मर्मतको अवस्थामा रहेकाले यसभित्र तयारी गर्न र खेल्न बन्देज लगाइएको छ। तर जितबहादुर बिहानै रंगशाला आउन छाडेका छैनन्। बरु नजिकै रहेको आर्मीको मैदानमा तयारी गरिरहेका खेलाडी र प्रशिक्षकलाई दौडिएर भेट्न पुग्छन्।

जितबहादुर केसी।

‘यहाँ आएपछि खेलाडी, प्रशिक्षकहरुसँग भेट हुन्छ। कुराकानी हुन्छ। म पनि एकै ठाउँ बसिरहन सक्दिन। घरमा गाई छैनन्, भैँसी छैनन्। सुतेर मात्र कति बस्नु। झन थला परिन्छ। अनि जाने कहाँ ? यता (रंगशाला) आयो भने साथीभाइहरुसँग भेट त हुन्छ’, दुई दशकयता दशरथ रंगशालाको इन्चार्ज रहेका जितबहादुर भन्छन्।

दशरथ रंगशालाका आरोहअवरोहलाई कसैले सबैभन्दा बढी नजिकबाट बुझेको छ भने जितबहादुर नै हुन्। ७२ वर्षको उमेरमा पनि हरेक दिन उनलाई दशरथ रंगशालाले तानिरहेकै छ। रंगशालाको चौकीदारी गर्न मनले घचेडिरहेकै छ।

‘नेपालका लागि खेलेकामध्ये रंगशाला नियमित आउने म नै होला सबैभन्दा बढी उमेरको। अरु सबै म भन्दा जुनियर हुन्’, गालामा मुजा पार्दै जितबहादुर मुस्काउँछन्। उनी एकै ठाउँ अडिरहन सक्दैनन्। रंगशाला भित्रैपनि यताउता गरिरहन्छन्। छरपस्ट सामान सम्हालिरहेको देखिन्छन्।

नेपाली खेलकुदको लामो कालखन्डमा खेलाडीले भोगेका सफलता असफलताका साक्षी हुन् जितबहादुर। उनको आँखै अगाडि तयारी सुरु गरेकाहरु देशविदेशमा नाम कमाएर आज बुढासमेत भइसके।

उनले देखेका छन्– दशरथ रंगशालामा कोही लामो समयसम्म टिकेको, अनि कोही आत्मसमर्पण गरी फर्किएको। दशरथ रंगशालामा आएर तयारी गर्नु र खेल्न पाउनु हरेक नेपाली खेलाडीको लागि चानचुने विषय थिएन र होइन।

दशरथ रंगशालासँग नेपाली खेलकुदकै समग्र इतिहास जोडिएको छ भने पनि हुन्छ। राष्ट्रियस्तरमा आईसकेको खेलाडी कुनै न कुनैरुपमा दशरथ रंगशालासँग ठोक्किएकै हुन्छ। अनि यो इतिहासका लगभग साँच्चीजत्तिकै हुन् जितबहादुर।

जितबहादुर र दशरथ रंगशाला


दशरथ रंगशालाले अहिलेको स्वरुप लिनुभन्दा वर्षौअघि जितबहादुरले खेल्न थालेका हुन्। त्यतिबेला रंगशालाको वरीपरि ठूलठुला ढिस्का थिए। फुटबल खेल्ने मैदानमा खाल्डै खाल्डा थिए। फुटबल मैदानको वरिपरि दौडन बनाइएको ‘ट्रयाक’ नाम मात्रको थियो। ठाउँ ठाउँमा इटा थुपारेर बस्ने ठाउँ बनाइएको थियो। वरिपरि पातलो बस्ती थियो। मानिसहरु छाप्रो बनाएर, सजिलै जग्गा हडपेर बस्ने अवस्था रहेपनि आफुलाई मन नलगाएको जित सम्झन्छन्। लहरीमा माटो ल्याएर रंगशालाका खाल्डाहरु पुरिएको सम्झना जितबहादुरलाई ताजै छ।

