प्रतिपक्षसँगकाे भद्र सहमतिबारे सदनलाई जानकारी गराउन सत्तापक्षीय सांसदकाे माग

धनगढी– आगामी आर्थिक वर्षका लागि पेश भएको बजेटमाथि प्रदेश सभामा भइरहेको छलफलमा सत्ता र प्रतिपक्षीय प्रदेश सभा सदस्यहरुले बजेटको विरोध गरेका छन्। बुधबारको छफलमा भाग लिएका अधिकांश प्रदेश सभा सदस्यले बजेटको विरोध गरेका छन्।

बैठकमा बजेटको विरोधसँगै सत्तापक्षीय प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारले असार २० गते प्रतिपक्षी दलहरुसँग गरेको भनिएको भद्र सहमति सदनलाई जानकारी गराउन माग समेत गरेका छन्।

बजेटको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले असार ५ गतेदेखि लगातार सदनमा अवरोध पुर्‍याएका थिए। असार २० गते सरकारसँग सहमति भएको बताउँदै असार २१ देखि सदन सञ्चालन गर्न दिन प्रतिपक्षीहरु तयार भएका थिए।

बुधबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिदै नेपाली कांग्रेसका प्रदेश सभा सदस्य कर्ण बहादुर मल्लले जनताको मन जलाउने बजेट आएका कारण आफुहरुले रातो किताब जलाएको बताए। उनले खानेपानीको मुल नै नभएको स्थानमा ५० लाखको खानेपानी योजना राखिएको भन्दै बजेटको विरोध गरे।

बजेटमा अपारदर्शी रुपमा रकम राखिएको भन्दै प्रदेश सभा सदस्य मल्लले नेपालमा पहिलो पटक घोषित रुपमा जंगबहादुर राणाले वि.सं. १९०६ मा ल्याएको बजेटमा पनि के–केमा खर्च गर्ने भन्ने प्रष्ट खुलाएर बजेट विनियोजन गरिएको र वि.सं. २००८ सालमा आएको बजेटमा पनि योजनाहरु प्रष्ट रहेकोले अहिलेको युगमा पनि प्रदेश सरकार पारदर्शी हुन नसकेको बताए।

सत्तापक्ष नेकपाका प्रदेश सभा सदस्य रतन थापाले मन्त्रीहरुले आफ्नो पैत्रिक सम्पत्ति वितरण गरे जस्तो गरी बजेट बनाएको बताए। उनले सरकारले जे मन लाग्छ त्यही गर्दै जाने हो भने सांसद भएर सहेर बस्नुपर्ने स्थितिमा आफू नरहेको बताए। ‘जनताको सम्पत्ति जथाभावी खर्च गर्न पाइँदैन, सरकारले जे पायो त्यही गर्दा सहेर बस्नुपर्छ भन्ने छैन, लोगो फुकालेर घर जान सकिन्छ’, नेकपा कैलाली जिल्ला कमिटीका अध्यक्ष समेत रहेका थापाले भने, ‘सरकारले गरेका कामलाई मसिनोसँग अध्ययन गरेर गलत कुराहरु पत्ता लगाई कारबाहीका लागि सिफारिस गर्नुपर्ने प्रदेश सभाको सार्वजनिक लेखा समितिले काम गर्न सकेको छैन।’

नेकपाका प्रदेश सभा सदस्य मान बहादुर धामीले सरकारले प्रस्तुत गरेको बजेटको समर्थन गर्दै सत्ता र प्रतिपक्षकाबीच अवरुद्ध सदन खुलाउन भएको भद्र सहमतिबारे सदनलाई जानकारी दिन माग गरे। उनले प्रतिपक्षी दल तर्फ कटाक्ष गर्दै आफू कमजोर परेको बेला हामी ५३ जना एक ठाउँमा हुनुपर्छ भन्ने तर सजिलो पर्नासाथ उफ्रिने प्रवृति रहेको बताए। सदन अवरुद्ध गरेको प्रतिपक्षी दलले आफूले के सहमति गरेर सदन चल्न दिएको हो भन्ने जानकारी दिन पनि उचित नसम्झेकोले कतै लेनदेनमा नै सहमति भएको त होइन भनि प्रदेश सभा सदस्य धामीले प्रश्न गरे।

यस्तै नेकपाका प्रदेश सभा सदस्य लालबहादुर खड्काले सत्तापक्ष र प्रतिपक्ष दुवैका असन्तुष्टि सम्बोधन गर्नुपर्ने बताए। बुधबारको छलफलमा नेकपाका प्रदेश सभा सदस्य देवकी मल्ल, कुलवीर चौधरी, मानबहादुर सुनार र प्रतिपक्षी दल नेपाली कांग्रेसका देवराज पाठक, अम्बीकुमारी थापा र राजपाका कृष्ण बहादुर चौधरीले भाग लिएका थिए। बजेट माथिको छलफल जारी रहेको छ।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू