नेपालगञ्ज उपमहानगरले ल्यायो नगर बस, चालकमा महिला राखिने

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले नगर बस भित्र्याएको छ। महिला चालक राखेर नगर बस चलाउने उपमहानगरपालिकाको योजना रहेको छ।

प्रदेश सरकारले सहयोग गरेको सात करोडमध्ये पाँ करोड खर्च गरेर उपमहानगरपालिकाले सात वटा नगर बस चलाउँदै छ। नेपालगञ्जदेखि खजुरा, कम्दी, गौघाट, बेतहनी, कोहलपुरलगायत ठाउँमा सञ्चालन गरिने नगर बसको चालक महिला हुने उमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए।

विज्ञापन

महिला चालक उत्पादन गर्न उपमहानगरपालिकाले ७१ जनालाई प्रशिक्षण दिएको छ। ‘तालिम पाउने वित्तिकै बस चलाउन त सक्दैनन् होला, शुरुमा उनीहरुलाई खलासी, कन्डक्टर राखेर चालकको सीटमा पुर्‍याउँछौँ’, प्रवक्ता रिजालले भने, ‘कोही चलाउन सक्ने महिला आए शुरुमै स्टेरिङ समात्न पाउँछन्।’

बस सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले कार्यविधि बनाउँदैछ। बसमा क्यामेरा जडान गरिने प्रवक्ता रिजालले जानकारी दिए। ‘दुव्यवहार, चोरी नहोस् भनेर बसमा क्यामेरा जडान गर्दैछौँ’, रिजालले भने।

नेपालगञ्जदेखि कोहलपुर, खजुरा र गौघाटका लागि माइक्रोबस र सनराइज (सानो गाडी) यात्रुका लागि चलिरहेको छ। उपमहानगरपालिकाले ग्रामीण बजारसम्म सहुलियतमा नगर बस चलाउने योजना अघि सारेको हो।

नेपालगञ्जदेखि ग्रामीण बजारसम्म सिधैं बस चलेमा त्यस क्षेत्रका बासिन्दाले धेरै राहत पाउने प्रवक्ता रिजालको भनाई छ। बस साउनपछि नै सञ्चालनमा आउनेछन्।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू