त्रिविको ६०औँ वर्षगाँठ

‘अँध्यारोतर्फ भासिँदै छ त्रिभूवन विश्वविद्यालय’

‘अँध्यारोतर्फ भासिँदै छ त्रिभूवन विश्वविद्यालय’

काठमाडौँ-दलीय राजनीतिको वर्चश्व, भ्रष्टाचार तथा आर्थिक अनियमितता र निजी स्वार्थको थलो बनाउने प्रवृति बढ्न थालेपछि अन्तर्राष्ट्रियस्तरको विश्वविद्यालय बन्‍ने सपना बोकेको नेपालकै जेठो त्रिभूवन विश्वविद्यालयको हैसियत गिर्दो छ। नम्बरमा हेराफेरि, योग्यता भन्दा आफन्तलाई मौका दिने प्रवृतिले प्रश्रय पाएको आरोपमा त्रिवि थिचिएको छ।

खासगरी मुलुकमा प्रजातान्त्रिक व्यवस्थाको प्रारम्भसँगै दलीय स्वार्थ हावी हुन थालेको र त्यो स्वार्थका कारण विश्वविद्यालयको सम्भाव्यता क्रमशः अवमूल्यन हुन पुगेका छन् । त्यसको दुःखद र प्रत्यक्ष प्रभावका कारण अघिसम्म ख्याती प्राप्त अन्तर्राष्ट्रिय संस्थाहरु सहकार्यका लागि लालायित हुन्थे तर उनीहरुसँग त्रिविको दूरी बढेको छ।

विज्ञापन

नैतिक दबाबका एकादुई आन्तरिक प्रयासले खासै असर पारेको छैन त्यसमा ।

आफ्नो महत्वपूर्ण समय अर्थात जीवन नै यस विश्वविद्यालयमा समर्पित गरेका तर सार्वजनिक जीवनको सुद्धता र संस्थाको वृहत्तर हितमा सम्झौता गर्न नचाहेका विश्वविद्यालय अन्तर्गतको सेन्टर फर इन्टरनेशनल रिलेशनका पूर्व कार्यकारी निर्देशक एवम् नेपाल ल क्याम्पसका प्राध्यापक कृष्ण बेलबासेले देश सञ्चार संवादमा आँसुसँगै वाणीद्धारा व्यक्ति गरेका पीडाहरु संक्षिप्तमा ।

आशाको केन्द्रविन्दुमा तुसारापात


त्रिभूवन विश्वविद्यालय पूवराज महेन्द्रले आफ्ना बुवा त्रिभुवनको सम्झनामा स्थापना गरे पनि संगठन, गुणस्तरीय र सुलभ शिक्षाका आधारमा जनताको विश्वविद्यालयको रुपमा परिचित थियो। र त्यसैगरी आफ्ना समयमका जिम्मा र योग्यतमहरुलाई दिइयो । राम्रो काँधमा त्यो जिम्मा आईपुग्यो।

त्यही बाटोमा अघि बढाउने हामीहरुको सोच थियो। यो भन्दा राम्रो जनताको विश्वविद्यालय अरु हुन सक्दैन भन्ने गर्थेँ मैले पनि। यसको केन्द्रविन्दुमा त्यही आशा थियो।

तर २०४६ सालको परिवर्तनपछि यो विश्वविद्यालयमा राजनीति मात्रै हावी भयो । राजनीतिसँगै व्यक्तिको निहित स्वार्थ अनुसार काम हुन थाले । आर्थिक उपार्जनका लागि मात्रै यो विश्वविद्याललाई प्रयोग गरियो। २०५१ सालमा एउटाले र अर्कोले २०६३ सालपछि अर्कोले स्वार्थका लागि मात्रै यो विश्वविद्यालय प्रयोग गरे। अहिले यसको विद्यार्थी, शिक्षक या कुनै सेन्टरको प्रमुख भन्न मलाई दुःख र लाज दुवै लाग्छ।

विद्यार्थी र प्राध्यापक संगठन औचित्यहिन

नेपाल ल क्याम्पसका प्राध्यापक कृष्ण बेलबासे । तस्बिर : रविन आचार्य/देश सञ्चार

म निकै ठूलो संघर्षपूर्ण विद्यार्थी राजनीतिबाट यहाँसम्म आएको मान्छे हुँ । गुणस्तरीय, सर्वसुलभ शिक्षाका लागि हामी पटकपटक आन्दोलनमा होमिएका थियौँ। तर अहिले विद्यार्थी राजनीति हेर्दा मलाई विगतमा गरेको संघर्षलाई लिएर पछुतो लाग्छ। अहिलेका विद्यार्र्थी कमाउन र नपढी डिग्री लिन चाहन्छन्। उनीहरु सानो निर्माण कार्य हुनथाल्यो भने कहाँबाट ‘कमिसन’ पाइन्छ भनेर सुँघ्ने गर्छन्।

