त्रिभूवन विश्वविद्यायको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसको मुख्य भवन । तस्बिर : सुलभ श्रेष्ठ/देश सञ्चार
त्रिविको ६० औँ वर्षगाँठ

त्रिभूवन विश्वविद्यालयको हैसियतमा ग्रहण!

विद्वत जनशक्ति उत्पादनको केन्द्र मानिएको त्रिभूवन विख्वविद्यालले उमेरको तीन–बिस काटेको छ । ६० वर्षअघि विक्रम संवत् २०१६ साल असार ३० गते औपचारिक रुपमा स्थापना भएको देशको जेठा र ठूलो विश्वविद्यालयले तिथिका आधारमा आफ्नो जन्मोत्सव मनाउँदै आएको छ। सोही परम्परा अनुसार त्रिविको जन्मोत्सव यसवर्ष असार २५ गते (बुधबार, नवमी तिथि) परेको छ ।

क्रमशः उच्च शिक्षाका प्राप्तिका लागि देशभरका विद्यार्थीहरुको प्रमुख केन्द्र रहँदै आएको त्रिविको सम्मान तथा प्राज्ञिक हैसियतमा ग्रहण पनि देखा परेको छ ।

विक्रम संवत् २००५ मा विश्वविद्यालयको अवधारणा आएर छलफल चल्दै गयो । २०१३ सालमा स्थापनाको निर्णय भयो । त्यसका लागि स्थान छनौटको जिम्मा तत्कालीन शिक्षा मन्त्री एवम् महाकवी लक्ष्मीप्रसाद देवकोटासहितको टोलीले पायो ।

२०१६ सालको असार ३० गते (नवमी तिथि) का दिन औपचारिक रुपमा स्थापित भएको विश्वविद्यालयको क्षेत्रफल २०३३ सालसम्म आइपुग्दा कीर्तिपुरदेखि बल्खुसम्म ३७ सय रोपनीमा फैलियो । गुणस्तरमा जस्तै बिस्तारित विश्वविद्यालयको क्षेत्रफल पनि अहिले साँघुरिएको छ । देशमा बहुदल आयो २०४६ सालको आन्दोलनपछि । २०४७ सालदेखि विश्वविद्यालयको जग्गामा अरुको नजर पर्न थाल्यो र हालसम्म त्रिविको १२ सय रोपनी क्षेत्रफल कम भएको छ ।

क्षेत्रफलमा आएको साँघुरोपन भन्दा डरलाग्दो बनेको छ त्रिविको साखमा आएको गिरावट । उसै त समय सापेक्षरुपमा ‘अप–डेट’ हुन नसकेको विश्वविद्यालयको शैक्षिक विषयवस्तु तथा प्राज्ञिक क्षमता तथा शैक्षिक क्रियाकलापमा असर पर्ने गरी दलीय राजनीतिक गतिविधि भइरहेका छन् ।

विद्यार्थीहरुका लागि विकल्प नहुँदा बाध्यात्मक बनेको विश्वविद्यालय भ्रष्टाचार र अन्य नकारात्मक गतिविधिका कारण विवादमा तानिएको छ ।
हाल अति निन्दनीय र नैतिक ‘भ्रष्टाचार’ कारण गरिमा ‘पतन’ को अवस्थामा पुगेको छ ।

विद्यार्थीको परीक्षामा गरिएका लापरवाहीका घटनाहरु बेलाबेला आइरहन्थे । तर अहिले ९ नम्बर ल्याएको विद्यार्थीलाई एउटै विषयमा ५० थपेर उत्तीर्ण गराएको घटना सार्वजनिक भएको छ । एकजना विद्यार्थीले दुई विषयको स्नातकोत्तर तहका १४ विषयमा यस्तो अनियमित तरिकाबाट बढी अंक पाएको खुलेको छ । यो घटनाले विश्वविद्यालयको परीक्षा प्रणाली नै अविश्वसनीय बनेको छ । यसले त्रिवि र त्यसले उत्पादन गरेका विद्यार्थीहरुका बारे बाहिर कस्तो धारणा बन्ला ?

अर्को डरलाग्दो घटना त्रिवि सेवा आयोगमा भयो । सेवा आयोगले विभिन्न पदका लागि लिएको परीक्षामा योग्यलाई अयोग्य बनाइयो । परीक्षामा अनुत्तीर्ण भएकालाई केरमेट गरी नम्बर थपेर योग्य बनाइएको घटना सार्वजनिक भयो । दुवै घटनाका सम्बन्धमा अहिले छानबिन भइरहेको छ ।

त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थराज खनिया । तस्बिर : प्रभात खनाल/देश सञ्चार

विश्वविद्यालयको इज्जत र मानमै गम्भीर आँच आएको त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. तीर्थराज खनिया स्वीकार गर्छन् । दुवै घटना विश्वविद्यालय भित्र भरोसा गरिएकै व्यक्ति या संस्थाबाट भएको र अब आइन्दा यस्ता घटना नहुन् भन्नका लागि आफूहरु संरचनागत रुपमा नै चनाखो भएको उनले दाबी गरेका छन् ।

विद्यार्थीले विश्वास गरेको विश्वविद्यालयको खाश गिर्न नदिने उनले दाबी गरे । तर उनको दाबी कार्यान्वय गर्नका लागि सजिलो भने छैन । पछिल्लो राजनीतिक परिवर्तनपछि उनकै भाषामा ‘सबैलाई रिझाउनु पर्ने’ भएकाले राम्रा काम गर्न पनि समय लाग्ने गरेको छ ।

विश्वविद्यालयलाई माया गर्ने प्राध्यपक तथा विद्यार्थीहरुले त्रिवि व्यापक राजनीतिकरण, भ्रष्टाचार र आर्थिक अनियमितताको केन्द्र बनेको भन्दै चिन्ता व्यक्त गर्दै आएका छन् लामो समयदेखि । यी घटनाले उनीहरुको चिन्ता सत्य बनेको छ ।

यस्तो गम्भीर अवस्थामा आफ्नो ६० औँ वर्षगाँठ मनाउन लागेको त्रिविका उपकुलपति खनियासँग हामीले प्रतिक्रिया लिएका छौँ ।

असार २५, २०७६ मा प्रकाशित