पानी पर्दा अहिलेको फुटबल खेल्ने मैदानमा माछा उफ्रिने गरेको उनी सुनाउँछन्। तर पनि फुटबल, एथलेटिक्स, कुस्ती लगायतका खेलहरु त्यहाँ हुन्थे। प्रतियोगिता भएका बेला स्थानीयहरु जम्मा हुन्थे। जितले खेल्न थाल्दासम्म नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुन सुरु गरिसकेको थियो। नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा खेलेको सन् १९५१ को एसियन गेम्सको १९ वर्षपछि यहि प्रतियोगिताको छैटौँ संस्करणका लागि नेपालबाट छनोट भएका थिए जितबहादुर।

दोलखा स्थायी घर भएका उनी नेपाल आर्मीको जागिरे भएका कारण खेलकुदमा आउन सजिलो भयो। आर्मीभित्र हुने एथलेटिक्सका प्रतियोगितामा जित अब्बल हुन्थे। यहि कारण नेपाली एथलेटिक्सको नजरमा परे।

दशरथ रंगशालादेखि नागढुंगासम्म पुगेर शुरु गरेको विन्दुसम्म आइपुग्दा पहिलो हुनेलाई थाइल्यान्डको बैंककमा भएको छैटौँ एसियन गेम्समा लगिएको थियो । थाइल्यान्डको रंगशाला नै जितका लागि फरक अनुभव थियो। सिन्थेटिक ट्रयाकमा दौडनु पर्ने, प्यारापिटबाट दर्शकको हुटिङ। खेल्ने ठाउँको संरचना नै फरक।

‘झारमा कुदिरहेको मलाई सिन्थेटिक ट्रयाकमा दौडँदा काँडामाथि दौडिएजस्तो भयो। त्यसमा पनि गतिलो जुत्ता थिएन’, जितलाई सम्झना ताजै छ। तर पनि जित आफ्नो स्पर्धामा सातौँ स्थानमा रहे। यो नतिजा आफैमा उल्लेख्य थियो त्यो भन्दा बढी जितको अन्तर्राष्ट्रिय अनुभव।

यतिबेलासम्म दशरथ रंगशाला बनाउनुपर्छ भनेर बहस उठिसकेको थियो नेपालमा। जर्मनीलगायतका देश दशरथ रंगशाला बनाउन तयार थिए तर सुरु गर्‍यो नेपालले नै। रंगशाला निर्माणको काम सुरु भएपछि खेलाडीहरु टुडिखेलतिर जान थाले तयारी गर्न। म्याराथनको तयारीका लागि साँगासम्म पुग्थे। सन् १९७२ मा जर्मनीको वायर्न म्युनिखमा ओलम्पिक खेलकुद हुँदै थियो।

त्यहाँ तीन महिना अघि नै लगिएको थियो जितलाई। प्रतियोगिताका लागि भएको छनोटका क्रममा आफुले एसियन च्याम्पियनलाई समेत पछाडि पारेको सम्झन्छन् उनी। सन् १९७३ मा फिलिपिन्समा भएको एसियन ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितले प्रतिस्पर्धा गरिरहँदा पानि परिरहेको थियो। सरकारी जुत्ता कारखानाले दिएको जुत्ता दौडिरहँदा फुस्कियो।

उनी एउटै जुत्तामा भए। प्रतिस्पर्धा थियो म्याराथनमा, दौडनुपर्ने धेरै। बाटो पानीले ढाकेका कारण उनले अर्को जुत्ता पनि फालि दिए। तर दौडिन छाडेनन्। उनको खुट्टा रक्ताम्य भयो। तर पनि हिम्मत गुमाएनन्। दौड पुरा गर्नेमा उनी तेस्रो स्थानमा रहे। यहि स्थानले नेपाल पहिलोपटक कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो पदक जित्न सफल भयो।

जितबहादुरले नेपाली खेलकुदमा इतिहाँस रचे। विदेशमा खेल्न गएका साथीहरुबीच जितको कुरा हुन्थ्यो,‘नेपालमा यहाँको जस्तो रंगशाला कहिले बन्ला ?’ जितको यो सफलतापछि बैकुन्ठ मानन्धरजस्ता प्रतिभावान पुस्ता नेपाली खेलकुदमा भित्रियो। लगभग त्यहि समयमा दशरथ रंगशालाले पनि मुहार फेर्‍यो।

२५ हजारभन्दा बढी दर्शक क्षमताको प्यारापिट र धुलो राखेर बनाइएको ६ ल्यापको ट्रयाक तयार भयो। २०३४ सालमा यी पुर्वाधार बनेपछि रंगशालाको माहोल नै फेरियो । त्रिपुरेश्वर खेलकुदको हव बन्दै गयो। सन् १९८३ मा भएको पहिलो दक्षिण एसियाली खेलकुद–सागको उदघाटन र समापन यहि रंगशालामा भएको थियो। सन् १९९९ को आठौं साग अघि दशरथ रंगशालाको स्तरोन्नती गरियो। साधारण प्यारापिटतर्फ तलका सातवटा सिँढी काटेर ८ ल्यापको सिन्थेटिक ट्रयाक बनाइयो।

रातको समयमा समेत खेल आयोजना गर्न सहयोग गर्ने फर्ड लाइट जोडियो। साउन्ड सिस्टम पनि बन्यो। यी सबै काम चिन सरकारको सहयोगमा भएको थियो। यसपछि भने दशरथ रंगशाला अन्तर्राष्ट्रियस्तरको भन्न लायक बन्यो। पुर्वाधारका हिसाबले अपुर्णै रहेपनि दशरथ रंगशालालाई अन्तर्राष्ट्रियस्तरको भन्नुको विकल्प थिएन।

किनभने अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न दशरथ रंगशालाको विकल्प थिएन। यसमा राष्ट्रिय खेलकुददेखि एएफसी च्यालेन्ज कप र साफ च्याम्पियनसिपसम्म भएका छन्। विश्व चर्चित गायक ब्रायन एडम्सको कन्सर्टदेखि थुप्रै विशिष्ट व्यक्तिका श्रद्धान्जली कार्यक्रमको साक्षी बसेको छ। अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना हुँदा हजारौं दर्शकहरु टिकट नपाएर गेटबाटै फर्किएको पनि देखेको छ। ठुला प्रतियोगिता हेर्न यहाँ आएका नेतादेखि प्रधानमन्त्रीसम्म सबैले यो देखेका छन्। तर……..

०७२ को भुकम्पपछि


२०७२ बैशाखको विनाशकारी भुकम्पका कारण दशरथ रंगशालाको संरचना पनि कमजोर बन्यो। भीआईपीतर्फको प्यारापिटसहितको संरचना बनाउनुपर्ने इन्जिनियरहरुको सुझाव थियो। १३ औं साग नेपालले आयोजना गर्नु पर्ने भएकाले यो रंगशाला जतिसक्दो चाँडो बनाउनुको विकल्प नेपाललाई थिएन।

यो नबन्दा अन्य केही खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत आयोजना गर्न समस्या थियो। तर एकमात्र अन्तर्राष्ट्रिय रंगशालाको यो गतिप्रति सरोकारवाला निकाय गम्भिर बन्‍न सकेनन्। आर्थिक वर्ष २०७४/७५ प्यारापिट भत्काउनमै बित्यो। भीआईपी प्यारापिटको रेट्रो फिटिङ, छाना हाल्ने र कुर्सी राख्ने काम अझै बाँकी नै छ।

चीन सरकारले ट्रयाक एन्ड फिल्ड, फर्ड लाइट र साउन्ड सिस्टम मर्मतको जिम्मा आफुले लिइदिए पनि १४ करोड भन्दा बढी रुपैयाँ खर्च भइसकेको राष्ट्रिय खेलकुद परिषद्-राखेपका अधिकारी बताउँछन्। प्यारापिट भत्काउन, बनाउन, रेट्रो फिटिङ गर्न, छाना लगाउन, सिट राख्न फरक फरक ठेक्केदार प्रयोग भएका छन्।

राखेपको इन्जिनियरिङ शाखाका प्रमुख अरुण उपाध्याय आगामी असोजसम्म रंगशाला तयार हुने बताउँछन्। प्रतियोगिताको उद्घाटन आयोजना गर्ने दशरथ रंगशाला नै तयार नभएपछि १३ औं सागको मिती पटकपटक सर्दै आएको छ।

प्रतियोगिताको लागि पछिल्लोपटक सार्वजनिक गरिएको आयोजना मिती आगामी १–१० डिसेम्बर रहेको छ। यसपटक दशरथ रंगशाला केही फरक देखिने छ। साधारण प्यारापिटतर्फ पनि छाना हालिएका कारण यो एकमात्र अन्तर्राष्ट्रिय रंगशालाको स्वरुप फरक देखिएको छ।

अन्तर्राष्ट्रियस्तरको रंगशालामा स्तरीय मैदान र सिन्थेटिक ट्रयाक, दर्शक बस्‍ने ठाउँ, चेन्जिङ रुमहरु, वार्म अप मैदान, पार्किङ लगायत सुविधा हुनुपर्ने मान्यता छ। दशरथ रंगशालाको हकमा भने पार्किङ र वार्मअप मैदान उपलब्ध छैन। रंगशालामा प्रतिस्पर्धा मात्र गराइने अन्तर्राष्ट्रिय अभ्यास छ।
जितबहादुर भन्छन्-हामीले विदेशमा खेलेका रंगशालाहरु अन्य समयमा हेर्नका लागि टिकट तिर्नुपर्थ्यो। तर यहाँ जो जतिबेला पनि छिरेर जे पनि गर्न मिल्ने अवस्था छ। यसमा गम्भीर हुनैपर्छ।

खै अरु अन्तर्राष्ट्रिय रंगशाला ?


विभागीय क्लबलाई छाड्ने हो भने सिन्थेटिक ट्रयाकसहितको मैदान दशरथ रंगशालाबाहेक एउटा मात्र, त्यो पनि हालै आयोजना भएको आठौँ राष्ट्रिय खेलकुदका लागि दाङको बेलझुन्डीमा तयार गरिएको थियो। त्यसबाहेक अन्य ठाउँमा सिन्थेटिक ट्रयाकसहितको मैदान छैन।

हजारौं दर्शक अट्ने प्यारापिट अनि सिन्थेटिक ट्रयाकसहित मैदान भएका रंगशाला दशरथ रंगशाला बनेको वर्षौसम्म पनि तयार हुन सकेको छैन। हाल पोखरामा १६ हजार पाँच सय दर्शक क्षमताको रंगशाला तयार हुँदै छ जसमा सिन्थेटिक ट्रयाक पनि रहने राखेप अधिकारी बताउँछन्।

‘एउटा रंगशालाको मर्मत हुँदा खेलाडीहरु प्रशिक्षणका लागि ठाउँ खोज्दै, अरुसँग माग्दै हिँड्नुपर्ने अवस्था छ’, जितबहादुर गुनासो पोख्छन्। जितबहादुरको एउटै अपेक्षा छ : खेलाडीहरुले खेल्ने ठाउँ सजिलै पाउन सकुन्। उनी चाहन्छन्-  र‌ंगशालाको त्यो पुरानो भिड जहाँ मिसिएर उमेरका वर्ष बितेको पत्तै पाएनन्।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्