आफू मात्रै बन्ने चाहना अहिलेका विद्यार्थीमा देखिन्छ मेहनतबिना। हामीले लडेर विद्यार्थी संगठनहरु ल्याएका थियौँ तर अहिले म आफै यस्ता संगठनको आवश्यकता र औचित्य नभएको देख्छु । कर्मचारी र प्राध्यापक संगठनहरुको पनि औचित्य छैन अब । यस्ता संगठनले गुणस्तरीय शिक्षाका लागि केही पनि काम गरेका छैनन् ।

मात्र राजनीतिमा उनीहरुको समय खर्च भएको छ। हाम्रो लडाईँ अध्यारोबाट उज्यालोतर्फ लैजानेमा हुनुपर्नेमा विश्वविद्यालयका कर्मचारी र पदाधिकारी आफै दलदल र फोहोरमा फसेका छन्। ‘कमिसन’ खान, भ्रष्टचार गर्न र अनियमितता गर्न सिपालु नै राजनीतिमा आएका छन्। त्यो राजनीति विश्वविद्यालयमा छ्याप्छ्याप्ती भयो। वास्तवमा उन्नत राजनीतिमा हामी लाग्नु पर्नेमा झन पछि झन् पछि परेका छौँ। राजनीतिलाई अपराधीकरण गरिएको छ। अर्थात राजनीतिमा आपराधिक मानसिकता बोकेकाहरु मात्रै जान्छन्। विश्वविद्यालय राजनीतिज्ञ उत्पादनको थलो बनेको छ।

पदाधिकारी स्वार्थ सिद्धिमा

प्राध्यापक कृष्ण बेलबासे । तस्बिर : रविन आचार्य/देश सञ्चार

विश्वविद्यालयको हरेक तहमा राजनीति, भ्रष्टचार र अनियमिताको अखडा हुनुमा मुलुकमा लामो समय रहेको संक्रमणकालिन राजनीति जिम्मेवार छ । गणतन्त्र ल्याउँदासम्म पनि राजनीतिक व्यवस्थामा वदलाव आएनन्। विश्वविद्यालयको कुलपति प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्री छन्। उनीहरुले कुलपति र अन्य पदाधिकारी नियुक्त गर्छन्। वश्वविद्यालयका पदाधिकारीहरु आफूलाई नियुक्त गर्नेहरुप्रति मात्रै बफादार बन्ने गरेका छन्।

आफूलाई नियुक्त गर्नेहरुको स्वार्थ सिद्धिका लागि मात्रै काम गर्ने गरेका छन्। तर विश्वविद्यालयको पदाधिकारी बन्नुको अर्थ बुझ्न चाहेका छैनन् उनीहरुले । उनीहरुको ध्यान आर्थिक उपार्जनका लागि मात्रै हुने गरेको छ। सेवा आयोगको पछिल्लो गतिविधि त्यसको उदाहरण हो। कक्षा कोठामा छिर्दै नछिर्नेहरु पदाधिकारी भएका छन् । उनीहरुले अन्य शिक्षकको कसरी मुल्यांकन गर्छन् होला? वस्तुनिष्ठ मुल्यांकन र न्यायपूर्ण पदोन्नति होला ?

शिक्षकको बढ्दो बदमासी र चलाखी


निजी स्वार्थमा लाग्ने पदाधिकारीसँग मिलेर शिक्षकले एक साता या १५ दिनमा एकपटक हाजिर गर्छन्। बाँकी समय कि घुमेर कि निजी विद्यालयमा पढाएर सक्छन्। पदाधिकारी र शिक्षकको नैतिक धरातल खस्किँदा त्यसको प्रत्यक्ष असर त्रिविको समग्र अवस्थामा परेको छ।
विश्वविद्यालय सुधारका लागि उच्चस्तरबाट कदम उठाउनु पर्छ।

अध्ययन अनुसन्धान गर्ने, विद्यार्थीको सिकाई प्रक्रिया चुस्त र अब्बल बनाउनेतर्फ शिक्षकको ध्यान छैन । राजनीति गरेपछि पहुँच मिल्छ। त्यसैले उनीहरु त्यसमै केन्द्रित छन्। मुलुकभरबाट उच्च शिक्षाका लागि आउने विद्यार्थी निराश हुन्छन् । ज्ञान कम पाउँछन् शिक्षकका कारण । यो विश्वविधालय ‘फ्रि’ मा सर्टिफिकेट लिने थलो बनेको छ।

