अनि दिइयो नौमती बाजा संरक्षणको जिम्मा सेतेबहादुरलाई…

बेगनास डाँडापारी नौमती बाजा संरक्षण समितिका संयोजक सेतेबहादुर परियारलाई नौमती बाजा हस्तान्तरण गर्दै वडाध्यक्ष सहितका जनप्रतिनिधि लगायत। तस्बिर: ईश्वर देवकोटा/देश सञ्चार

पोखरा– कुनै समय थियो, कास्कीको बेगनास डाँडाबाट मात्रै नौमती बाजा बजाउन एकैसाथ २ टोली तयार हुन्थे। पर्व, मेला, उत्सव, विवाह, व्रतवन्धनमा गाउँ नै थर्किने गरी बाजा बजाइन्थ्यो।

बाउबाजेका पालामा दुई समूह बाजा बजाउने हुँदा अहिले त्यहीँ डाँडा शून्य जस्तै भएको छ। कसैको विवाहमा बाजा बजाउनका निम्ति बेगनास, माझठाना, शिसुवा, मोहरियाबाट सिपालु एक/एक जना जुटेर समूह बनाई उम्काउनु पर्दै आएको छ। बेगनास डाँडामै रहेर बाउबाजेको बिँडो थाम्दै आएका सेतेबहादुर परियार (६५), बुधबार भेट्दा केही प्रशन्न देखिए।

विज्ञापन

नौमती बाजा संरक्षणको जिम्मेवारी उनीसहित उनको समूहलाई दिइएको छ। पोखरा महानगरपालिका वडा नम्बर ३१ ले कार्यालय प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी बेगनास डाँडापारी नौमति बाजा संरक्षण समितिलाई एक सेट नौमती बाजा हस्तान्तरण गर्‍यो।

समितिका संयोजक सेतेबहादुर परियारलाई अब नौमती बाजा संरक्षणका लागि जनशक्ति तयार गर्ने भार आइपरेको छ। उनले नौमती बजाउँदैनन् मात्रै अब सिकाउनुपर्ने छ। नयाँ जनशक्ति बाजा बजाउने तयार गर्न वडाले संरक्षण स्वरुप बजेट नै छुट्टाएको थियो।

‘बेगनास डाँडा नौमती बाजाको लागि चिनिथ्यो’, संयोजक सेतेबहादुरले भने, ‘जेनतेन हाम्ले त धान्दै आएका थियौँ। निम्ता आएका ठाउँबाट निराश बनाएका थिएनौँ। हामीपछि कसले गर्ला भन्ने पिरलो हो।’

लोकसँस्कृतिको प्रतिक नौमती संरक्षणमा वडाले सहयोग गरेको भन्दै खुसी व्यक्त गरे। ‘सबै सेट बाजा नहुँदा एकैपटक सिक्ने सिकाउनेलाई पनि गाह्रै हुन्थ्यो। समितिमा भएका बाजाले सिक्न इच्छुकलाई सिकाउन सजिलो हुन्छ।’

विवाह वा अन्य कार्यक्रम पर्दा सँगसँगै अघिपछि गर्नेलाई मात्र सिक्ने मौका हुन्थ्यो। पढे लेखेका जागिर वा अन्य अवसरमा व्यस्त हुने हुँदा बाजा बजाउने चाख कमैले गर्ने उनको अनुभव छ। उनी भन्छन्, ‘घर छेउमै सबै साधन जुटाएर सिक्ने मौका पाउँदा भाइछोराहरुको पनि चाख बढ्छ की भन्ने आश छ।’

कार्यक्रममा समितिलाई १ लाख ५ हजार रुपैयाँ बराबरका बाजा वडाध्यक्ष कमल थापासहित जनप्रतिनिधिले हस्तान्तरण गरे। अध्यक्ष थापाले संस्कृति जर्गेना गर्ने उद्देश्यले नौमती बाजा प्रवद्र्धन गर्न कार्यक्रम ल्याएको बताए। बेगनास डाँडापारी सहित लामास्वारा तमु समाजलाई पनि तमु साँस्कृतिक वाद्यवादन खरिद गरी दिइएको छ।

तमु समाजका अध्यक्ष नोठबहादुर गुरुङले वडा कार्यालयले वाद्यवादन संरक्षणमा यो वा त्यो नभनि सबै जातजातिलाई उत्तिकै सम्मान गरेको बताए। १ लाख ८० हजारमा आवश्यक वाद्यवादनका साम्रगी दिइएको वडाध्यक्ष थापाले जानकारी दिए। ‘एक समय भारतीय ब्यान्ड बाजाले हाम्रा नेपाली लोकसंस्कृतिका धुन खर्लप्पै खायो की भन्ने चिन्ता पनि थियो’, उनले भने, ‘पछिल्लो केही वर्षयता मगर समुदायले पञ्चे तथा नौमती बाजा बजाउने काम थालेपछि ब्यान्ड बाजाको माग नै हरायो।’

नेपाली परम्परामा मर्दापर्दा जुनसुकै बेला चाहिने बाजा संस्कृतिको संरक्षणमा आगामी वर्षहरुमा समेत कुनै न कुनै कार्यक्रमबाट निरन्तरता दिइने उनले प्रतिवद्धता जनाए। ‘बेगनासमा थुप्रै समूह छन्, जसले लोकसंस्कृतिलाई संरक्षण गरिराखेका छन्। तिनलाई समेत समेटेर आगामी वर्ष कार्यक्रम ल्याउँछौँ।’ कुनै एक समुदाय वा जातिले मात्रै नभई सबै वर्गका मानिसले बाजा सिक्नु पर्ने र व्यावसायिक रुपमै अँगाल्न वडाध्यक्षले आग्रह गरे।

वडाले देउराली मन्दिर व्यवस्थापन समितिलाई ८० हजार रुपैयाँ बराबरको हार्मोनियम, खैजडी, तबला, मुजुरा मादल लगायतका भजनका वाद्यवादन सामग्री दिएको छ। समितिका संयोजक पुरुषोत्तम अधिकारीले भजन संस्कृतिलाई निरन्तरता दिन वडाले चासो देखाएकोप्रति खुसी व्यक्त गरे।

त्यस्तै, वडास्तरीय बजेटबाट वडाका ३० युवालाई हलुका सवारी प्रशिक्षण तालिम सञ्चालन गरिएको थियो। निरव ड्राइभिङ सेन्टरमा १ महिना प्रशिक्षण लिएका ३० जनालाई प्रमाणपत्र वितरण गरियो। २ लाख ४० हजार खर्चिएर वडाले युवाहरुका लागि सीपमूलक तालिम सञ्चालन गरेको वडाध्यक्ष थापाले जानकारी दिए।

असार २५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू