पानी जहाजको ११ औँ तलबाट खसेर एक वर्षे बालिकाको मृत्यु

अमेरिकामा एक वर्षकी बालिकाको पानी जहाजबाट खसेर मृत्यु भएपछि उनको परिवारका सदस्यले पानी जहाज सञ्चालक कम्पनीमाथि लापरवाहीको आरोप लगाएका छन् ।

एक वर्षकी क्लोइ विगाण्ड गएको आतबार रोयल क्यारेबियन क्रुजको ११ औँ तलबाट खसेकी हुन् । उनी पानी जहाजको खुला झ्यालबाट खसेकी हुन् । उनका हजुरबुवाले बालबालिका खेल्ने क्षेत्रको रेलिङ्गमा राखेका थिए । आफूहरुलाई रेलिङ्गमा सिसा रहेको लागेर त्यहाँ क्लोइलाई छाडेको परिवारका सदस्यको दाबी छ ।

विज्ञापन

जहाज सञ्चालक रोयल क्यारेबियनले घटनाबाट आफूहरुलाई गम्भीर रुपमा दुःखी तुल्याएको उल्लेख गरेको छ । घटनाका सम्बन्धमा परिवारको गोपनियतालाई ध्यानमा राख्दै थप केही प्रतिक्रिया नदिने रोयल क्यारेबियनले जनाएको छ । निधन भएकी बालिकाको परिवारका वकिलले जहाजको सो क्षेत्रमा खतराको सूचक राखिएको हुनु पर्ने बताएका छन् ।

पोर्टोरिकोको सन आनमा रोकिएका बेला पानी जहाजबाट क्लोइ खसेकी हुन् । पानी जहाजको माथिल्लो भागमा रहेको वाट्र जोनमा क्लोइ र उनका हजुरबुवा खेलिरहेका थिए । क्लोइले आफ्ना दाइको हक्की खेल हेर्न गएका बेला सिसाबाट चियाएकी थिइन् । पानी जहाजमा पनि त्यस्तै गर्न खोज्दा उनी खसेको वकिलले बताएका छन् ।

क्लोइका अभिभावक पानी जहाजको बालबालिकाका लागि छुट्याइएको क्षेत्रमा सिसा बिनाको झ्याल किन राखिएको हो भन्ने कुराको उत्तर चाहन्छन् । यस्तै खुला झ्याल रहेको अवस्थामा खतराको सूचक किन राखिएन भन्ने उनीहरुको प्रश्न रहेको छ । क्लोइका अभिभावकको नाम किमबर्ली र एलन विगाण्ड हो ।

उनका पिता साउथ बेण्ड, इन्डियानाका प्रहरी अधिकारी हुन् । साउथ बेण्डका मेयर तथा सन् २०२० को राष्ट्रिपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा रहेका पिट बुट्जजले क्लोइको निधनमा दुःख व्यक्त गरेका छन् ।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्