म कसैको पावरमा काम गर्दिनः एसपी वली

नेपालगञ्ज-बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले आफू कसैको दबाबमा परेर काम नगर्ने बताएका छन्। बाँके प्रहरीको कामको प्राथमिकता सार्वजनिक गर्दै एसपी ओलीले सो कुरा बताएका हुन्।

केही दिनअघिमात्रै जिल्ला प्रहरी कार्यालय, बाँकेको प्रमुख भएर आएका एसपी वीरबहादुर वलीले बुधबार अपरान्ह पत्रकार सम्मेलन गर्दै ११ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन्।

विज्ञापन

एसपी वलीका अनुसार जनतालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिलाई सबै प्रकारको भय र त्रासबाट मुक्ति दिलाउने, सेवामुखी, व्यवसायिक, प्रभावकारी, पारदर्शी एवम् उत्तरदायी प्रहरी सेवाको प्रत्याभूति, सेवाग्राहलाई छिटो, सरल र सहज रुपमा प्रहरी सेवा प्रवाह गरिने छ।

एसपी वलीले सामाजिक विकृति तथा विसंगति न्यूनीकरणको लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन तथा निरन्तरता, लैंगिक हिंसा, घरेलु हिंसा, बोक्सी आरोप, जातीय छुवाछुत, बालविवाह, मानव बेचबिखन न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन, लागुऔषध  दुर्व्यसनी तथा ओसारपसार नियन्त्रण, बस्तुनिष्ठ अनुसन्धान,फरार अभियुक्तको खोजतलास र फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखेका छन्।

संगठित अपराध, जुवातास तथा गुण्डागर्दी नियन्त्रण, चोरी निकासी तथा पैठारी नियन्त्रण, मानव अधिकारको संरक्षण तथा प्रवर्द्धन र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रहरीको प्राथमिकतामा परेको छ।

एक प्रश्नमा एसपी वलीले कसैको ‘पावर’ ले मुद्दा अनुसन्धानमा प्रभाव नपार्ने उद्घोष गरे। ‘म कसैको दबाबमा काम गर्दिन, त्यसो भन्दैमा वास्तविकता नबुझ्ने भन्ने होइन’, एसपी वलीले भने, ‘सत्यतथ्य बुझेपछि अभियुक्तलाई कारबाही गर्ने कुरामा कसैको दबाबले मलाई फरक पार्दैन।’

जिल्ला प्रशासन कार्यालयको पछिल्लो तीन वर्षको तथ्यांकमा बहुविवाह, बालविवाह, जबरजस्ती करणी, बाल यौन दुर्व्यवहार बढेको देखिन्छ। मुद्दा दर्ताको अवस्था २०७३/७४ मा ८ सय ५५, ०७४/७५ मा एक हजार २१ र ०७५/७६ मा एक हजार २२ रहेको छ। ०७३/७४ मा १३.१४, ०७४/७४ मा १९.४१ र ०७५/७६ मा ९.१९ प्रतिशतले मुद्दा दर्ता संख्या बढेको छ।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्