जब यी निर्दोष शिक्षकलाई नखाएको विष लाग्यो…

काठमाडौं: स्याङ्जा वालिङका खगेन्द्र पाठक सोमबार अपरान्हसम्म सामान्य सर्वसाधारणसरह त्यतिधेरै परिचित थिएनन् राष्ट्रियस्तरमा। तर त्यो दिन साँझ उनी एकाएक भाइरल भए। पाठकका लागि भने त्यो प्रिय रहेन।

काभ्रेको धुलिखेलमा सार्वजनिक यातायातमा सवार भएको समयमा एक महिलाले आफ्नो शरीरमा तिखो बस्तुले घोचेको बताइरहेकै समयमा पाठक बसबाट उत्रिन खोजेपछि भिड उनीमाथि जाइलागेको थियो। पाठक पिटिए। उनीमाथि दुर्व्यवहार भयो।

त्योभन्दा धेरै केही छिनमै देशभरका सञ्चार माध्यममा खबर आयो- धुलिखेलमा महिलालाई सिरिन्ज अट्याक गर्ने स्याङ्जाका खगेन्द्र पाठक पक्राउ। तर मेडिकल टेस्टमा ती महिलाको शरीरमा कुनै वस्तुले नघोचिएको रिपोर्ट आएपछि प्रहरीले पाठकलाई निर्दोष भन्दै छाडेको थियो। शिक्षण पेशामा आबद्ध पाठक अस्पतालमा उपचाररत विरामीलाई भेट्न त्यस दिन धुलिखेल जाँदै थिए। मेडिकल रिपोर्टपछि प्रहरीले पाठकलाई निर्दोष त भन्यो तर उनको इज्जत र प्रतिष्ठामाथि केही घन्टाबीचमा निको नहुने चोट लाग्यो।

बुधबार सामाजिक सन्जालमा उनै पाठकले लामो स्टाटस लेखेका छन्।

सबैलाई नमस्कार।

म यहीँ असार २३ गते काठमाडौं बाट बिरामी ठुली आमाको छोरालाई भेट्न सार्वजनिक बस चढेर धुलिखेल जानेक्रममा अस्वभाविक र अनपेक्षित घटना घट्न पुग्यो । मलाई मैले कल्पना समेत नगरेको बिषयमा दोष लगाई कुटपिट र दुर्ववहार गरियो । मलाई शंका र अनुमानको भरमा आक्रोसित भिडले जुन ब्यवहार गर्‍यो  त्यसले मलाई निकै दुखि र गम्भीर पनि बनाएको छ। तर कतिपय घटनाहरु परिस्थितिजन्य रुपमा घट्दा रहेछन् । तर जुन घटनामा बिना कारण म जोडिन पुगे तब एकाएक मिडियामा विभिन्न कोणबाट प्रचार गरियो,मलाई अपराधी जस्तै गरि प्रचारप्रसार गरियो ।तर कतिपय सञ्चारमाध्यमले सकरात्मक भुमिका समेत खेल्नुभयो त्यसका लागि आभार र धन्यवाद प्रकट गर्दछु । जब म निर्दोष थिए तब सबैको साथ र सहयोगले म आरोप बाट मुक्त भए ।

जब आक्रोसित भिडमा मलाई कुटपिट गर्ने प्रयास भयो तब नजिकै रहेका प्रहरी साथीहरुको सहयोगले मलाई बचाउने प्रयास गर्नुभयो तसर्थ प्रहरी साथीहरूलाई धेरै धन्यवाद प्रकट गर्दछु ।

बनेपा घटना सगै मेरो ईमानदारीतालाई लिएर सबै पक्षबाट जुन दबाब सिर्जना गर्नुभयो त्यसको लागि स्वदेश र विदेशमा रहनुभएका सबै साथीहरू र ईष्ट्मित्रहरुलाई आभार प्रकट गर्दछु। बास्तबमा सत्यको जित भई छाडछ्। मलाई जुन ढंगले आरोपित गर्ने प्रयास गरियो त्यो प्रयास असफल भयो।
मेरो गिरफ्तारी संगै विभिन्न पक्षबाट पहल गर्नुहुने अग्रज र साथीहरू लाई पुनः धन्यवाद र आभार प्रकट गर्दछु।

मेरो घटनासँगै लगातार मेरो सत्यताको पक्षमा कलम चलाउने अकला आवाज पत्रिका Akala Aawaj (स्याङ्जा) टिम प्रति बिशेश ऋणी छु।

साथै विभिन्न राजनीतिक दलहरू,नागरिक समाजका अगुवा,बुद्धिजीवी,पत्रकार साथीहरू,सुरक्षा निकायका साथीहरू तथा मेरो पक्षमा सहयोग गर्ने धेरै साथीहरू हुनुहुन्छ सबैलाई पुनः बिशेश धन्यवाद र आभार प्रकट गर्दछु।

पाठकको यो स्टाटस छ घन्टामा तीन सय ५९ जनाले सेयर गरेका छन् भने चार सय ६५ कमेन्ट छन्। दुई हजारभन्दा बढी ‘लाइक’ भएको छ। उनको स्टाटसमा कमेन्ट गर्दै लक्ष्मण न्यौपानेले लेखेका छन् : एक असल मानिसलाई नखाएको विषले पूरा एकदिन पोल्यो, तपाईं माथि भएको लाञ्छना र दुर्व्यवहारले नराम्रो गरी मन अमिलो भयो ।

सामाजिक सन्जाल प्रयोगकर्ताहरु भिड र आरोप लगाउने महिलामाथि पनि खनिएका छन्। कृष्ण शाहीले लेखेका छन् : झुटा आरोप लगाएर निर्दोष मान्छेलाई फसाउने ती महान महिलाको नियत जान्नु थियो।

यसैगरि तिप्ती लम्साल लेख्छिन् : नेपाली भेडाहरु त्यस्तै हो हल्लाको पछाडि कुद्ने। त्यसै दोष लगाउँछन् एक वचन वास्तविकता नसोधी। सर, यो घटनाले आफुलाई कमजोर नबनाउनुस्। तपाई खुसी हुनुस् की प्रमाणित निर्दोष हुनु भयो। यो तपाईलाई अझ शक्ति हो।

अर्का एक प्रयोगकर्ता भने पाठकजस्ता निर्दोषहरु दिनदिनै अपराधी बनाइने गरेकोमा चिन्ता व्यक्त गर्छन्।। शान्ता सापकोटा लेख्छिन् : जित र हारकाे मात्र कुरा हाेइन,,यसरी नै कयाैँ निर्दाेषहरु बिनाअपराध अपराधी बनेका छन् भने अपराधीहरु नकाव पहिरिई खुलेआम हिँडिरहेका छन्, अबास्तविकतालाई वास्तविक बनाउन खाेज्ने जुन महाशय हुनुहुन्छ उहाँलाई सबक सिकाई कसैमाथि निराधार दाषाराेपण गर्नु जघन्य अपराध हाे भन्ने कुराकाे बाेध गराई मान हानीकाे कानुनी उपचार गराउनु जरुरी देखिन्छ।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्