चलखेलका लागि सम्बन्धन


क्याम्पसको सम्बन्धन कमाउने भाँडो मात्रै भएको छ। चलखेलकै आधारमा सम्बन्धन दिने गरिएको छ। विश्वविद्यालयले नयाँ क्याम्पसलाई सम्बन्धन दिने होइन । सम्बन्धन दिइसकेका क्याम्पसको अध्ययन अध्ययापन र सेवासुविधाबारे अनुगमन गरी शिक्षाको गुणस्तरीयता बढाउने हो।

तर सम्बन्धन मात्रै दिने क्याम्पसको अवस्था कस्तो छ भनेर अनुगमन अनुसन्धान नै नगर्ने परिपार्टीको विकास भएको छ। पदाधिकारी र शिक्षकको कमजोरीका कारण यो विश्वविद्यालयबाट सम्बन्धन पाएका क्याम्पसहरु पनि कमाउने बढी, पढाउने थोरै भएका छन्। गरिब विद्यार्थीलाई लुट्ने काम भएको छ ।

सेवा आयोग पदाधिकारी भर्तिकेन्द्र


विश्वविद्यालयको अध्ययन अध्यापनमा जति लापरवाही हुन थालेको छ त्यति नै लापरवाही र स्वार्थकेन्द्रित काम त्यसको सेवा आयोगमा हुन थालेको छ ।

पदाधिकारीले आफ्ना निकट र राजनीतिक स्वार्थले ओतप्रोतलाई आफै सहभागी भएर जागिर दिलाएको प्रमाणहरु भेटिएका छन्। अब यहाँ राम्रो पदाधिकारीले पनि काम गर्ने अवस्था छैन्।

उनीहरुलाई चुपचाप काम गर्न बाध्य बनाइएको छ । सेवा आयोगको अनियमितताले सबैलाई प्रभाव पारेको छ। इमान्दार र जेहेन्दारहरुले जागिर खाने या शिक्षक बन्ने सपना तुहिन थालेको छ।

सरकार र विश्वविद्यालयको बढ्दो दूरी


विश्वविद्यालय र शिक्षासँग सम्बन्धित विधेयकहरु सरकारले बनाउँछ। त्यसपछि त्यो ऐनकारुपमा आउने गर्छ । त्यो बेला सरकार, संसद र त्यसका समितिहरुले विश्वविद्यालयलाई बोलाउन अल्छि मान्छन् ।

कतिपय आपत्तिजनक निर्णयहरु सञ्चारमाध्यमबाट थाहा पाएपछि पनि त्यसको विरोध गर्दैनन् पदाधिकारीहरु । विश्वविद्यालयका कामकारवाहीमा बाधा पुर्याएका समस्या समाधान गर्नका लागि सरकारलाई झक्झकाउने काम पनि कमै हुन्छ। मत्र आफ्ना मान्छेको भर्ति केन्द्र बनाएर कमाई खाने थलोको रुपमा विकास गरिएको छ यो विश्वविद्यालयलाई।

अन्तर्राष्ट्रियस्तरमै साख गिर्दो


सरकारको बेवास्ता र आन्तरिक कारणले विश्वविद्यालयको साख गिर्दो छ। पहिले यो विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमै ‘रिनाउण्ड’ मानिन्थ्यो । सबैले सम्मान गर्थे । सहकार्यका लागि कदम अघि बढाउँथ्यो । हाम्रा विद्यार्थीले पनि धेरै नयाँ अनुभव र सिकाई बटुल्थे।

अहिले विवादको घेरामा मात्रै परेको छ विश्वविद्यालय। यसको गरिमामा सबैले प्रहार गर्न थालेका छन्। विद्यार्थीलाई आफ्नै विश्विद्यालयप्रति माया र गर्व छैन। यहाँको जस्तो संरचना र भौतिक पूर्वाधार अन्य विश्वविद्यालयमा छैन । यहाँको जस्तो सस्तो शुल्क अन्त छैन। ओपन विश्वविद्यालय भन्दै निजी क्षेत्रले कमाउन सम्म कमाएका छन्।

हाम्रोमा सात हजार भए पढ्न पुग्ने अवस्था छ । तर यो विश्वविद्यालय अपमानित भएको छ। हामी अभिभावक हो विश्वविद्यालय । संकटमा परेको देख्दा निकै चित्त दुख्छ। यो विश्वविद्यालयलाई ध्वस्त पार्ने षड्यन्त्र भएको छ । यसले देशलाई नै अन्धकारमा धकल्ने छ।

(त्रिभूवन विश्वविद्यालयले सोमबार आफ्नो ६० औँ जन्मोत्सव मनाउँदैछ । देशको जेठो विश्वविद्यालय विसं २०१६ साल असार ३० गते स्थापना भएको हो । यसको जन्मोत्सव तिथिका आधारमा मनाउने चलन छ ।)

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू